राजनीति भनेको राज्यको नीति, ब्यवस्थालाई ठीक गरी जनताका लागि अन्य देशप्रतिको कूटनैतिक आदी सम्बन्धलाई ठीक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो । देशका कुनै पनि पार्टी जनताका लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम मानिन्छ । जनतालाई राजनीतिक दलले जब वेवास्ता गर्ने गर्दछन, त्यसपछि राजनीति सदाका लागि समाप्त हुन्छ । जनताको संघर्षको प्रतिफल दिन नसकेका राजनीतिक दलको औचित्य हुँदैन । नेपाली जनता टाउको माथि टेकेर धेरै पटक-पटक राजनीतिक दलले राजनीति गरी ब्यक्ति स्थापित हुने परिपाटीले गर्दा देशमा चाहेजति विकास हुन सकेन र राजनीति पनि जनताको लागि नभई ब्यक्तिको लागि मात्र भयो । फलस्वरुप जनताका लागि भनेर गरिएको राजनीतिले जनताले प्राप्त गर्नुपर्ने सवै सेवा सुविधा अहिलेसम्म पनि प्राप्त गर्न सकेनन् । जसको कारण जनताको संघर्ष रित्तो भईरहेको छ । जनता र राजनीतिक दलको सम्बन्धमा सधै सुमधुर सहित प्रगाढ हुंदैं जानुको साटो झन बिग्रदैं गईरहेको छ ।
राजनैतिक दलहरुले सत्तालाई दुहुनो गाई बनाएका कारण नेपाली जनता झन पछाडि पर्दै गईरहेका छन् । सत्तामा पुग्दासाथ निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिवद्धता पुरा गर्नु भन्दा मौका छोप्ने अवसरको रुपमा लिई अकुत सम्पत्ती आर्जन गरी अनैतिक क्रियाकलापमा संलग्न हुने गरेका छन । आफुले गरेको कामहरु कति राम्रा छन ? कति नराम्रा छन ? भन्ने कुरा छुट्टाउन नसक्दा राजनीतिक दल जनतामाझ आलोचित हुनुपरेको छ । सत्तामा आसिन राजनीतिक दलले बन्दुक र शक्तिको आडमा जनताका आवाजहरु बन्द गर्ने सम्मका प्रयासहरु गदैं आईरहेका छन । सरकारी ढुकुटीलाई आफ्नो पुर्खाको सम्पत्ती ठानी राष्ट्र, राष्ट्रियता, स्वाभिमान लत्याउँदै जनता भन्दा पनि जीवनको लागि पार्टीलाई सञ्चालन गदैं आईरहेका छन । राजनीतिलाई अस्वस्थ्य आर्थिक आर्जन गर्ने प्रतिस्पर्धाको रुपमा लिईने गरिएको छ । प्रहरी प्रशासनको भरमा जनता माथि तान्डव मच्चाउने काम समेत गर्दै आएका छन । जनताका लागि राजनीति दल कहिल्यै पनि जिम्मेवार भएनन् । आफु अनुकुलतामा काम गर्दै आए । पारिवारिक झमेलामा अल्झिएरै काँही न काँही भ्रष्टाचारमा लिप्त हुन पुगेका छन । सत्ताको बागडोर सम्हाल्दा आफु र जनता गरी दुई प्रकारको विभेदकारी दृष्टिकोणले हेर्ने गरिएको छ । सबैलाई हेर्ने समान दृष्टिकोण बनाएको भए आज जनता एक आपसमा विभाजित हुनुपर्ने परिस्थिति आउने थिएन । देशको विकास पनि समग्र रुपमा नभई विभाजित रुपमा विकास गर्ने तरिका आत्मसाथ गरियो । जसले गर्दा जनतालाई अनुभव हुने गरी समान विकास हुन सकेन ।
राजनैतिक दलहरुले जनताका लागि राजनीति गर्नुपर्छ, भन्ने मानसिकता बनाउन सकेनन् । राज्यका नेतृत्वकर्ताले आफ्नो दायित्व बहन गर्न सकेनन । जनताका लागि लोकप्रियता भन्दा पनि आफन्तजनका लागि मात्र लोकप्रिय बन्न पुगे । आफन्तवादको नारा र कामले गर्दा जनतालाई भड्काउने राजनीतिको सुरुवात गरे । जनताको झुपडीसम्म पुगेर भन्दा पनि ठूला महलहरुमा बसेर विकासका योजनाहरु बनाउन लागे । महलमा बनाईएका योजनाले जनताका आधारभूत आवश्यकताको पहिचान हुन सकेन । जसले गर्दा राज्य सत्ताप्रति सधै जनताको घृणा उब्जिन पुगको छ । सडकदेखि सदनसम्म विरोधका आवाज उठ्ने गरेका छन । राजनीतिक दल र जनताबीच अविश्वासको वातावरणको खाडल बढ्दै गएकाले जनता र राजनीतिक दल एक आपसका परिपुरक साधन जस्तै हुन सकेनन् । राजनीतिक दलले जनतालाई कहिल्यै पनि पुरा गर्न नसक्ने झुठा आश्वासन मात्र बांडेका कारण जनता र राजनीतिक दलको विश्वासलाई दिन प्रतिदिन धाराशायी बनाउँदै गए । अविश्वासका कारण जनता खुशी, सुखी र सम्पन्न हुन सकेनन् । जनताका लागि राम्रो सोच र प्रभावकारी नीतिलाई राजनीतिक दलले आत्मसाथ गर्नुपर्दछ । सत्ता र शक्तिको भरमा जनतामाथि गरिएको राजनीतिले आफैलाई थप्पड लगाउने गर्दछ । उनीहरुले प्रयोग गर्ने हतियार भरपर्दो निशाना नभई अधुरो र अपुरो युद्ध हुन पुग्ने गरेको छ। राजनीतिक दलले गर्दै आएको ज्यादतीले गर्दा जनताले धेरै दुःख पाईरहेका छन । जनताले इमानदार निष्ठाको राजनीति गर्ने राजनीतिक दल पाएनन् । सत्ताको संयन्त्रले जव जनतामाथि जसरी शक्ति प्रदर्शन गर्न खोजिन्छ, त्यसवेला जनताले त्यो शक्ति प्रदर्शनलाई सहन सक्दैनन् । त्यसैको परिणाम देशमा समय-सयमा सडकबाट गरिएको आन्दोलनले सत्ता ढल्ने गरेको छ । जनताको आक्रोशित आन्दोलनले नीतिले अन्तिम अस्त्र प्रहार गर्ने हुँदा त्यो प्रहारलाई जो कसैले पनि रोक्न सक्दैनन् ।
जनताको जनमतलाई पुरा गर्ने वाचाका साथ जिम्मेवारी वहन गरेका राजनीतिक दलले ब्यक्तिगत फाईदाको लागि गरिएको सत्ता समिकरण धेरै दिन टिक्दैन र दीर्घकालिन फाईदा कसैलाई गर्दैन । जनतामाथि नांगो खेल खेलेर राजनीतिक दलले सन्तुष्टि सहित मजा लिने होईन । सिंगो जनतालाई राजनीतिक दलले आफुसँगै रिझाउन र भिजाउन सक्नुपर्छ । राजनीति भनेको जनताको सर्वोच्च शक्ति हो । राजनीतिक दलले त्यो सम्पूर्ण तागतलाई ग्रहण गरी सबै शक्तिलाई जनताका लागि परिचालन गरिनुपर्दछ । राजनीतिलाई जनतामुखि बनाउनुपर्छ । राजनीतिक दलले जनता माथि भएको अन्याय र अत्याचारको अन्त्य गरी गलत राजनीतिको बाटो छोड्नुपर्दछ । जनताका सल्लाह, सुझाव र गुनासालाई सबै राजनीतिक दलले सहजै स्वीकार गर्न सक्नुपर्छ । राजनीति जनताको न्यायका लागि स्वतन्त्र राजनीतिको आवश्यक हुन्छ । राजनीतिक दलले अवसर आएको समयमा जनतामाझ क्षमता देखाउनुपर्छ, शक्ति देखाउनु हुँदैन । मूल्यको राजनीति भन्दा पनि ब्यक्तिगत सफलताको राजनीतिको विश्वासले गर्दा जनता संधै दुःख पाउने गरेका छन । आदर्श र इतिहासको कुरा मात्र जनताका लागि राजनीति हुन सक्दैन । अब ती सवैको अन्त्य गरी विशुद्ध देश र आम जनताका लागि राजनीतिक दलहरुले राजनीति गर्नुपर्दछ ।
(लेखक शाही नेपाल पत्रकार महासंघ दैलेख शाखाका कोषाध्यक्ष हुन)