Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

समाजमा विद्यमान अवस्थामा रहेका विकृति, विसंगतिलाई हटाई सान्त र सभ्य समाजको निर्माण गर्नु तपाईं हाम्रो दायित्व हो । हाम्रो समाजमा अझै पनि केही अमानविय हिसाबले गरिने सामाजिक कुसंस्कार जरो गाडेर बसेका छ्न् । जसको एक नमुना बोक्सी प्रथा पनि हो ।

यही कुसंस्कारले गर्दा समाजका विभिन्न स्थानमा महिलाहरुले कुटपिट, ज्यादती मात्रै होइन जीवन समेत त्याग्नु परेको दु:खद अवस्था छ । आखिर बोक्सी प्रथा के हो ? कस्ता हुन्छन् बोक्सी ? के बोक्सी पनि हुन्छन् र ? अझै मानिसको चेत खुल्न सकेको छैन । अब त अति भो ! फ्याकिदिनुस् बोक्सी भन्ने शब्द । अनि शब्दकोशबाटै मेटिदिनुस् मन भित्रबाटै हटाइदिनुहोस् । यो मात्रै होइन, बोक्सीसँगै धामीझाँक्री भन्ने शब्द पनि हटाइनुपर्छ । यो शब्दले धेरै मानिसलाई दिनुसम्मको दु:ख दिइरहेको छ ।

मलाई यो बोक्सी भन्ने शब्दले सारै पीडा हुँदै गयो । खासमा यो बोक्सी भनेको के हो ? यसको जवाफ मैले खोज्नै पर्छ भन्ने सोचेर म आफूमाथि देवी चढेको देउता चढेको भनेर आफूलाई धामीझाँक्री भनेर चिनाउने कहाँ गए । मैले प्रश्न गरे खास मा बोक्सी केलाई भनिन्छ । उहाँहरुको जवाफ थियो, जस्ले तन्त्रमन्त्र गर्न जान्दछ टुना मुना गरि विभिन्न भेष बदली छुट्टै किसिमको कार्य गरि फाइदा लिनु नै बोक्सी हुन हो ।

आखिर के यो कुरा के साचो होत ? कसैले देखेको छ भेष बदलेर टुना मुना गरि फाइदा लिएको ? यो सब हिन्दु धर्मावलम्बीले गर्दै आएको एउटा कुरिती कुसंस्कार र अन्धविश्वास मात्रै हो । यही कुसंस्कारले जरो गाडेको समाजमा आजको दिनमा पनि नेपाली नारी पीडित हुँदै आएका छन् । बोक्सी प्रथाको शिकार बन्दै गएका छ्न् । नेपाली समाजमा परम्परादेखि नै बोक्सी शब्दको प्रयोग गर्दै आएकोले पनि अहिलेसम्म यो कु-प्रथाको भुत मानिसमा हटेको देखिदैन । तन्त्रमन्त्रप्रतिको विश्वास भनौं वा बोक्सीमाथिको अन्धविश्वासले भनौं । देशमा वर्षाैंदेखि यसैको कारणले डरलाग्दा घटना घटिरहेका छन् ।

गाउँघरमा गाई बस्तु बिरामी हुँदा होस् वा भैंसीले दूध दिएन भने होस् या त कोही मानिस बिरामी भएको खण्डमा उपचार गराउन अस्पतालमा लिनुको सट्टामा बोक्सी लाग्यो भन्दै धामीझाँक्री कहाँ लिने र झारफुकको प्रभाव पारी कसै महिलामाथि बोक्सीको आरोप लगाइ निघात यातना दिने गरिन्छ । तर पनि कतिपय घटना बाहिर आउछन् भने कतिपय भित्र भित्रै सिमित बन्छन् । बोक्सीको आरोप प्रायजस्तो महिलाहरू माथि नै आरोप लगाइनुले नि यो पुष्टि गर्दछ कि, समाजमा महिलालाई यो वा त्यो बाहानामा हिंसा गर्नु नै हो । बोक्सी के पुरुष हुँदैनन् ? महिला मात्रै बोक्सी हुन सक्छन् र ? महिला पनि जो समाजले हेपेको छ, विपन्न अनि गरिब छ । जस्को राजनीतिक पहुँच छैन, जस्को आफन्त छैनन् । दलित घरको महिला एकल महिला, गरिब घरको महिला यिनैलाई बोक्सीको आरोप लगाइन्छ ।

यदि बोक्सी नै हुने भए किन धनी घर कि महिला बोक्सी हुदैनन् ? किन राजनीतिमा लागेका महिला बोक्सी हुदैनन् ? किन ब्राह्मण, क्षेत्री घरको महिला बोक्सी हुदैनन् ? हो यहि कुरा बुझ्न नसक्नु हाम्रो समस्या हो । बोक्सी जस्तो घृणित कुरिती तथा अन्धविश्वासको कारण कयौं महिला दिदिबहिनीले चरम यातना खेपिरहेका छन् । कतिपय महिलाको ज्यान समेत यही बोक्सी प्रथाले लिएको छ । केही वर्ष अगाडि मात्रै चितवनमा एकल महिला ढेगनी देवि महत मारिएकी थिइन् । यसैगरी काभ्रेमा बोक्सी कै आरोप लगाइ मुलमत्र खुवाइ एक लक्ष्मी परियार माथि आगो लगाएर हत्या गरिएको थियो ।

राजधानीको जोरपाटीमा सुनिता बुढासैनीलाई कुटपिट गरि चरम यातना दिइएको थियो । जसबाट उहाँको आँखाको ज्योति समेत गुमेको छ । उता बैतडीमा एक वालिका माथि आफूलाई धामी भन्ने महिलाले कुटपिट गरि व्यहोस बनाइन । रुपन्देहीमा बोक्सीको आरोपमा आमा–छोरीलाई अर्धनग्न बनाएर निर्घात कुटपिट गरियो । यता कैलालीमा गत वर्ष नारी दिवस कै दिन बोक्सीको आरोपमा राधा चौधरी माथि मरणासन्न हुने गरी कुटपिट गरियो । केही दिन अगाडि मात्रै काठमाडौं कि दलित महिला लक्ष्मी मिजारमाथि बोक्सीको आरोप लगाइ तातो पन्युले शरीरभरी डामियो र निघात कुटपिट गरियो । यी त एउटा उदाहरण मात्रै हुन यस्ता थुप्रै घटनाहरु छन् । जुन सबैलाई समेट्न गाह्रो छ ।

समाज पनि कस्तो ! यसरी निर्दोष महिला माथि मरणासम्म हुने गरि कुटपिट गर्दा मुख दर्शक बनेर बस्छ । खै कता छन् पढे लेखेका विद्वानहरु ? अनि कता छन् युवा राजनीति गर्ने नेता र कार्यकर्ता ? समाजका अगुवा शिक्षित ब्यक्तित्वहरु किन यस्तो कु–प्रथाको विरुद्ध आवाज उठाउन सक्दैन ? यो कस्तो लज्जास्पद कुरो !

हाम्रो समाजमा कोही बिरामी भयो, गाईबस्तु पशु चौपाया मर्यो भने पनि यो बोक्सीले खाइ । बोक्सी लागेर यस्तो भएको हो भन्दै कुनै निर्दोष महिला माथि आरोप लगाइ धामीझाँक्री बसाइ महिलालाई निर्दोष कुटपिट गरिन्छ । अझभन्नू पर्दा मुलमत्र खुवाउने, कपाल मुड्ने, आगो लगाउने, म बोक्सी हु भनी कबुल गराउने, नमाने आगो मुखमा झोस्ने गाउँ निकाला गर्ने जस्ता अमानवीय कार्य हुँदै आएको पाइन्छ ।

तर कसै महिलालाई बोक्सी को आरोप लगाउनु, यातना दिनु, अपहेलना वा वहिष्कार गर्नु, आक्रमण गर्नु र सामाजिक बेइज्जती गर्नुलाई जघन्य अपराध हो । नेपालको संविधानमा सबै नागरिकलाई कानुनको दृष्छिमा समान बनाएको छ । धर्म, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि किसिमले शोषण गर्न नपाइने भनिएको छ । यस्तै महिला भएको नाताले शारीरिक,मानसिक यौनजन्य मनोबैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य नगरिने गरि बोक्सीको नामबाट हुने कुनै हिंसाजन्य कार्यबाट उन्मुक्ति दिएको छ । समाजमा विद्यमान रहेका यस्ता कार्यको अन्त्य गर्ने जिम्मेवारी तपाईं हाम्रो अनि राज्यको हो ।

अन्त्यमा बोक्सी प्रथा एउटा सामाजिक कुरिती, कुसंस्कार हो । हामी भित्र रहेको अन्धविश्वास मात्रै हो । त्यसैले यस्तो अन्धविश्वासलाई हामीले बाहिर ननिकालेसम्म समाज बोक्सीको समस्या बाट मुक्त हुन सक्दैनन् । यस्ता अन्धविश्वासलाई त्यागी भ्रमित कुरामा नलागि महिला माथि हुने जस्तोसुकै हिंसा विरुद्ध सबै लागौं । समाजमा सचेतना जगाउ, बोक्सी जस्तो कु-प्रथालाई उखेलेर फालौं ।

तपाईको प्रतिक्रिया