काठमाडौं – बंगलादेशविरुद्धको तीन वटा एक दिवसीय क्रिकेटको सिरिज न्यूजिल्याण्डले एक खेल अगावै जितेको छ ।
आज भएको दोस्रो एक दिवसीय क्रिकेटमा ८ विकेटको जित निकाल्दै सिरिज आफ्नाे पक्षमा पारेको हो ।
बंगलादेशले दिएको २२७ रनको लक्ष्य न्यूजिल्याण्डले ३६.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । न्यूजिल्याण्डको जितमा मार्टिन गुप्तिलले उत्कृष्ट शतकीय पारी खेलेका थिए ।
८८ बल खेलेका गुप्तिलले १४ चौका र ४ छक्काको मद्दतले ११८ रन बनाए । यसैगरी केन विलियम्सन र राेस टेलर क्रमश ६५ र २१ रनमा नटआउट रहे ।
टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेश ४९.४ ओभरमा अल आउट हुँदै २२६रनमा समेटिएको थियो ।
बंगलादेशका मोहमद मिथुनले ५७ रन जोड्दा सब्बिर रहेमानले ४३ रनको योगदान गरे । न्यूजिल्याण्डका लोकी फर्गुसनले ३ तथा टड एस्ले र जेम्स निसमले दुई-दुई विकेट लिए ।