नेपाल कृषिप्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमा आत्मनिर्भर हुनुपर्ने र समय र परिस्थिति अनुकुल कृषि प्रणालीलाई सुधार गरेर लानुपर्ने हो । तर त्यसतर्फ राज्य कहिल्यै इमान्दार भएन र परम्परागत कृषि प्रणालीले जिविकोपार्जन गर्न हम्मे हम्मे मात्र पारेन कतिपय अवस्थामा त जनता भोक भोकै बस्न समेत बाध्य भए । कृषि सँधै परम्परागत रह्यो । अंशु बर्माको पालामा प्रयोगमा ल्याएको हलो अहिले पनि त्यही चलन चल्तीमा छ । कृषि पेशाले कहिल्यै पनि कृषकलाई आत्मनिर्भर बनाउन सकेन । त्यसैले यो पेशा रोजाईमा नपरेर सँधै बाध्यतामा गर्ने पेशाको रुपमा ग्रहण गरियो । यसले जनता सँधै गरिबीको रेखामुनि रहन बाध्य भए ।
जहाँनिया शासनकालको अन्त्य पश्चात देशमा शिक्षाको दीप प्रज्वलित त भयो र देशका नौजवानहरु शिक्षातर्फ आकर्षण त बढ्यो तर हाम्रो शिक्षा नीति कस्तो बनाउने र उक्त शिक्षाले हाम्रो देशमा कस्ता खाले नागरिक निर्माण गर्ने भन्ने बिषयमा राज्य अन्धाधुन्ध थियो । अझै अगाडि बढेर भन्ने हो भने देशमा शिक्षाको पाठ्यक्रम पुरै आयतित थियो, यहाँसम्म कि हाम्रो पाठ्यक्रम कोही भारतीय शिक्षाविदले बनाउँथे त कोही बेलायती शिक्षाविदले बनाउँथे ।
ज-जसले बनाए पनि बनाउनेवला नेपालको हावापानी र बस्तुगत परिस्थितिसंग मठ्ठै थिए । त्यस्ताले बनाएको पाठ्यक्रमबाट जन्मने बिद्यार्थी भनेको थुप्रै अन्धाहरुलाई जम्मा गरेर ल हात्तीलाई छामेर भन हात्ती कस्तो छ भन्दा खुट्टा छाम्नेले हात्ती भनेको पिपलको बोट जस्तो हुने तर्क गर्यो, पेट छाम्नेले तर्क गर्यो, हात्ती त पहरो जस्तो हुँदोरहेछ । सुँड र पुच्चर छाम्नेले पनि आफ्नो अनुकुल ब्याख्या गरे तर सबै सत्य भन्दा टाढा थिए । त्यस्तै हाम्रो शिक्षा प्रणालीले पनि यि र यस्तै जनशक्ति उत्पादन गर्यो । पाठ्यक्रमले व्यवसायिक र व्यवहारिक शिक्षा दिन सकेन । जसले गर्दा शैक्षिक संस्थाहरु बेरोजगार युवाहरु उत्पादन गर्ने कारखानाको रुपमा परिणत हुँदै गए ।
बस्तुगत परिस्थितिलाई हेर्ने हो भने परापूर्वकालदेखि हाम्रा पुर्खाहरु भारतका बिभिन्न सहरमा पसेका र त्यस मध्य पनि वर्तमान पाकिस्तानको लाहोर भन्ने सहरमा हाम्रा पुर्खाहरु सबैभन्दा पहिले त्यहाँ पुगेको र त्यहाँबाट फर्कनेलाई लाहुरे भन्ने चलन रहन गएको भन्ने भनाई छ ।
समाजले त्यस्ता लाहुरेहरुलाई महत्व दिन गएको र सुगौली सन्धी पश्चात त इष्ट इण्डिया कम्पनीको नजरमा नेपाली जवानहरुलाई सैनिकमा भर्ती गर्न थालियो । स्वतन्त्रता भारत आन्दोलन पश्चात अंग्रेजहरु भारत छोड्न बाध्य भए र भारत छोड्दै गर्दा अंग्रेजहरुले ३ वटा गोर्खा पल्टन साथमा लिएर फर्क्यो र त्यसपछि बेलायत नै यस्तो देश बन्यो जसले नेपालसंग औपचारिक रुपमा पहिलो दूतावास खोलेर मैत्री सम्बन्ध बनाउँदै आएको छ । हिजोसम्म नेपालीको रोजगारस्थल भारतका बिभिन्न सहरहरु थिए भने अब उप्रान्त जहाँ जहाँ ब्रिटिसको कोलोनी छ नेपाली युवाहरु ब्रिटिस सेनाको रुपमा तत्-तत् देशमा पुग्न थाले ।
देशमा २०४६ सालको राजनैतिक परिवर्तन आएपछि बैदेशिक रोजगार नीति खुकुलो बन्दै गयो । हिजोसम्म सेना, पुलिस लगायत अन्य निम्नस्तरको रोजगार गर्ने नेपाली युवा अहिले रोजगार र अध्ययन अनुसन्धानको लागि पनि तेस्रो मुलुकको यात्रा तय गर्न लागे । आज देशबाट लाखौंको संख्यामा दक्ष जनशक्ती बिदेश पलायन भईरहेका छन् ।
देशको आर्थिक मेरुदण्ड भनेको अहिले बैदेशिक रेमिट्यान्स हो । देशका हरेक कलकारखाना टाट् पल्टिदा पनि देश टाट् पल्टिएको छैन । त्यसको मुल कारण रेमिट्यान्स नै हो । अहिले नेपाली युवाहरु बिभिन्न पेशामा बिदेशमा छन् जसले बिदेशबाट आर्थिकोपार्जन मात्र गरेका छैनन् त्यहाँबाट अनेक ज्ञान सीप पनि आर्जन गरिरहेका छन् । त्यो पूँजी, ज्ञान र सीपलाई नेपाल निर्माणमा लगानी गर्न सके देशले समृद्धि हासिल गर्न सक्छ ।
अहिले कुल जनसंख्याको एक चौथाई भन्दा बढी दक्ष जनशक्ति तेस्रो मुलुकमा छ । देशमा रहेको जनसंख्याको कुल संख्याको एक चौथाई भन्दा बढि या त बृद्धाहरु छन् या त बालकहरु छन् । राष्ट्र निर्माणका लागि चाहिने दक्ष जनशक्ति बिदेश पलायन हुनु भनेको राष्ट्रका लागि ठूलो क्षती हुनु हो ।
बैदेशिक रोजगारले गर्दा कतिपय सिंगो गाउँ नै खाली भएको छ । परिवारका केही सदस्यहरु बिदेशमा छन् तिनबाट आश्रित सदस्यहरु सहर च्याप्ने प्रवृतिको बिकास भएको छ ।
पृथ्वीनारायण शाहले हामीलाई दिएको दिब्योपदेशको उल्टो समथर भूभाग जहाँ कृषिको लागि अत्यन्त उपयुक्त थियो त्यस्तो ठाउँमा अनाधिकृत भवन बनाउँदै गयौ । जसले गर्दा हाम्रा सुन्दर फाँटहरु कुरुप बन्दै गए भने पाखा पखेराका जमिनहरु बाँझिदै गए ।
बैदेशिक रोजगारबाट केही रकम पठाए पनि परिवारका अन्य सदस्यहरु चरम सुबिधाभोगी बने । आफ्नो जिविकेापार्जनका लागि सामान्य शारीरिक श्रम पनि गर्न छाडे । अहिले पनि हामीले आफुलाई कृषिप्रधान देशका नागरिक भन्छौ, विडम्बना गत सालको तथ्याङ्क हेर्ने हो भने आलु, प्याज र टमाटर जस्ता तरकारीमा मात्र एक सालमा करिब १२, १३ अरब हामी खर्चिन्छौ र यो पैसा भारतीय बजारमा पुग्छ ।
अर्कोतर्फ अध्ययन गर्नुपर्छ भन्ने भावनामा भारी मात्रामा गिरावट भयो । हरेक युवायुवतीको लक्ष्य भनेको जसरी तसरी १२ क्लास पास गर्ने र बिदेश जाने बन्यो भने पढेर केही गरौं भन्ने त छँदै छैनन् । साथीहरु लहलहैमा लागेर थुप्रै ब्राइट छात्र र छात्रा पनि बिदेशमा आएर सामान्य काम गरेको देख्दा निक्कै पिडा दिन्छ ।
समधानका उपाय
छिमेकी मुलुक भारत र चीनका नागरिक पनि करीव ५० बर्ष पहिला हामी जस्तै बैदेशिक रोजगारमा निस्केका थिए । आज बिशाल चीन र भारतको आर्थिक प्रगतिमा त्यहाँबाट प्रबासिएका नागरिकहरुको महत्वपूर्ण भूमिका छ । जसरी हाम्रा छिमेकी मुलुकले आफ्ना नागरिक जो प्रवासमा थिए त्यहाँबाट फर्काउन र लगानीमैत्री वातावरण बनाउँदै प्रोत्साहन गरे, यसबाट हाम्रो देशले पनि सकारात्मक शिक्षा लिन आवश्यक छ । अर्कोतिर हामी बैदेशिक रोजगारमा रहेका तमाम दाजुभाइहरुले पनि हामीले आर्जेको पूँजी कसरी सदुपयोग गर्ने भन्ने दूरगामी सोच बनाउन आवश्यक छ । जसरी लाहुरे भने पछि अलि हेयको दृष्टिले हेरिन्छ जसको लागि हामी आफै जिम्मेवारी पनि छौं । अब उप्रान्त अनावश्यक तडकभडकमा पैसा त खर्चिनु हुँदै हुन्न र अनुत्पादक क्षेत्रमा भन्दा हाम्रो लगानीको रोजाई भनेको राज्यले अगाडि सारेका राष्ट्रिय गौरवका आयोजना गर्न सके हामी कहि कतै राष्ट्र निर्माणका अभियानको हिस्सेदार बन्ने अवसर मिल्ने थियो । नागरिक स्तरबाट पनि हामी कृषि, हाइड्रो, पर्यटन लगायतका क्षेत्रमा लगानी गरौं । राष्ट्र निर्माणको यस अभियानमा हिस्सेदार बनौं ।
(लेखक थापा गल्कोट समाज जापानका पूर्व अध्यक्ष हुन्)