काठमाडाैं – अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटेलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी स्याटेलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो ।
जापानमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिकद्धय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको नेपाली स्याटेलाइट वान गएको वैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो ।
स्याटेलाइट ३६ घण्टा ४० मिनेटपछि वैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले जानकारी दिनुभयो । अबको करिब डेढ महिना पछि यो नेपाली स्याटेलाइटले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ ।
नाष्टले यो नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपणका लागि करिब २ करोड लाग्ने अनुमान पनि गरेको छ । नाष्टका प्रवक्ता ढुंगेलले यो रकम अर्थ मन्त्रालयबाट प्राप्त भैसकेको पनि जानकारी दिनुभयो । विपद् व्यवस्थापन, ग्रामिण भेगमा सूचना प्रविधिको विकासकासमेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटेलाइट अन्तरीक्षमा पठाएको हो ।
यसैबीच, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरण गर्दै यही दिन भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रम पनि आयोजना गर्ने भएको छ । नाष्टका प्रवक्ता ढुंगेलले नेपाल भौगर्भिक समाजको सहकार्यमा आयोजना गर्न लागिएको यो कार्यक्रम भूकम्पीय जोखिम न्यूनीकरणका लागि उपयोगी हुने पनि स्पष्ट पार्नुभयो ।