विश्व पर्यटन बजारमा जापानी पर्यटक अर्थात जापान बजारलाई एउटा भ्यालु मार्केटको रुपमा हेर्ने गरिन्छ । सन् २०१८ विदेश भ्रमण गर्ने जापानीहरुको संख्या करीव १ करोड ९० लाखको हाराहारीमा पुगेको छ भने बढ्ने क्रम जारी छ । ९० को दशकतिर युरोप वा अमेरिका मुख्य गन्तव्य रहेकोमा हाल आएर ७० प्रतिशत भन्दा बढी जापानीहरुको भ्रमण गन्तव्य एशिया मोडिएको देखिन्छ। दक्षिण एसियामा हेर्ने हो भने कुनै समयमा इन्डिया पछि धेरै जापानी भ्रमण गर्ने देशहरुमा नेपाल पर्थ्यो भने हाल आएर नेपाल भ्रमण गर्ने जापानी पर्यटकहरुको संख्या निराशाजनक नै देखिन्छ । बिगतदेखिका तथ्यांकहरु हेर्ने हो भने नेपाल भ्रमण गर्ने जापानी पर्यटकको संख्याको ग्राफ सन् २००० सम्म उत्साहजनक रुपले बृध्दि भएर वार्षिक ४१ हजारको हाराहारीमा पुगेकोमा २०१८ मा आउंदा २९ हजारमा झरेको छ । अझ भन्नुपर्दा सन २००० देखि २०१८ सम्मको तथ्यांक हेर्ने हो भने बार्षिक संख्या ३० हजार नै पुग्न नसकिरहेको अवस्था छ ।
एउटा छुट्टै आफ्नो सांस्कृतिक बिशेषता बोकेको जापानलाई विश्व पर्यटन बजारमा फरक तथा संवेदनशिल बजारका रुपमा हेर्ने गरिन्छ । त्यसैले नेपालले परम्परागत रुपमा सबै देशहरुमा एकै किसिमले गर्दै आईराखेको रणनीतिमा पुनरावलोकन गर्नुका साथै हरेक देश अनुकुल फरक ढंगले बजारीकरण तथा प्रबर्धनका रणनीतिहरु अपनाउनुपर्ने देखिन्छ। एवं प्रकारले कुन प्रकारको ट्राभल ट्रेण्ड अहिले यो बजारमा धेरै विक्रि भएको या चलेको छ भनेर विशेष रुपमा बजारको अध्ययन गर्नुपर्ने देखिन्छ, जुन कुराहरुमा हामी जापान बजारमा अहिलेसम्म चुकिरहेका छौं । साथै पर्यटन बिकासका लागि प्रडक्ट वा सेवा, संभावित बजारको अध्ययन, बजारीकरणको रणनीति र प्रबर्धन, पहुच, कनेक्टिभिटी जस्ता कि-फ्याक्टरहरुले मुख्य भूमिका खेलेका हुन्छन । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नेपाल-जापान सिधा उडान राख्दै गरिरहेको परिप्रेक्ष्यमा कनेक्टिभिटी फ्याक्टरको भूमिका र यसका विभिन्न पक्षको अध्ययन, विश्लेषण गर्न अत्यावश्यक देखिन्छ ।
हाम्रो जस्तो भूपरिवेष्ठित देश र आन्तरिक वस्तुको उत्पादन र निकासी गर्न नसक्ने अवश्थामा पर्यटन नै बिदेशी मुद्रा आर्जन गर्ने एक साधन र अर्थतन्त्रको अभिन्न अंग हो । हाम्रो देशको पर्यटनले अन्य देशको तुलनामा त्यति गति लिन नसक्नुमा एउटा कारण राष्ट्रिय ध्वजावाहक विमानले प्रभावकारी रुपमा संसारका बिभिन्न सहरहरुलाई नेपालसँग सिधा जोड्न नसक्नु पनि हो । राष्ट्रिय ध्वजावाहक माथि नआएसम्म पर्यटन विकासको संभव छैन। जतिसुकै भौतिक पूर्वाधारको विकास भएपनि आफ्नै देशको सवल र प्रभावकारी एयर-कनेक्टिभिटी माध्यम छैन भने त्यो देशमा पर्यटन विकासले गति लिन सक्दैन। कुनै पनि देशको विमान कम्पनीले उक्त देशको पर्यटन प्रवर्धन एवं पर्यटक बृध्दिमा एउटा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। हवाइसेवा अर्थात पर्यटनको कनेक्टिभिटी माध्यम त्यसमा पनि राष्ट्रिय ध्वजावाहकले देशको पर्यटन प्रवर्धन र बिकासमा विशेष महत्व र अझ बढी भूमिका खेल्ने गर्दछ । ध्वजा-वाहकको सिधा-उडान भन्नुको अर्थ बिशेषत दुईवटा कुराहरुमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। एक राष्ट्रिय झण्डा सहित देशको प्रवर्धन गर्दै यात्रुहरुलाई तुलनात्मक रुपमा सहज र सुलभ तरिकाले पर्यटक र गन्तव्यलाई सिधै जोडेर यात्रा गर्न उत्प्रेरित गर्छ भने, अर्को पर्यटकले हवाई टिकटमा गर्ने खर्च पनि त्यो देशको आम्दानीको रुपमा भित्र्याउन ठूलो भूमिका खेलेको हुन्छ। यी दुवै कुराहरु हामीले अहिले गुमाईराखेको अवस्था छ ।
यसै परिप्रेक्ष्यमा नेपाल वायुसेवा निगमले करीव १२ बर्षको अन्तराल पछि वाइड-बडी ‘ब्रान्ड न्यू’ जहाज सहित पुन: संचालनमा ल्याउन लागेको जापान उडानलाई नेपालको पर्यटन विकासमा एउटा उत्साहकोरुपमा लिन सकिन्छ । निगमको जापान उडान संगै जापानमा बस्ने नेपालीहरुले सहजरुपमा नेपाल आउन जानुको साथै मुख्यतया: जापानबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा अवश्य पनि सुधार आउने अपेक्षा गरिन्छ तर यसको सहि गन्तव्य निर्धारण, व्यबस्थापन र बजारीकरण गर्न सकेमा मात्र ।
बिगत केहि वर्ष देखि निगमले वाइडबडि ल्याउने योजनाको घोषणासंगै जापान उड्ने भन्ने समाचारहरु हरेक महिना कुनै न कुनै मिडियामा छाएको देख्न सकिन्छ। कहिले नारिता, कहिले हानेदा त कहिले ओसाका भन्ने समाचारसंगै प्रत्येक पटक गन्तव्य पनि बदलिरहेको देखिन्छन । त्यसो त नेपाल वायुसेवा निगम आफैमा स्पष्ट नभएको देखिन्छ भने यी यस्ता समाचारहरु र निगमको उडान हुने भनिएको मितिको बारम्बार परिवर्तन जस्ता कुराहरुले जापान जस्तो संवेदनशील बजारमा पक्कै पनि यसको विश्वसनियतामा प्रश्न चिन्ह खडा हुनसक्ने कुरामा निगम सजक हुनुपर्ने देखिन्छ।
साथै निगमको आधिकारिक वेभसाइट हेर्दा अहिले आएर लगभग ओसामा उडान भर्ने भन्ने करीव निश्चित भैसकेको देखिन्छ । ओसाका गन्तव्य भन्ने कुराले धेरैमा किन चिबा (टोकियो /नारिता एयरपोर्ट) नभएर ओसाका (खानसाइ एयरपोर्ट) भन्ने एउटै प्रश्न उब्जन थालेको छ ।
दुई देशिय हवाईसेवा सम्झौता भैसकेको र जापानको टोकियोमा रहेको हानेदा अन्तर्राष्ट्रिय एयरपोर्ट बाहेकका जापानका अन्य सबै एयरपोर्टमा नेपाल जापानको बिचमा हप्ताको १४ वटासम्म उडान भर्न सकिने पनि हवाई सम्झौता भैसकेको परिवेशमा नारिता जस्तो ठूलो बजार हिस्सा बोकेको कान्तो क्षेत्रको हब एयरपोर्टमा उडान नभरेर ओसाकाको खान्साई अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान भर्नु अर्थात गन्तव्यको रुपमा छान्नु आफैमा अनौठो छ । के सांच्चिकै निगमले जापानमा सहि उपयुक्त गन्तव्य छान्यो त ? के जापानको विभिन्न गन्तव्यहरु तोक्नु अघि बिस्तृत बजार संभाव्यता अध्ययन गरेको थियो त ? यसै सम्बन्धमा नेवानिको जापान बजारको विशेषता के कस्तो छ, सांच्चिकै बजारको बृहत संभाव्यता अध्ययन भएर नै ओसाकामा उडान भर्ने निर्णय लिएको हो त ? धेरै प्रश्नहरु गर्ने ठाउँहरु देखिन्छन । यहाँ कतै न कतै नेवानि जापानमा उपयुक्त गन्तव्य पहिचान र निर्धारण गर्न नसकिरहेको र गल्ति गरिरहेको आभाष हुन थालेको छ ।
हो, बिगतमा ओसाका उड्दा जापानमा नेपालीहरुको संख्या अत्यन्तै न्युन थियो र ओसाका उडान भर्दा त्यति फरक पर्दैनथ्यो तर समय बदलिएको छ । हाल जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या ८५ हजार भन्दा बढि छ र त्यसको आधा भन्दा बढि हिस्सा कान्तो क्षेत्रमा केन्द्रित छ भने खान्साई क्षेत्रमा बस्ने नेपालीहरुको संख्या झण्डै ५ हजारको वरपरमा देखिन्छ ।
नेपालदेखिको उडान दूरी नारिता भन्दा खान्साई थोरै कम हुनु अथवा खान्साई एयरपोर्ट २४ घण्टानै खुला हुनु जस्ता कारणहरु देखाएर खान्साई एयरपोर्टमा राखिएको भन्ने जस्ता कुराहरु आईरहेका छन् । दूरीको हिसावले हेर्दा ४५ मिनेटदेखि १ घण्टा बढी उडान समय नारितामा लाग्ने देखिन्छ । निगमले जापान सम्मको उडान भर्ने भईसकेपछि १ घण्टाको समय समायोजन गर्ने कुरा त्यति ठूलो होईन होला, जब कि एयर बस ३३० ए ले लगातार ९ /१० घण्टा उडान भर्न सक्छ भने काठमाण्डौ-नारिता उडान समय लगभग आठ देखि नौ घण्टाको बिचमा लाग्ने देखिन्छ । त्यस्तै गरेर ठूलो बजार हिस्सा बोकेको एयरपोर्ट नारिता छोडेर हप्ताको ३ दिन हुने एक-एक उडान भन्दा बढी उडान गर्न नसक्ने स्थितिमा २४ घण्टा नै खुल्ने एयरपोर्ट भनेर खान्साई छान्नु त्यति अर्थपूर्ण देखिदैन ।
साथै जापानको खान्साइ क्षेत्रमा ओसाका, क्योटो, ह्योगो, शिगा, नारा, मिय र वाकायामा गरेर ७ वटा प्रिफेक्चर पर्दछ भने उक्त क्षेत्रको मुख्य हब एयरपोर्ट ओसाकामा रहेको खान्साइ अन्तर्राष्ट्रिय एयरपोर्ट (KIX) हो । त्यस्तै खान्तो क्षेत्रमा टोकियो, खानागावा, साइतामा, चिबा, इबाराकी, तोचिगी र गुन्मा प्रिफेक्चर पर्दछ भने उक्त क्षेत्रको मुख्य हब एयरपोर्टहरु चिवामा रहेको नारिता (NRT) र टोकियोमा रहेको हानेदा अन्तर्राष्ट्रिय एयरपोर्ट (HND) हुन् ।
यहाँ मुख्यतया: अहिले नारिता र खान्साई अन्तर्राष्ट्रिय एयरपोर्टहरु शुरुदेखिनै चर्चामा छन् । नेवानिको जापानमा उडानका लागि कुन एयरपोर्ट तुलनात्मक हिसावले उपयुक्त छ भनेर विभिन्न तथ्याङ्कको आधारमा हेर्न सक्छौ ।
जस्तो एयरपोर्ट पार्किङ एवं ग्राउण्ड ह्याण्डलिङ्को शुल्क नारिता भन्दा खान्साई नै थोरै महंगो पर्न जाने देखिन्छ । जापानमा नेवानिको लक्षित बजार भनेको नै मुख्यतया: जापानीहरु र जापानमा बस्ने नेपालीहरु नै हुन। जनसंख्या, विदेश भ्रमणमा निस्कने जापानीहरुको संख्या, बढी संख्यामा विदेश भ्रमणमा निस्कदा प्रयोग गर्ने एयरपोर्ट पनि खान्साई क्षेत्र भन्दा खान्तो क्षेत्रमा नै देखिन्छ । अनि जापानमा बस्ने आधा भन्दा बढी नेपाली खान्तो क्षेत्रमा नै रहेको देखिन्छ ।
साथै केहि महिना अघि करिव ८ वटा जति नेपालको एयर टिकट बेच्ने र टुर आयोजना गर्ने ट्राभल कम्पनीहरुसंग लिएको एक सर्भेक्षणमा नेपाल जाने यात्रुहरु मध्ये करीव ५२ प्रतिशत भन्दा बढीले नारिता एयरपोर्ट प्रयोग गर्ने गरेको तथ्यहरु पाईएको छ ।
खान्तो (टोकियो) र खान्साइ (ओसाका) एयरपोर्टको तुलनात्मक तालिका (नेपाली/जापानीहरुको बसोबास एवं पार्किंग शुल्क विवरण)
Source : Narita Intl Airport Corporation (2016) //JATA (2018) //Ministry of Internal Affairs and Communications Statistic Bureau, Japan (2018)
कुनै पनि हवाईसेवाले आफ्नो गन्तब्य निर्धारण गर्दा संस्थागत सहजता मात्र नभएर बढिले सेवा लिन मिल्ने र व्यवसायिक संभाव्यता बोकेको सेक्टर र गन्तव्य छान्ने गर्दछ । जापानमा नेपाल वायुसेवा निगमको बिशेष लक्षित बजार अर्को अर्थमा सेवाग्राही भनेका जापानी र जापानवासी नेपाली नै हुन । जापानको परिवेशमा यदि ओसाकाबाट उडान भर्ने भए शायद टोकियो या जापानका अन्य एयरपोर्टबाट कनेक्टीङ उडानको सुविधा हुनसक्छ होला । त्यसोगर्दा पनि सेवाग्राहीको समय बचतको हिसाबले पनि धेरै र लाग्ने मूल्यमा पनि निगम र सेवाग्राहीलाई पनि धेर-थोर आर्थिक भार पर्न जान्छ । तसर्थ समग्रमा हेर्दा ओसाकाभन्दा टोकियो बढी प्रभावकारी हुने सबैको विश्लेषण रहेको र उल्लिखित तथ्यहरुले पनि यो कुराको स्पष्ट गर्दछ । हुन त खान्साई उडान पश्चात केहि समयको अन्तरालमा नारितामा पनि उडान राख्ने भन्ने सुन्नमा आएको छ । तर निगमको हालको व्यवस्थापन एवं सीमित साधन स्रोतले त्यो कुरा त्यति व्यवहारिक देखिदैन । त्यसैले निगमले ओसाकाभन्दा टोकियो उडान योजना राख्दा सेवागत र व्यवसायिक रुपमा अझै प्रभावकारी हुने कुरामा कसैको दुई मत नहोला । ***
(लामो समयदेखि जापानमा रही पर्यटन क्षेत्रमा कार्यरत लेखक रेग्मी पर्यटन बिषयका जानकार/अध्येयता हुन)