टोकियो – जलस्रोतमा विश्वमै दोस्रो ठूलो धनी देश मानिने नेपालमा ६ हजार नदिनाला रहेको र त्यसबाट ८४ हजार मेगावाट विजुली निकाल्न सकिने विज्ञहरुले बताउँदै आएका छन् । यद्यपि नेपालमा अहिलेसम्म १ हजार मेगावाट मात्र विजुली उत्पादन हुन सकेको बताउनुहुन्छ, वरिष्ठ जलविद्युत विज्ञ आत्माकृष्ण श्रेष्ठ । सन् १९६१ मै भारतको रुड् कि युनिभर्सिटीबाट जलस्रोत इञ्जिनियरिङमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठ मर्स्याङ्दी जलविद्युत परियोजना, साना जलविद्युत विभाग, जलस्रोत मन्त्रालय, पूर्वाञ्चल विद्युत कर्पोरेशन लगायतका थुप्रै निकायका महत्वपूर्ण जिम्मेवारीमा रहेर साढे ३० वर्ष सरकारी सेवामा रहनुभएका निवृत्त सहसचिव हुनुहुन्छ । निजी भ्रमणकाक्रममा हालै जापान आएर स्वदेश फर्कनुभएका उहाँ अहिले विभिन्न क्षेत्रका १९ जना विज्ञहरु सम्मिलित नेपाल इञ्जिनियरिङ सर्भिस एण्ड इन्भेष्टमेन्ट प्रमोशन कन्सल्ट्यान्ट कम्पनीको अध्यक्ष हुनुहुन्छ । जलस्रोतको धनी देश नेपालले लामो समयसम्म लोडसेडिङको मारमा परेर अन्धकारमा गुजार्नुपरेको कारण र उपलब्ध स्रोतको उपयोग गर्न नसक्नुको नालीबेली सहित जलस्रोतको क्षेत्रमा नेपालले लिन सक्ने लाभ र त्यसका संभावनाका बिषयमा केन्द्रीत रहेर उहाँसंग समुद्रपारिले गरेको कुराकानीको सम्पादित अंशः
तपाई अध्यक्ष भएको विज्ञहरु सम्मिलित कन्सल्ट्यान्ट कस्तो कम्पनी हो ?
हाइड्रो, कृषि, सिंचाई, खानेपानी, हाइवे, पुल, ठूलाठूला भवन लगायतका मल्टिप्रपोजका प्रोजेक्टहरु सम्पन्न गर्न प्याकेजमा वा आंशिक सेवा दिने उद्देश्यले विभिन्न क्षेत्रका दक्ष र अनुभवी टेक्नोक्र्याटहरु मिलेर यस कम्पनी खडा गरिएको हो । यसले ठूला ठूला प्रोजेक्टहरुका बारेमा परामर्श दिने, सर्वेक्षण गर्ने, डिजाइन गर्ने, स्थलगत अध्ययन तथा अनुगमन गर्ने, लागत तयार गर्ने, कन्ट्रक्शन गर्ने लगायतका आंशिक वा प्याकेजमा प्रोजेक्ट सम्पन्न गर्ने काम गर्दै आईरहेको छ । छरपष्ट भएका विज्ञतालाई एकत्रित गरी कम्पनीमार्फत संस्थागत सेवा प्रवाह गर्ने हाम्रो कम्पनीको मुलभुत उद्देश्य हो । नेपालमा जति पनि मेघा प्रोजक्टहरु भईरहेका छन् ति मध्य धेरैजसोमा सबै विदेशी कम्पनीहरुले काम गर्दै आईरहेका छन् । ति विदेशी कम्पनीहरुको मात्रै भर पर्न नपर्ने गरी हाम्रो कम्पनी आएको छ । भविष्यमा हामी विदेशका ठूला कम्पनीहरुसंग पनि मिलेर ज्वइन्ट भेञ्चरमा काम गर्ने योजना छ ।
जलस्रोतको अथाह संभावना भएको नेपालले लामो समयसम्म अन्धकारमा गुजार्नुपर्नाको कारण के होला ?
पहिलो कुरो त राज्य सञ्चालनका जिम्मेवार तहमा बस्नेहरुको राजनैतिक इच्छाशक्ति नहुँदा विद्युत उत्पादन पहिलो प्राथमिकतामा पर्न सकेन । दोस्रो राजनैतिक अस्थिरताका कारण उपलब्ध स्रोत, साधन र विज्ञताको समुचित उपयोगमा मुलुक पछाडि पर्यो । ठूला ठूला मेघा प्रोजेक्टमा आफै मात्र लगानी गर्न नसक्ने र राजनैतिक अस्थिरताले गर्दा विदेशी लगानी पनि आउन नसक्दा नेपालमा जति हुनुपर्ने हो त्यति बिजुली उत्पादन हुन सकेन र मुलुक अन्धकारमै बस्नुपर्यो ।
लामो समय नेपालको जलविद्युत विज्ञकारुपमा काम गर्दा सम्झनलायक उपलब्धि र अनुभवहरु के के हुन् ?
६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत परियोजना म आफै परियोजना प्रमुख हुँदा सम्पन्न भएको प्रोजेक्ट थियो । उक्त परियोजनाको २०४६ सालमा राजा वीरेन्द्रबाट उदघाटन भई विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको थियो । पूर्वाञ्चल विद्युत कर्पोरेशनको महानिर्देशक हुँदा १५ वटा जिल्लामा २५ देखि ५ सय किलोवाट सम्मको साना जलविद्युत योजना लगायत अन्य साना ठूला प्रोजेक्ट सम्पन्न गर्ने अवसर पाएको थिए ।
नेपालको हाइड्रोमा लगानी गर्न प्रवासी नेपालीहरु आकर्षित देखिन्छन्, प्रतिफलका हिसाबले के कस्तो संभावना देख्नुहुन्छ ?
भूबनोट र उपलब्ध जलभण्डारका हिसाबले नेपालमा प्रशस्त विजुली उत्पादन गर्न सकिने अथाह संभावना रहेको अध्ययनले पनि देखाएको छ । हालसम्मको अध्ययनअनुसार नेपालमा १ मेगावाट बिजुली उत्पादन गर्न २० देखि २५ करोड रुपैंया लागत पर्छ । कुनै पनि नयाँ प्रोजेक्ट सुरु गर्दा छिटोमा पनि करीव १ वर्ष सर्वेक्षण गर्न र अर्को १ वर्ष लगानी जुटाउन र कम्तीमा पनि ४ वर्ष कन्ट्रक्शनमा लाग्ने गरेको देखिन्छ । यसरी हेर्दा बिना अवरोध प्रोजेक्ट अगाडि बढ्यो भने विद्युत उत्पादन सुरु हुन मात्र कम्तीमा पनि ६ वर्ष लाग्दछ । लगानी गर्ने प्रमुख डोनर एजेन्सीको ब्याजदरले पनि प्रोजेक्टमा धेरै प्रभाव पार्ने हुँदा उनीहरुको ऋण चुक्ता गरेपछि मात्र साना लगानीकर्ता अर्थात पब्लिकले प्रतिफल पाउन सुरु हुन्छ । त्यसमाथि साना लगानीकर्ताले कुन फेजमा लगानी गरेका हुन् त्यसमा पनि भर पर्दछ । नेपालको कानुनतः कन्ट्रक्शन सुरु भएपछि मात्र पब्लिकबाट लगानी उठाउन मिल्ने प्रावधान छ । त्यसो हुँदा सर्बसाधारण लगानीकर्ताले प्रतिफल पाउन कम्तीमा पनि १०, ११ वर्ष कुर्नुपर्ने हुन्छ । जहाँसम्म प्रवासी नेपालीहरुको थोपा थोपा कमाई संकलन गरेर सामुहिक लगानी गर्ने कुरो छ, यसमा सबैभन्दा पहिलो त हरेक हिसाबले राम्रो प्रोजेक्ट छान्न सक्नुपर्दछ । प्रोजेक्ट कस्तो हो भन्ने थाहा पाउन विज्ञहरुको सल्लाह पनि लिन सकिन्छ ।
बिजुली उत्पादन गर्न नेपाल आफै कति सक्षम छ ?
८४ हजार मेगावाट बिजुली निकाल्न सकिने क्षमता भएको नेपालमा जलसम्पदा भए पनि त्यसको उपयोग हुन सकिरहेको छैन । सन् १९११ मा चन्द्रशमशेरले आफ्नो दरबारिया प्रयोजनका लागि फर्पिङबाट ५ सय किलोवाटको बिजुली निकालेर सुरु भएको करीव सय वर्ष पुरानो नेपालको विद्युत उत्पादनको इतिहास छ । यति लामो अवधिमा नेपालले ऊर्जाको क्षेत्रमा खासै प्रगति गर्न सकेको छैन । विजुली उत्पादन गर्न संगै सुरु गरेको दक्षिण कोरियाले एक लाख मेगावाट पुर्याईसक्दा नेपाल हजार मेगावाट भन्दा माथि जान सकेको छैन । आन्तरिक र बाह्य लगानीको उचित ब्यवस्थापन गरेर राज्यले विद्युत उत्पादनमा जोड दिनुपर्दछ । देशभित्रै उपलब्ध यस क्षेत्रका विज्ञहरुको विज्ञताको भरपुर उपयोग गर्दै संभावित परियोजनाहरुको अध्ययन र अनुसन्धान गर्दै जानुपर्दछ । समयानुकुल नीति, नियमको तर्जुमा गरी संभवभएसम्म लगानी भित्र्याउने र नभए आन्तरिक स्रोतको परिचालन गरेर भए पनि नेपालले आफुलाई पुग्ने मात्र नभएर पर्याप्त मात्रामा आय आर्जन गर्न सक्ने विजुली उत्पादन गर्न सक्दछ । त्यसका लागि आन्तरिक वातावरण अनुकुल हुनुपर्छ र जिम्मेवारी तहका ब्यक्तिहरुले इच्छाशक्ति देखाउनु पर्दछ ।
विज्ञताको कुरो गर्नुभयो, नेपालमा भएका विज्ञहरुलाई राज्यले उपयोग गर्न नसकेकै हो त ?
नेपालमा विभिन्न क्षेत्रका एक से एक विज्ञहरु नभएका हैनन्, निश्चीत कार्यावधि सकिएपछि उनीहरु साइड लाग्ने गरेको देखिन्छ । तिनीहरुमा भएको लामो अनुभव र विज्ञतालाई सम्बन्धित क्षेत्रमा उपयोग गर्ने सन्दर्भमा राज्यको त्यति ध्यान गएको पाईदैन । विडम्वनाको कुरो नेपालका विज्ञहरुको विज्ञता खेर गईरहेको स्थिति छ । विदेशी कम्पनीलाई दिईने ठूला प्रोजेक्टमा नेपाली टेक्नोक्र्याटहरु सहयोगी भएर काम गरिरहेको पाईन्छ । अवसर पाए नेपाली विज्ञहरु पनि सक्षम छन् भन्ने देखाउनलाई पनि हामीले विज्ञहरुको समुह रहेको कन्सल्ट्यान्ट कम्पनी बनाएका हौं । यसले सरकारी वा गैरसरकारी क्षेत्रका साना ठूला प्रोजेक्टहरुमा परामर्श देखि इञ्जिनियरिङ सेवा उपलब्ध गराउँदछ ।
जलविद्युत विज्ञका हैसियतले नेपाल लोडसेडिङ् मुक्त हुन अझै कति वर्ष लाग्ला ?
विद्युतको माग उच्च हुने ड्राइ सिजनमा उत्पादन कम र उत्पादन बढि हुने सिजनमा माग कम हुने नेपालको स्थितिलाई सन्तुलनमा ल्याउन भारतसंग प्रस्ताव गरिएको इनर्जी बैंकिङको कन्सेप्ट पोजिटीभ रुपमा अगाडि बढेको सुन्नमा आएको छ । अर्कोतिर निर्माणाधिन अवस्थामा रहेका अपर तामाकोशी लगायतका परियोजनाहरु छिट्टै सम्पन्न हुने चरणमा छन् । त्यसोहुँदा अबको ५ वर्ष भित्रमा नेपालमा लोडसेडिङको समस्या हल हुने आंकलन गर्न सकिन्छ ।
समृद्धिको यात्रामा रहेको भनिएको नेपालको पछिल्लो समग्र अवस्थालाई एउटा टेक्नोक्र्याटको आँखाबाट कस्तो देख्नुहुन्छ ?
पुरै निराशावादी नै त छैन तै पनि बाहिरबाट हेर्दा राज्य सञ्चालनको ट्रेण्ड पोजिटीभ ट्रयाकमा देखिदैंन । औसत सामान्य जनता सन्तुष्ट छैनन् । यो असन्तुष्टिको मात्रा झन झन बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ त भनियो तर यसले सहि दिशा समाउन सकेको जस्तो लाग्दैन । सरकारले स्थायित्वको प्रत्याभूति दिन सकेको छैन । जनताको जीवनशैलीमा देखिने गरी कुनै परिवर्तन आएको पाईँदैन । समग्रमा संकेत राम्रो देखिएको जस्तो लाग्दैन ।
अन्त्यमा, के भन्न चाहानुहुन्छ ?
सर्वप्रथम आफ्ना केही भनाई राख्ने अवसर दिनुभएकोमा समुद्रपारि परिवारप्रति आभारी छु । जापान जस्तो ब्यस्त मुलुकमा रहेर पनि लामो समयदेखि नेपालीहरुलाई सुसूचित बनाउने कार्यको सह्राना गर्न चाहान्छु । विदेशमै रहेर पनि सूचनाको सेवामार्फत प्रत्यक्ष अप्रत्यक्षरुपमा आफ्नो मुलुकप्रति महत्वपूर्ण योगदान पुगेको महशुस गरेको छु । विदेशमै रहेर पनि आ-आफ्नो ठाउँबाट देशका लागि सकेको योगदान सबैले गर्नुहोला । नेपालमा हुन गईरहेको लगानी सम्मेलनलाई सार्थक र सफल बनाउन जापानबासी नेपालीले महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्दछन् । त्यतातिर पनि बेलैमा ध्यान दिन आवश्यक देखिन्छ । ***
(इ. श्रेष्ठ जापानमा लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका राजिव श्रेष्ठको बुवा हुनुहुन्छ )