Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – विगत दुई दशकदेखि जापानमा ब्यवसाय गर्दै आएका कर्पु शर्पा नेपालको पर्यटन ब्यवसायसंग पनि आबद्ध छन् । जापानको शुमेइ विश्वविद्यालयबाट राजनैतिक अर्थशाष्त्रमा ग्य्राजुयशन गरेका शेर्पाले विगत ३७ वर्षदेखि नेपालमा धवलागिरी ट्राभल्स, टूर एण्ड ट्रेकिङ कम्पनी चलाउँदै आएका छन् । जापानमा रहे पनि नेपालको पर्यटन क्षेत्रलाई नजिकबाट नियाल्दै आएका शेर्पाले नेपाल-जापान सिधा उडानका सम्बन्धमा हरेक हिसाबले ओसाका भन्दा नारिता उपयुक्त हुने बताउँदै आएका छन् । नेपालको पर्यटन बिकासमा नेपाल वायुसेवा निगमले खेल्न सक्ने भूमिका, नेपाल भ्रमण वर्ष २०२० लाई जापानबासी नेपालीहरुले पुर्‍याउन सक्ने सहयोग र ओसाकामा हुने भनिएको नेपाल जापानको सिधा उडानका सम्बन्धमा केन्द्रीत रहेर समुद्रपारिले गरेको कुराकानीको सम्पादित अंशः

नेपालको पर्यटन क्षेत्रको विकासक्रमलाई यहाँले कसरी हेरिरहनुभएको छ ?
नेपाल पर्यटन बोर्डको २०१२ देखिको तथ्याङ्क हेर्ने हो भने २०१३ अनि २०१४ मा घट्दै गएर २०१५ मा आईपुग्दा ३२ प्रतिशतले पर्यटक घटेको देखिन्छ तर पछिल्लो समय नेपालमा आउने पर्यटकको संख्यामा केहि बृद्धि भएपनि अपेक्षाकृत बढेको देखिदैन । Lonely Planet भन्ने एउटा संस्थाले प्रकाशित गरेको विवरण अनुसार काठमाडौं बिश्वकै हेर्न लायक सहरहरुको सूचीमा ५ नम्बरमा पर्न गएको र नेपाल सरकारले पनि २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकोले अब भने नेपाल जाने पर्यटक बढ्ने संभावना देखिन्छ । नेपालको व्यापार घाटामा गईरहेको अवस्थामा पर्यटन बिकास नै बिदेशी मुद्रा आर्जन गर्ने एक उपयुक्त माध्यम र अर्थतन्त्रको अभिन्न अंग बन्न सक्दछ । सरकारले पनि भ्रमण वर्ष घोषणा गरेर मात्र हुँदैन त्यसका लागि पूर्वाधारहरुको पनि बिकास गर्नुपर्दछ । जस्तो कि काठमाडौंको सडकको अवस्था सुधार्ने, धुलोधुँवा नियन्त्रण गर्ने, यातायातको सहजीकरण गर्ने इत्यादी ।

भ्रमण गर्न असाध्यै रुचाउने जापानी पर्यटकहरु अपेक्षित संख्यामा नेपाल जान नसक्नुको मुख्य कारण के होला जस्तो लाग्छ ?
नेपालमा लामो समयदेखिको राजनैतिक अस्थिरताका कारण असुरक्षित महसुस गर्नु, त्यसपछि २०७२ को महाभूकम्पमा देशका पर्यटकीय सम्पदामा क्षति हुनु र ती क्षति भएका संरचनाहरु समयमा पुनःनिर्माण नहुनु र अर्को मुख्य कारण नेपाल-जापान सिधा हवाईसम्पर्क नहुनु हो जस्तो लाग्छ । नेपाल र जापानको राजधानीसंग सिधै हवाईसम्पर्क हुने हो भने जापानी पर्यटकको संख्यामा निकै बृद्धि हुने प्रवल संभावना छ ।

बढि भन्दा बढि जापानी पर्यटक नेपाल भित्र्याउन के कस्ता उपायहरु अवलम्बन गर्नुपर्ला ?
भ्रमण गर्न असाध्य रुचाउने जापानीहरु २०१८ मा १ करोड ९० लाख भन्दा बढी विदेश भ्रमणमा गएको देखिन्छ । नेपालमा जापानी पर्यटक भित्र्याउन सर्बप्रथमतः नेपाल जापानको सिधा हवाईसम्पर्क कायम हुनुपर्दछ । साथै धेरैजसो जापानीहरुको बुध्दधर्मप्रति आस्था हुने भएकोले जापानमा बुद्धका बारेमा उचित प्रचार प्रसार, सगरमाथा लगायत नेपालका पर्यटकीय स्थलहरुको ब्यापक प्रचारप्रसार गर्नु आवश्यक छ । हाम्रो देशमा घुम्न लायक ठाउँहरु प्रशस्त छन् भन्ने बारेमा यथेष्ट जानकारी उनीहरुमा प्रवाह गर्न सक्नुपर्दछ ।

नेपाल भ्रमण वर्ष सन्-२०२० मा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको लक्षलाई जापानमा रहेका नेपालीहरुले के कसरी सहयोग गर्न सकिएला ?
हामी जापानमा बस्ने नेपालीहरुले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट सबैले सक्दो सहयोग गर्नुपर्दछ । मैले पहिले पनि उठाउँदै आएको कुरा हो कि धेरै नसके पनि जो जापानमा बस्नुहुन्छ सबैले एक-एकजना जापानी नेपाल पठाउने कोशिस गर्ने हो भने यसको नतिजा प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ । प्रत्येक नेपालीले जापानीहरु माझ नेपालप्रतिको छाप सकारात्मक छोड्न सक्नुपर्दछ । नारिता-काठमाडौं सिधा उडान हुने हो भने नेपाल जाने जापानी पर्यटकको संख्या निःसन्देह अहिलेको भन्दा दोब्बर हुन सक्ने कुरा विभिन्न तथ्यहरुले देखाएको छ ।

नेपाल जापान सिधा उडानका सम्बन्धमा नेपाल वायुसेवा निगमले अब छिट्टै शुरु गर्न लागेको भनिएको ओसाका उडानलाई कसरी हेरिरहनुभएको छ ?
नेपालमा एउटा उखान छ नि ’कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझै राजधानीबाट राजधानी जोड्ने सिधा हवाईसम्पर्क हुनुपर्नेमा संख्यात्मक हिसाबले थोरै जनसंख्या र न्यून नेपालीहरुको बसोबास भएको ओसाकामा उडानको तैयारी भईरहेको बुझिन्छ । जापानमा बस्ने कुल नेपालीहरुको संख्याको ५३,०६९ अर्थात ६२ दशमलव ५ प्रतिशत नेपालीहरु बस्ने खान्तो एरियालाई छोडेर ६,७३६ अर्थात ८ दशमलव ५ प्रतिशत मात्र नेपालीहरु रहेको खान्साई एरियामा उडानको तयारी भईरहेको भन्ने छ, यसमा केही मान्छेहरुको स्वार्थ र चलखेल हो भने दूर्भाग्य मान्नुपर्दछ । नारिताको तुलनामा ओसाका उडाउँदा न त ठूलो संख्याका नेपालीहरु लाभान्वित हुन सक्छन् न त जापानी पर्यटक बढ्ने सम्भावना देखिन्छ ।

ओसाकामा भन्दा र नारिता उपयुक्त हुने अडान राख्दै आउनुभएको छ, के कति कारणले ओसाका भन्दा नारिता उपयुक्त हुन्छ भन्ने तपाईको तर्क हो ?
ओसाका भन्दा नारिता उपयुक्त हो भन्ने कुरा मैले कुनै हचुवाको भरमा नभएर विभिन्न तथ्यमा टेकेर भनेको हुँ । २०१८ को रेकर्डलाई हेर्ने हो भने जापानबाट नेपाल जाँदा ७० प्रतिशत र नेपालबाट जापान आउँदा ६६ प्रतिशत नेपालीले नारिता एअरपोर्टबाटै ट्राभल गर्ने गरेको आंकडा छ । ट्राभल कम्पनीहरुसंग गरिएको एक सर्बेक्षणमा पनि नेपाल जाने यात्रु मध्य करिब ५२ प्रतिशत भन्दा बढीले नारिता एअरपोर्ट प्रयोग गरेको तथ्य छ । नारिता एयरपोर्टले ग्राउण्ड हेण्डलिङ शुल्कमा पनि पहिलो वर्ष शत प्रतिशत, दोश्रो वर्ष ७० प्रतिशत र तेस्रो वर्ष ४० प्रतिशत छुट दिने बताउँदै आएको छ । हप्तामा दुईवटा मात्र उडान भर्दा पनि नेपाल वायुसेवा निगमलाई बर्षमा कम्तिमा पनि ४ करोड बराबरको रकम ग्राउण्ड हेण्डलिङ शुल्क छूट हुने देखिन्छ । यसका साथै मेरो विभिन्न समयमा नारिता एअरपोर्टका महाप्रवन्धक लगायतका अधिकारीहरुसंग भएको कुराकानीअनुसार नारिता एअरपोर्टले पनि नेपालमा सिधा उडान गर्न धेर नै इच्छुक भएको र त्यसका लागि आवश्यक प्रक्रिया पुरा गर्न जुनसुकै बेला पनि तयार रहेको बताउने गरेका छन् । माथिको सबै तथ्यहरुलाई हेर्ने हो भने वायुसेवा निगमले ओसाका नभएर नारिता एअरपोर्टबाटै उडान भर्नु राम्रो हुन्छ ।

जापानमा रहेका नेपालीहरुको अवस्थालाई कसरी नियालिरहनुभएको छ ?
पचासी हजार भन्दा बढि नेपाली विभिन्न भिसामा जापानमा हुनुहुन्छ । केहि छिटपुट घटना बाहेक जापानमा नेपालीहरुको अवस्था धेरै राम्रो छ । भाषा र केहि सीप हातमा छ भने जापानमा सुबर्ण अवसरहरु पनि प्रशस्त छन् । मैले देखेको एउटा समस्या भनेको कसैले कुनै काम सुरु गर्‍यो भने अरुले पनि त्यहि हुबहु कपी गर्छन । आफुसंग भिजन, सीप र धान्न सक्ने ल्याकत नभए पनि अरुको देखासिकीको भरमा सोही ब्यवसाय कपी गर्ने प्रचलन बढ्दो छ । रेष्टुरेन्ट बिजनेशमा सबैभन्दा बढि यो प्रवृति हावी देखिन्छ । भाषाको राम्रो ज्ञान, अलि सिर्जनशीलता, समयको माग, गर्न खोजेको काम अथवा व्यवसायको सीप आदि भए जापानमा नेपालीहरुको धेरै राम्रो भबिष्य छ जस्तो लाग्छ ।

अप्रिलदेखि लागू हुने नयाँ भिसा प्रणालीअनुसार जापानको श्रमबजारमा नेपाली कामदारहरुले पाउने अवसर बारे के कस्तो संभावना देख्नुहुन्छ ?
जापानको जनसंख्या हेर्ने हो भने युवाहरुको संख्या थोरै र उमेर पुगेका बृद्धाहरुको संख्या धेरै हुँदै गएको छ । १ सय जनाका लागि १ सय ६० रोजगारी उपलब्ध रहेको कारणले के देखिन्छ भने जापानी बजारमा धेरै श्रमिकको माग छ । त्यही माग पुरा गर्न जापान सरकारले करीव ५ लाख कामदार २०२५ भित्रमा भित्र्याउने लक्ष्य लिएको छ । त्यसमा नेपालीलाई पनि सामेल गरिएकोले खुशी हुनुपर्ने बेला अवश्य हो । तर जापान आउने कामदारको भाषा र सीप परीक्षाको मापदण्ड कस्तो हुने भन्ने अझै अन्तिम निर्क्यौल नभईसकेको अवस्था छ । माथिको मापदण्ड छिटो भन्दा छिटो तोकिनुपर्दछ र विभिन्न आशा देखाएर नेपाली युवाहरुबाट धेरै पैसा असुल्ने र भनेको ठाउँमा काम पनि नदिने खराव प्रवृत्तिका ब्यवसायीहरुलाई नेपाल सरकारले नियन्त्रण गर्नुपर्दछ । आफु जान लागेको गन्तब्य र कामको प्रकृति राम्रोसंग बुझेर त्यही अनुसार सीप हासिल गरेका र भाषामा राम्रो दक्षता भएका नेपालीहरुका लागि जापानको श्रमबजारमा नेपाली श्रमिकको माग हुनु बेरोजगारी समस्या झेल्दै आएको नेपालका लागि सुनौलो मौका हो ।

लामो समयदेखि जापान बसाईको अनुभवमा जापानमा सिक्न सकिने राम्रा पक्षहरु के हुन् जस्तो लाग्छ ?
लगभग ३० वर्षभन्दा बढी जापानको बसाईको अनुभव र जापानी समुदायसंग धेरै नजिकको रिलेशन भएको कारण मैले धेरै कुरा सिक्न र अभ्यास गर्ने मौका पाएको छु । जापान र जापानीहरुसंग सिक्न सकिने कुराहरु धेरै छन् । जापानीहरु आफ्नो काममा निष्ठाका साथ अनुशासित भएर लागिपर्दछन् । कुनै पनि व्यस्त ठाउँमा अनुसाशित भएर लाइनमा बस्नु, जथाभाबी फोहोर नगर्नु, घर र अफिस वरपर आफैले सफा राख्नु, कामको आधारमा कसैलाई सानो र कसैलाई ठूलो भनेर भेदभाव नगर्नु, श्रमको उच्च सम्मान गर्नु, कुनै पनि कुरामा घमण्ड नगर्नु, अरुका बारेमा नकारात्मक टिप्पणी गरेर समय खेर नफाल्नु, एकचोटी बोलेको कुरा कुनै पनि हालतमा समयमै पुरा गरेर देखाउनु जस्ता सँस्कार हामी जापानी समुदायबाट सिक्न सकिने महत्वपूर्ण पक्षहरु हुन् । यसबाहेक सुशासन, हरेक क्षेत्रमा प्रविधिको प्रयोग, शिक्षा स्वास्थ्यको सहज पहुँच, रोजगारीको ग्यारेन्टी, जनताप्रतिको उत्तरदायी भावना, सबैलाई आधारभूत पूर्वाधारहरुको पहुँच, कुनै पनि डर धम्की या त्रासबाट जनतालाई मुक्त गराउनु जस्ता धेरै राम्रा सँस्कार नेपाल लगायत बिश्वले जापानबाट सिक्न सकिन्छ ।

जापानमा अब ब्यवसायका नयाँ संभावनाहरु के देख्नुहुन्छ ?
जापान अर्थतन्त्रको हिसाबले बिश्वकै तेस्रो ठूलो मुलुक हो । व्यवसाय गर्नेहरुलाई जापानले सुरक्षाको ग्यारेन्टीका साथै प्रतिस्पर्धात्मक बजार ब्यवस्थापन गरेको छ । समयको माग अनुसार सिर्जनात्मक तरिकाले जुनसुकै व्यवसाय गर्न पनि जापानमा राम्रो छ । समयको माग भन्नाले लञ्च समयमा डिनरको व्यवसाय चलाउनु भएन । आफुले गर्ने व्यवसायको माग त्यो समयमा कति छ, विश्लेषण गरेर गर्ने हो भने जापानमा व्यवसायको संभावना धेरै राम्रो छ । लहलहैमा लागेर भन्दा पनि आफु दक्ष भएर बिजनेश रिसर्च गरेर लागेको व्यवसाय फस्टाउन सक्छ ।

विदेशमा बसेका नेपालीहरुको मुलुकप्रतिको जिम्मेवारी के हो जस्तो लाग्छ ?
अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ भनिन्छ । प्रवासी नेपालीहरुले नेपालमा ठूलठूला उद्योग धन्दा खोलेर, विभिन्न क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा टेवा पुर्‍याईरहेका छन् । जति पनि बिदेशमा बस्ने नेपालीहरु छन् उनीहरुले नयाँ प्रविधिसंग काम गर्ने तरिका, बिकसित मुलुकको सुसँस्कृत सँस्कार, रहनसहन आदि कुराको अनुभव गरेका हुन्छन् । त्यही आफुले सिकेको सीप, अनुभव, अभ्यास गरेको व्यवहार र आर्जन गरेको लगानी नेपालमा उपयोग गर्ने हो भने देशको बिकासमा ठूलो टेवा पुग्न सक्छ ।

नेपालीहरुको विदेश बसाई लम्बिनुको मुख्य कारण के हो र यसले देशलाई के कस्तो प्रभाव पार्छ ?
नेपालीहरु विदेशिनुको मुख्य कारण नै नेपालमा रोजगारीको अभाव हुनु, आफ्ना बालबच्चाको सुरक्षित भबिष्य नदेख्नु, अस्थिर राजनीति नै मुल कारण हुन् । बिदेशिए पछि नयाँ सीप सिकेर रोजगारीका लागि सहज बन्दै जाने हुँदा स्तरिय जीवनशैलीमा बानी पर्न थालेपछि आफ्नो र परिवारको भबिष्य सुरक्षित देख्छन । यही कारण बिदेशिएका नेपाली लामो समयसम्म बिदेशमा बसिरहन मन पराउँछन् । नेपालमा यसको नकारात्मक प्रभाव लामो समयदेखि परिरहेको छ । पढेलेखेको, हातमा केहि सीप भएका र जानेबुझेका वर्ग बिदेशमा पलायन भएपछि यसको प्रत्यक्ष असर पर्ने नै भयो ।

अन्त्यमा, जापान लगायत विदेशमा बस्ने नेपालीहरुलाई के भन्न चाहानुहुन्छ ?
जापानवासी नेपालीहरु सबैले जापानीहरु तथा बिदेशीहरु माझ नेपालप्रतिको सकारात्मक धारणा जगाउन सहयोग पुग्ने क्रियाकलापहरु गर्नुपर्छ । नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन र जापानको प्रविधि एवं लगानी भित्र्याउन आ-आफ्नो क्षेत्रबाट सक्दो कोसिश गरौं । कहिलेकाँही समाचारमा आएजस्तो नेपाल र नेपालीको छवि गिर्ने खालका क्रियाकलाप हुन नदिन सबै सचेत होऔं । आफ्नो जिम्मेवारी, उद्देश्य र पालना गर्नुपर्ने नियम-कानुनलाई सँधै केन्द्रमा राखेर इमान्दारपूर्वक मिहिनेत गरौं, मान्छेलाई साँच्चिकै मान्छे बनाउने देश जापानमा छौं, समय खेर नफालौं । आफुले गरेको मिहिनेत आफैका लागि हो भन्ने कुरा कहिलै नबिर्सौ ।***

तपाईको प्रतिक्रिया