Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

ललितपुर –  गाबहालका सृजन महर्जन कुपण्डोलमा बाटो काट्नकै लागि दैनिक १५/२० मिनेटसम्म कुर्ने गर्नुहुन्छ ।

सवारीको साधनको अत्यधिक चाप भएको यस ठाउँमा ‘जेब्राक्रसिङ’ बाट बाटो काट्न कठिन भएको उहाँ बताउनुहुन्छ । कुपण्डोलकै एउटा सहकारीमा कार्यरत उहाँ कहिलेकाहीँ हतारिएर बाटो काट्ने गर्नुहुन्छ । यसरी बाटो काट्दा कति पटक सवारीसाधनसंग ठोक्किनु भएका महर्जन भन्नुहुन्छ, “अहिलेसम्म ठूलो दुर्घटना भने भएको छैन ।”

एक दशकयता सडकमा सवारी साधनको सङ्ख्या बढेसँगै सडक काट्न थप गाहे भइरहेको उहाँको भनाइ छ । सवारी साधनको चाप बढिरहँदा पनि आकाशेपुल बन्न नसक्दा महर्जनजस्तै सबै महानगरवासी हैरान छन् । ललितपुर महानगरपालिकाका व्यस्त सडकमा कतै पनि आकाशेपुल छैन । आकाशेपुलको अभावमा पैदलयात्रु धेरै समय कुरेर ‘जेब्राक्रसिङ’ बाट बाटो काट्ने गरेका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई बाटो काट्न झनै कठिन छ ।

झम्सिखेलका जीवराम थापामगर पनि आकाशेपुल नहुँदा बाटो काट्न पर्ने स्थानमा हिँड्नसमेत नसक्ने अवस्था रहेको बताउनुहुन्छ । पैसठ्ठी वर्षीय उहाँ चार दशकदेखि यहाँ बस्दै आउनुभएको हो । केही वर्ष पहिलेसम्म सजिलै सडक वारपार गर्न सकिए पनि अहिले कठिन भएको उहाँको भनाइ छ । आकाशेपुल ठाउँठाउँमा नहुँदा १५/१६ वर्षका ठिटाठिटीलाई समेत एक्लै सडक पारी पठाउन नसकिएको थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आकाशेपुल नहुँदा हामी बूढापाका र केटाकेटीलाई बाटोमा हिँड्न पनि गाहे भयो ।”

केही वर्षमा सवारीसाधनको चाप ह्वात्तै बढेको महानगरवासी बताउँछन् । चाप बढे पनि बाटो पार गर्नका लागि महानगरपालिकाले आकाशे पुल निर्माण गरेको छैन । महानगरपालिकाका भित्री र व्यस्त सडकमा बाटो काट्नका लागि लामो समयसम्म कुर्नुपरेको स्थानीयवासीको गुनासो छ । चालकले ‘जेब्राक्रसिङ’ मा समेत पैदलयात्रुलाई प्राथमिकता नदिने गरेको पैदलयात्रु बताउँछन् ।

महानगरपालिकामा अहिलेसम्म पुल्चोक, ग्वार्खाे र बागडोल गरेर तीन ठाउँमा मात्रै आकाशेपुल छन् । ग्वार्खाे र बागडोलमा चक्रपथ सडक विस्तारका क्रममा चिनियाँ निर्माण कम्पनीले पुल निर्माण गरेको थियो । मुख्य सडकमा भने पुल्चोक एक ठाउँमा मात्रै आकाशेपुल निर्माण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भित्री शहरका धेरै ठाउँमा आकाशेपुल आवश्यक भए पनि हामीले निर्माण गर्न सकेका छैनौँ ।”

महानगरपालिकाको लगनखेल, मङ्गलबजार, कुपण्डोल, जावलाखेललगायत स्थानमा आकाशेपुल बढी आवश्यक रहेको प्रवक्ता महर्जनको भनाइ छ । महानगरपालिकाले चालू आवमा आकाशेपुल निर्माणका लागि बजेट नछुट्ट्याएको जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “चालू आवमा योजना बनाएर आगामी वर्ष काम गर्ने योजना छ ।”

महानगरपालिकाले पैदलयात्रु र सवारीसाधन दुवैको चाप बढी भएका ठाउँमा आकाशेपुल निर्माणका लागि अध्ययन शुरु भएको बताएको छ । आकाशेपुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम भइरहेको प्रवक्ता महर्जन बताउनुहुन्छ । कुपण्डोल, अल्का अस्पताल, पाटन अस्पताल अगाडिलगायत ठाउँमा आकाशेपुल बढी आवश्यक भएकाले अध्ययन भइरहेको उहाँ जानकारी दिनुहुन्छ ।

अस्पताल अगाडि र चक्रपथका चोकमा आकाशे पुल बढी आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले चक्रपथको यस सडकखण्ड हस्तान्तरण गरेपछि सरकारले विभिन्न छ स्थानमा आकाशे पुल निर्माण गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । प्रवक्ता महर्जन भन्नुहुन्छ “यो वर्ष अध्ययन सकिएपछि आगामी वर्ष योजनामा पर्नेछ ।”

उपत्यकाका सवारी साधनको चाप बढी हुने थापाथलीमा ‘फ्लाई ओभर’ का लागि जापानी सहयोग संस्था(जाइका) ले अध्ययन गरिरहेको छ । सो पुल थापाथलीबाट त्रिपुरेश्वर, माइतीघर र कुपण्डोलसम्म हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया