जापानमा सन् २०११ मार्च ११ मा आएको विनाशकारी भूकम्प र सुनामी भोगेका नेपालीहरुको ठूलै जमात अझै जापानमा हुनुपर्छ । उक्त नरसंहारकारी घटनाको आठौं वर्ष पुग्दैगर्दा जापानको नेपाली समुदायमा थुप्रै परिवर्तनहरु आए, सयौं कार्यक्रमहरु आयोजना गरिए, ति मध्यमा अधिकाँश कार्यक्रम मनोरञ्जनप्रधान भए भन्दा बढ्ता नहोला । भूकम्पको उच्च जोखिमयुक्त मुलुकका नागरिक हामी र जोखिमयुक्त मुलुकमै बसिरहँदा उक्त घटनाबाट पाठ सिक्दै जोखिम कम गर्ने पूर्व तयारी सम्बन्धि जानकारीमुलक कार्यक्रमहरु भने अपेक्षित हुन सकेनन् । २०१५ को अप्रिलमा गएको भूकम्पबाट थिलोथिलो परेको नेपाल अझै पूर्णरुपमा तंग्रिन सकेको छैन । तीन वर्ष पुरा हुँदा पनि पुनर्निर्माणका अधिकाँश कामहरु बाँकी छन् । विश्व सम्पदाको सूचीमा रहेका पर्यटकीय दृष्टिकोणले उच्च महत्व राख्ने कतिपय परियोजना राज्यको प्राथमिकताबाट ओझेल पर्दैछन् ।
जापान जस्तो भूकम्पका दृष्टिले उच्च जोखिमयुक्त मुलुक र त्यसबाट आईपर्न सक्ने विपत्ति समाधानका लागि अनुभवी एवं प्रविधियुक्त सावधानीमा सँधै एलर्ट रहने जापानबाट नेपाल र नेपालीले धेरै सिक्न सक्नुपर्ने हो । यस बिषयमा सम्बन्धित विज्ञहरुसंग अन्तरक्रिया, बहस, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम गरेर भूकम्पको जोखिमबाट बच्ने र कम क्षति हुने उपायहरुका बारेमा सिक्ने र बुझ्ने सम्बन्धमा हामी नेपालीहरुको पटक्कै ध्यान जान सकेको छैन । नाचगान, चार्डपर्व, रमाइला कार्यक्रममै हाम्रा अधिकाँश समय ब्यतित भईरहेको देखिन्छ । जीवनकालमा कुनै पनि समयमा आईपर्न सक्ने र टार्न नसकिने मानवीय क्षमताभन्दा बाहिरको प्राकृतिक प्रकोपका बेला गर्न सकिने भनेको क्षती कम गर्न अपनाईने पूर्व तैयारी मात्रै हो । पूर्व तैयारीका लागि जापानमा प्राथमिक तहका विद्यालयदेखि नै त्यस सम्बन्धि शिक्षा दिईन्छ, पूर्वअभ्यास गराईन्छ । विडम्वना हामीकहाँ जतिबेला विपत्ति आईलाग्छ त्यति नै बेला बिना तैयारी सामना गर्ने सँस्कारले कम गर्न सकिने संभावित क्षति भन्दा बढि क्षति ब्यहोर्नुपर्ने स्थिति छ । यसतर्फ जिम्मेवार निकाय तथा संघसंस्थाहरुले अन्यत्र लगानी भईरहेको श्रम, स्रोत र ऊर्जालाई केहि अंश भए पनि यतातिर लगाउन पर्ने देखिन्छ ।
जापानमा भएको सन् २०११ को महाभूकम्प र सुनामीको विपदमा जापानमा रहेको तत्कालिन नेपाली समुदायले राहत र उद्वार कार्यमा देखाएको सक्रियता यहाँ स्मरणीय छ । त्यतिबेला नेपालीहरुले जापानमा देखाएको एकता साँच्चिकै ऐतिहासिक र उदाहरणीय रह्यो । त्यसैगरी सन् २०१५ अप्रिलमा नेपालमा गएको भूकम्पका बेला जापानस्थित नेपाली दूतावास, नेपाली समुदाय र यहाँका संघसंस्था तथा अन्य ब्यक्तिगत तवरबाट करीव १० करोड रुपैंया राहत तथा उद्वारका लागि नेपाल पठाईएको देखिन्छ । तर त्यसको कहाँ, कसरी र कुन प्रयोजनमा खर्च गरियो, गरिएन वा मौज्दात बाँकी छ त्यसबारेमा जापानबासी नेपालीले जान्न पाएनन् ।
विगत ८ वर्षको अवधिमा कर्मभूमि र जन्मभूमिमा आईलागेका दुई ठूला भूकम्पीय विपत्तिले हामीलाई के पाठ सिकायो, त्यसबारेमा कहिंकतै चर्चासमेत हुने गरेको पाईदैन । यस सम्बन्धमा समय समयमा सचेतनामुलक कार्यक्रम भईरहनु वाञ्छनीय छ । यस स्मरणीय घडिमा घरदेश र परदेशका दूवै विपत्तिमा ज्यान गुमाउने ज्ञात अज्ञात सबैप्रति हार्दिक श्रद्धासुमन । घाईते, अपाङ्ग, अशक्तहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना । ***