सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू
तपाई समक्ष पुग्ला या नपुग्ला तैपनि एउटा सानो प्रयास गरेको छु । २००७ देखि २०६२–६३ को जनआन्दोलनसम्म राजनैतिक लडाईले शिथिल बनेको बिकास र अर्थतन्त्र ६२–६३ को ऐतिहासिक राजनैतिक परिवर्तनसंगै स्थिर सरकार र समृद्धिको कैयौं सपना बुनेर जनताले ठूलो बिश्वास र भरोसाले कम्युनिस्टलाई आफ्नो मतादेश दिए । झण्डै दुईतिहाईको बहुमतको कम्युनिस्ट सरकार बनेसंगै जनतामा आशा, उत्साह र समृद्धिको उभार सलबलाएको थियो । तर एकदशक बित्दै गर्दा ब्यवस्था फेरिए पनि जनताको अवस्था फेरिएन । शासक बर्गको आडम्बरी, तामझाम र घमण्ड फेरिएन । एउटा सामन्ती राजा त हटायौं तर एउटा राजाको अन्त्यसंगै सयौं राजाहरु जन्मिन पुगे । जसलाई धारेहात लगाउदै दरबारबाट निकाल्यौं उनकै सिको गर्दै नयाँ शासक अगाडि बढिरहदा कुन नेपालीको मन नकुडिंएला सरकार ???
सरकार, जनताले धेरै अपेक्षा गरेका छैनन । साहु महाराज हुने सपना पालेका छैनन् मात्र एउटा असल सिस्टम बसालिदेउ जहाँ सबै नेपाली हासिखुशी फुल्न सकून । दीनदुखी, असहाय, गरिब, भोकानांगा र निमुखा जनताको आवाज बनेर, सारथी बनेर घर घरमा पुगिदेऊ सरकार, सामान्य ज्वरो आउंदा पनि सिटामोल खान नपाएर अकालमा मर्नुपर्ने कर्णालीका जनताको औषधी बनेर पुगिदेउ सरकार, कालो बर्णको आधारमा आफुलाई हेपिएको महशुस गर्ने मधेशमा गम्छा र धोती लिएर पुगिदेउ ता कि उसले गर्वले ढाकाटोपी शिरमा पहिरिन सकोस् । एक गाग्री पानी लिन ५–६ घण्टाको दूरी धाउनुपर्ने ती काकाकुल जनताको आगनीमा पानी बनेर बगिदेउ सरकार, ८० बर्षे बूढा बाले हातबाट रगत बगाउदै तुईन तानेर गुजारा चलाउनुपर्ने विवशतामा पुल बनेर जोडिदेउ सरकार, सदियौंदेखि अन्धकारमा टुकी बालेर जीवन काटिरहेका अध्यांरा बस्तीहरुमा उज्यालो लिएर बलिदेउ सरकार, बिहान स्कुल गएकी ८ बर्षे छोरी बेलुका बाटोबाटै बलात्कार र हत्या हुनुपर्ने जघन्य अपराधमा सजाय बनेर उभिदेउ सरकार, नागरिकता, पासपोर्ट, जग्गा नामसारी वा कुनै सिफारिस बोकेर सरकारी कार्यालय पुग्दा भनसुन र टेबुलमुनिबाट नजरानाको बिटो बुझाउनुपर्ने कुकृत्यको थोरै भए पनि अंकुश लगाउदेउ सरकार । अस्पताल, यातायात, बैंक, बिमा, निजी विद्यालय, म्यानपावरहरुले गरिरहेको ब्रम्हालुट्लाई थोरै भएपनि कैँची चलाईदेउ सरकार, कृषिप्रधान देशमा बर्षेनी लाखौं क्विन्टल खाद्यान्न आयात गर्नुपर्ने बाध्यताको खोजी गर्दै कागजी नारा होईन सिंचाइ र कृषि बजारको सहजिकरण गरेर बिचौलियाहरुको लूटको खेती बन्द गरिदेउ सरकार, बर्षौदेखि न्यायको भिख माग्दै अदालतको आगनीमा आफ्नो जवानी फालेका पीडितलाई सत्यको पहाड बनेर अंकमाल गरिदेउ सरकार, बिदेशमा पसिना बगाएर फर्किदा आफ्नो परिवार र आफन्तलाई उपहार स्वरुप ल्याएको केही थान कपडामा, मोबाइलमा पनि कररुपी गिद्दे आँखा नलगाई प्रबासीमैत्री कानुन परिमार्जन गरिदेउ सरकार, दिनहुं हजारौं युवाहरु लर्को लागेर बिदेशिने ताती मध्य आधालाई मात्र भए पनि आफ्नै देशमा केही गर्न सकिन्छ भनेर रोक्न सक्यौं भने मात्र तिमी सफल भएको ठहरिने छौ ।
असारे बजेटले न गुणस्तरिय सडक बने न पुल पुलेसा बने, केवल बने त ब्यापारीहरुको महल बने आसेपासेका दरबार ठडिए । बेरोजगार भत्ता होईन रोजगारी सिर्जना गरिदेउ सरकार, पानी जहाज र रेल पछि चढौला, अहिलेलाई यति गरयौ भने पनि तिम्रो फोटो हरेकको घर-घरको भित्तामा झुण्डिरहने छ । जनताले तिम्रो जयजयकार गर्नेछन र तिमै शब्दमा ‘Negative Vibes’ दिने कैयौं पशुपतिहरुलाई जनताले बहिष्कार गर्नेछन । जनताले बहिष्कार गर्नेछन ।***
जय देश ..
भरतपुर महानगरपालिका वडा नं. १३ चितवन
हाल साउदीअरेविया