टोकियो – जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आफ्नो कार्यभार सम्हालेको दुई वर्ष वितिसकेको छ । ४ वर्षको कार्यकालका लागि सन् २०१७ को मे महिनामा कार्यभार सम्हाल्न आउनुभएकी राजदूत राणाको करीव आधा कार्यकाल समाप्त भईसकेको र आधा कार्यकाल बाँकी रहेको छ । यस बीचमा नेपाल र जापान बीच केही उच्चस्तरिय भ्रमणको सफल आदान प्रदान हुनुका साथै केही महत्वपूर्ण समझदारीहरु सम्पन्न भएका छन् । समृद्धिको दिशामा अगाडि बढिरहेको नेपालको लागि अत्यन्त महत्वपूर्ण र बिकासमा साझेदारी गर्दै आएको मित्रराष्ट्र जापानका लागि राजदूतको जिम्मेवारीमा रहेर काम गर्दाको दुई वर्षको अनुभव, नेपाल र जापानबीच रहीआएको सुमधुर सम्बन्धमा थपिएका नयाँ आयाम, राजदूतका हैसियतले खेलेको भूमिकाका सम्बन्धमा विगतको समीक्षा र अबको कार्ययोजनाका बारेमा राजदूत राणासंग ‘समुद्रपारि’का लागि गरिएको कुराकानीको सम्पादित अंशः
जापान जस्तो नेपालको लागि अत्यन्त महत्वपूर्ण मुलुकको राजदूत भएर काम गर्दा विगत दुई वर्षको अनुभवलाई कसरी समीक्षा गर्नुहुन्छ ?
जापान जस्तो नेपालको एक असल मित्रराष्ट्रमा राजदूत भएर काम गर्ने अवसर पाउँदा असाध्यै खुशी छु, साथै सन्तुष्ट पनि । सन्तुष्ट यस मानेमा कि सुरुमा सोचेजति काम गर्न सकिन्छ कि सकिदैन होला जस्तो लागेको थियो तर यस अवधिमा मैले आफ्नो ठाउँबाट निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गरेको जस्तो लागेको छ । जापान आफैमा समृद्ध मात्र छैन, सामाजिक, साँस्कृतिक, आर्थिक हरेक दृष्टिकोणले नेपाल र जापानबीच अत्यन्त निकटतम सम्बन्ध रहीआएको छ । जापानले नेपाललाई हेर्ने दृष्टिकोण, नेपाललाई गर्ने माया ज्यादै सौहार्द्रपूर्ण र उच्चकोटीको रहेको पाएकी छु । राजदूत भएर काम गर्दै गर्दा जापानका विभिन्न निकायका उच्च पदाधिकारीहरुसंग हुने भेटघाट, कुराकानीबाट मैले धेरै सुसूचित मौका पनि पाएकी छु ।
यस अवधिमा भएका महत्वपूर्ण उपलब्धिहरु के के हुन् जस्तो लाग्छ ?
यस अवधिमा नेपाल र जापानबीच परराष्ट्रमन्त्री स्तरिय भ्रमण आदानप्रदान भयो । जापानका महामहिम परराष्ट्रमन्त्री तारो कोनोज्यूको निमन्त्रणामा नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीज्यूको गत नोवेम्वरमा भएको जापान भ्रमणका क्रममा दुई देशबीच रहीआएको प्रगाढ सम्बन्धलाई अझ उच्च बनाउने काम भएको छ । उक्त अवसरमा नेपालको खाद्य परियोजनाका लागि जापानले ३ सय ५० मिलियन येन सहयोग गर्ने समझदारी भएको छ । समझदारीपत्रमा नेपाल सरकारको तर्फबाट जापानका लागि नेपाली राजदूतका हैसियतले म स्वयम र जापान सरकारका तर्फबाट नेपालका लागि महामहिम जापानी राजदूत मासामिची साइगोज्यूले हस्ताक्षर गरेका थियौं । यसका साथै माननीय परराष्ट्रमन्त्री ज्ञवालीज्यूको जापान भ्रमणकैक्रममा जापानका सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी (एलडिपी) का महासचिवसमेत रहनुभएका प्रभावशाली नेता एवं नेपाल जापान पार्लियामेन्ट्री लिगका अध्यक्ष महामहिम तोशिहिरो निकाईज्यूलाई नेपाल भ्रमणको निम्तो दिईएको छ । संभवत उहाँको पनि निकट भविष्यमा नेपालको भ्रमण हुने अपेक्षा गरिएको छ । यसैगरी जापानका महामहिम परराष्ट्रमन्त्री तारो कोनोज्यूको गत जनवरीमा भएको नेपाल भ्रमणका अवसरमा नेपाली कामदारका लागि जापानी श्रमबजार खुल्ला गर्ने समझदारी पत्रमा हस्ताक्षर भयो । यस प्रकारका उच्चस्तरिय भ्रमणको आदानप्रदानले नेपाल र जापानबीच रहीआएको सुमधुर सम्बन्धलाई अझ उचाईमा पुर्याएको छ । यसैगरी निकट भविष्यमै नेपाल र जापान दुईदेशका प्रधानमन्त्री स्तरिय भ्रमण आदान-प्रदान हुनेमा आशावादी छौं ।
यहाँको कार्यकालको पहिलो दुई वर्षमा जापानबाट नेपालमा लगानी भित्र्याउन के कस्ता पहलकदमी तथा प्रगतिहरु भए ?
जापानबाट नेपालमा लगानी भित्र्याउने वातावरण बनाउन माननीय परराष्ट्रमन्त्री ज्ञवालीज्यूको जापान भ्रमणकाक्रममा उहाँकै प्रमुख आतिथ्यतामा एउटा उच्चस्तरिय लगानी सेमिनार गर्यौं । जुन सम्मेलनमा जेट्रो, युएन लगायतका प्रतिष्ठित निकाय र करीव २ सय जना जापानीहरुको उत्साहजनक सहभागिता रहेको थियो भने उक्त कार्यक्रमबाट जापानीहरुलाई नेपालमा लगानीका बारेमा स्पष्ट जानकारी गराउनुका साथै नेपाल सरकारको नीति, नियम तथा संभावित क्षेत्रहरुका बारेमा प्रष्ट पार्ने अवसर पायौं । माननीय परराष्ट्रमन्त्रीज्यूका साथै नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीज्यूको समेत सहभागिता रहेको सो कार्यक्रमबाट जापानी मित्रहरु निकै प्रभावित हुनुका साथै उहाँहरुले नेपालमा लगानी गर्न इच्छा ब्यक्त गरिरहेको अवस्था छ । यसबाहेक नेपालमा हालैमा सम्पन्न भएको लगानी सम्मेलनबारे जानकारी गराउन र प्रचारप्रसार गर्न म आफै जापानको विभिन्न प्रिफेक्चरहरुमा पुगेर शियरिङ मिटिङहरु गर्यौं । ती कार्यक्रमहरुमा समृद्ध नेपाल र सुखी नेपाली बनाउने नेपाल सरकारको अभियान बारे सन्देश प्रवाह गर्न सक्यौं, जसका कारण जापानीहरुमा नेपालप्रति अत्यन्त उत्साह बढेको पाएकी छु, यसको छिट्टै सकारात्मक परिणाम आउने नै छ ।
आगामी वर्ष सन् २०२० लाई ‘नेपाल पर्यटन वर्ष’ घोषणा गरिएको छ र १० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी लक्ष अगाडि सारेको छ, यसलाई सफल पार्न जापानस्थित नेपाली दूतावासको के कस्ता योजनाहरु छन् ?
मैले जापानको राजदूतको जिम्मेवारी सम्हाले लगत्तै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपालसंग सम्बन्धित जापानका ट्राभल एजेन्सीहरुको एउटा मिटिङ गरिएको थियो । त्यतिबेला करीव १०० जना जति पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो । उनीहरुले नेपाल जापानबीच सिधा उडान हुन सकेमा समयको बचत हुने हुँदा नेपाल जाने जापानी पर्यटकहरु बढ्न सक्ने धारणा राखेका थिए भने नेपाल सरकारको पनि जापानसंग सिधा हवाईसम्पर्क कायम गर्ने योजना रहेको थियो । सोही योजनालाई हामीले निरन्तर प्रयास जारी राख्यौं, परिणामस्वरुप जापानसंग सो सम्बन्धि समझदारी भईसकेको अवस्था छ । अब आउँदो जुलाई ४ देखि नेपाल वायुसेवा निगमको विमान ओसाका आउने भएको छ भने निकट भविष्यमै नारिता पनि हवाईसम्पर्क कायम हुने प्रक्रियामा छ । भूकम्पपछिको पुनःनिर्माण हुन नसकेको र शान्तिसुरक्षाको अवस्था बारे जापानीहरुमा अलि अलि भ्रम रहेछ, त्यसलाई हामीले बिभिन्न फोरमहरुमा गएर चिरिसकेका छौं । जापानीहरु अहिले नेपाल जान अत्यन्त उत्सुक देखिन्छन् । सिधा हवाईसम्पर्क कायम हुँदासाथ नेपाल जाने जापानीहरुको संख्या निकै बढेर जाने विश्वास लिएकी छु । यसैगरी अन्य मुलुकबाट पनि नेपाल जाने पर्यटकहरुको संख्या बढ्ने हुँदा आगामी वर्षको लक्षित पर्यटक संख्या २० लाख हैन त्यो भन्दा अझ बढि हुने अपेक्षा गर्न सकिन्छ ।
जापानका हालका सम्राटको राजगद्दी हस्तान्तरण समारोह र नयाँ सम्राटको राज्यरोहण समारोहमा जापानले विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेको सन्दर्भमा नेपालको राष्ट्रप्रमुख वा सरकार प्रमुखको जापान भ्रमण हुने संभावना कस्तो छ ?
यो बिषयमा अहिलै ठ्याक्कै भन्न सक्ने अवस्था छैन । निमन्त्रणा गईसकेको छ । आसन्न ऐतिहासिक समारोहहरुको जापानले निकै ठूलो तैयारी गरिरहेको बुझिन्छ । धेरै राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुको सहभागिता हुने यसप्रकारको विशेष अवसरमा नेपालबाट पनि राष्ट्रप्रमुख वा सरकार प्रमुख मध्य एकको सहभागिता हुने छ । विभिन्न अवसरहरुमा जापानको राजदरबारमा हुने समारोहहरुमा मैले पनि सहभागी हुने अवसर पाएकी छु । ती अवसरहरुमा पाउने दर्शनभेटको क्रममा जापानका सम्राटले नेपाल र जापानबीच धेरै समानता रहेको र नेपाललाई औधी माया लाग्ने धारणा ब्यक्त हुने गरेको र युवराजले पनि नेपालप्रति गहिरो अभिरुची प्रकट गरेबाट जापानको राजसंस्थाको नेपालप्रति अगाढ स्नेह रहेको पाएकी छु ।
राजदूतावासको आफ्नै भवन निर्माण गर्ने यहाँको महत्वाकाँक्षी योजना के हुँदै छ ?
दूतावास भवनका सम्बन्धमा म दुखी छु । भवनका लागि सरकारी च्यानलबाट हामीले धेरै ठाउँमा जमिन हेर्ने काम गर्यौं । हेरिएका कतिपय ती ठाउँमा यहाँको मापदण्डअनुसार भवन निर्माण गर्नुपर्ने प्रावधान र कतिपय ठाउँमा आवश्यक जमिन नपाईएको जस्ता कारण नेपाल सरकारको योजनाभित्र रहेको भएता पनि यस बिषयले अझै मूर्तरुप पाउन सकेको छैन । आफ्नै दूतावास भवन नहुँदा कार्यसम्पादनमा निकै गाह्रो भईरहेकोले यो निकै खड्केको बिषय बनेको छ । अरुको चासोको बिषय भन्दा पनि यो समस्याको बिषय भएकोले हाम्रो प्राथमिकतामा रहेको छ, हाम्रोतर्फबाट प्रयास जारी रहने छ ।
अन्य ८ मुलुकसंगै नेपालीहरुका लागि पनि जापानको श्रमबजारमा हालैबाट खुलेको रोजगारीको अवसरलाई कसरी हेरिरहनुभएको छ ?
हामीले धेरै नै प्रयास गरेर नेपाललाई ९ मुलुकभित्र पार्न सफल भएका हौं । सबैलाई थाहा भएकै कुरो हो, पहिलो लटमा नेपाल परेको थिएन । नेपालीका लागि जापानमा रोजगारीको अवसर प्राप्त हुनु राम्रो हो । यो अवसरबाट बेरोजगार नेपाली युवाहरुलाई रोजगारमात्र नभएर आर्थिक हैसियत पनि सुधार्न पाउने हुँदा उनीहरु लाभान्वित हुने देखिन्छ । तर उपलब्ध अवसरलाई उचित तरिकाले समयमै उपयोग गर्न सक्नुपर्दछ । किनभने अन्य ८ मुलुकबाट पनि जापानले कामदार भित्र्याउने योजना रहेकोले सीप, दक्षता, भाषा जस्ता बिषयमा प्रतिस्पर्धा गर्दै निश्चित कोटाभित्र पर्नका लागि पनि नेपालले समयमै पहलकदमी अगाडि बढाउन आवश्यक छ । यी सबै प्रक्रियाहरु पुरा गरेर आउन सकेमा शैक्षिक बेरोजगारी दर उच्च रहेको नेपालका लागि जापान आकर्षक गन्तब्य बन्ने अपेक्षा गर्न सकिन्छ । जापान यस्तो देश हो जहाँ इमान्दारितापूर्वक मिहिनेत गर्नेहरुका लागि अवसरका ढोकाहरु खुल्ला छन् ।
राजदूतावासबाट दिईने सेवा प्रवाहका सम्बन्धमा बेला बेलामा हुने गरेका जनगुनासोलाई संबोधन गर्न के कस्ता प्रयास र प्रगतिहरु भएका छन् ?
जापानमा १० हजार नेपालीहरु हुँदा पनि ३ जना डिप्लोम्याट् र अहिले करीव ९० हजार हुँदा पनि ३ जना डिप्लोम्याट् बाटै कार्यसम्पादन गर्नुपरिरहेको राजदूतावासको अवस्था छ । त्यसो हुँदा कम जनशक्तिबाट ठूलो संख्याका सेवाग्राहीहरुका लागि सेवा प्रवाह गर्नुपर्दा एकातिर दूतावासका कर्मचारीहरु ओभरलोडमा काम गर्नुपरिरहेको र अर्कोतिर जनगुनासाहरु आउने गरेको हो । यद्यपि त्यसलाई हामीले धेरै हदसम्म व्यवस्थापन गरिसकेका छौं । दूतावासबाट गराईनुपर्ने सार्बजनिक महत्वका सूचना संप्रेषणलाई होमपेज, फेसबुकपेज, अनलाईन सर्भिस जस्ता माध्यमबाट चुस्त दुरुस्त पारेका छौं, टेलिफोनका समस्यालाई व्यवस्थापन गरेका छौं । सर्बसाधारणलाई दूतावाससम्म आउनका लागि सहज होस् भनेर उक्त रुटमा चल्ने सार्बजनिक यातायातमा दूतावासको लोकेशनका बारेमा जानकारी गराउने ब्यवस्था गरेका छौं । जापानमा नेपाल चिनाउने प्रयोजनका लागि हुँदै आएको नेपाल फेष्टिवलमा दूतावासले सहकार्य र सक्रियता बढाएको छ भने जापानमा रहेका नेपाली समुदायसंग मिलेर विभिन्न कार्यक्रमहरु गरी नेपालीहरुलाई सहयोग पुर्याउने दिशामा पनि हाम्रो ध्यान केन्द्रित छ । यसैगरी जापानमा रहेको नेपालीहरुको एक मात्र एभरेष्ट इन्टरनेशनल स्कुललाई सक्दो प्रवर्धन गर्न नेपाल सरकारको तर्फबाट निर्बाह गर्नुपर्ने भूमिका दूतावासबाट गर्दै आएका छौं । यसबाहेक दूतावासलाई थप प्रभावकारी बनाउन र नेपालको दिगो बिकासका लागि जापानबाट खेल्न सकिने भूमिकाका बिषयमा वौद्धिक छलफल गर्न विभिन्न क्षेत्रका स्थापित प्रबुद्ध नेपालीहरु सम्मिलित ‘नेपाल डायलग सिरिज’ बनाएका छौं । दूतावासले अगुवाई गरेको यस समुहमा भएका छलफल तथा विचार-विमर्शको निचोड सुझावका लागि नेपाल सरकारलाई पठाउने योजना रहेको छ ।
अब यहाँको बाँकी कार्यकालका योजनाहरु के छन् ?
आर्थिक समृद्धि हासिल गर्ने नेपाल सरकारको अभियानलाई जापानबाट सक्दो टेवा पुर्याउन मेरो पहिलो प्रयास रहने छ । देशमा अहिले शान्ति र स्थायी सरकार भएको अनुकुल अवस्था छ । नेपाल प्रशस्त संभावना भएको मुलुक हो । प्राकृतिक स्रोत-सम्पदा, पर्यटन, धार्मिक पर्यटन, जडिबुटी, पर्वतारोहण जस्ता अथाह संभावना भएका क्षेत्रमा लगानी भित्र्याउन सके देशमा आर्थिक बिकास हुन सक्दछ । अब अनुदान र सहयोगले मात्रै देशको बिकास हुन सक्दैन । जापानबाट नेपालमा लगानी भित्र्याउनका लागि संभावित पहलकदमीहरु हुने छन्, यसमा नेपाल सरकारको पनि आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेकी छु ।
राजदूत भएर काम गर्दै गर्दा जापानबासी नेपालीहरुको अवस्था कस्तो देख्नुहुन्छ ?
नेपालीहरुको अवस्था समग्रमा राम्रो छ । व्यवसायतर्फ आकर्षित नेपालीहरुको संख्या बढ्दो छ । एकेडेमिक क्षेत्रमा पनि नेपालीहरुले राम्रै प्रगति गरेको देखिन्छ । रोजगारीमा संलग्न नेपालीहरुको संख्या ठूलो छ । जापानमा हाल करीव ९० हजार नेपालीहरु रहेको भए पनि यसको आधिकारिक तथ्याङ्क हामीसंग नहुँदा कतिपय अवस्थामा काम गर्न समस्या परिरहेको छ । यसलाई ब्यवस्थित गर्न हामीले अनलाईनमार्फत आ-आफ्नो विवरण पठाउन जापानबासी नेपालीहरुलाई धेरै अगाडिदेखि आह्वान गर्दै आईरहेका छौं । तर नेपालीहरुबाट अपेक्षित विवरण प्राप्त हुन नसक्दा कति नेपाली कुन कुन क्षेत्रमा, कसरी रहे-बसेका छन् र कुन अवस्थामा छन् भन्ने यकिन छैन । यसो हुँदा कुनै पनि बेला आईपर्न सक्ने संभावित आकस्मिक विपत्तिहरुमा नेपालीहरुका लागि दूतावासले चाल्नुपर्ने कदम चाल्न असजिलो छ । त्यसकारण जापानबासी नेपालीहरुले आ-आफ्नो व्यक्तिगत तथा पारिवारिक विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन अपिल गर्दछु ।
अन्त्यमा, जापानबासी नेपालीहरुको अभिभावकका हैसियतले के भन्न चाहानुहुन्छ ?
सर्बप्रथम, नेपाली नयाँ वर्ष २०७६ को उपलक्षमा समस्त जापानबासी नेपालीहरुमा नेपाली राजदूतावास तथा मेरो ब्यक्तिगत तर्फबाट सुख, समृद्धि र उत्तरोत्तर प्रगतिका साथै जापान बसाई सार्थक र उपलब्धिमुलक बन्न सकोस् भन्ने शुभकामना दिन चाहान्छु । पछिल्ला समयमा जापानका नेपालीहरुका बारेमा नकारात्मक समाचारहरु आउने गरेका छन् । समुह नै गठन गरी अवाञ्छित क्रियाकलापमा संलग्न हुने गरेको समाचारहरु पनि बाहिर आए । यसले समग्र नेपालको छवि धुमिल बनाईरहेको छ । अर्कोतिर नेपालीहरुमा नकारात्मक सन्देश फैलाउने गलत सँस्कार अलि बढि देखिन्छ । कतिपय बिषय हामी नेपालीहरुको बीचमा मात्रै सीमित गर्दा उचित हुन्छ भने त्यसलाई ब्यापक बनाउन आवश्यक छैन । यसले सिंगो नेपालीलाई फाईदा गर्दैन । नेपालीहरुद्वारा संप्रेषित सन्देश अहिले जापानीहरुले पनि सुक्ष्मरुपले अध्ययन गर्न थालेका छन् । जापानजस्तो मुलुकमा बस्दै गर्दा हामी नेपालीमा अनुशासित र मर्यादित भएर सकारात्मकरुपमा सोच्ने सँस्कारको बिकास हुन जरुरी देखिन्छ । मादकपदार्थ पिएर दूतावास आउने अनि झगडा गर्न खोज्ने जस्ता घटनाहरु पनि यदाकदा हुने गरेका छन् यस्ता प्रवृत्तिले देशको शिर उचो बनाउँदैन । नेपालको शिर निहुराउने काम कोही नेपालीबाट नहोस् भन्ने चाहान्छु । समयको उचित ब्यवस्थापन र आधारभुत अनुशासन मात्र जापानबाट सिक्न सके नेपालीहरुका आधा समस्या आफै हल हुने देखिन्छ । यसतर्फ सबैको ध्यान जानु आवश्यक छ । अन्तमा, आफ्ना भनाई राख्ने अवसर दिनुभएकोमा लामो समयदेखि जापानबाट संचालित ‘समुद्रपारि डट कम’ परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।***