जापानलाई कर्मथलो बनाएर बसेका हामी नेपालीहरुलाई जापानबाट कसैले जन्मथलो नेपाल भ्रमण गरेमा यसले विशेष महत्व राख्दछ । त्यसमा पनि आफु नजिकका साथीभाइ, चिनजानका मानिसहरुले नेपाल भ्रमण गरिदिए त झनै राम्रो । यसबाट एकातिर आफुलाई आत्मसन्तुष्टि मिल्छ भने कर्मथलोको मित्रसँगको सम्बन्ध प्रगाढ हुनुका साथै नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने गर्छ । जापानीहरुले नेपालका प्रसिद्ध पर्यटकीय स्थानहरुका बारेमा जानकार भई जापानमा ती स्थलहरुको प्रचारप्रसार गरेमा, जापानीका लागि पनि नेपाल एउटा संभावित सुन्दर पर्यटकीय गन्तव्यका रुपमा विकास हुन सक्छ । नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । र, २०२० मा २० लाख बढी पर्यटक नेपाल भित्र्याउने महत्वाकाँक्षी योजना अघि सारेको छ । यो हालको नेपाल भित्रिने पर्यटक संख्याको दुई गुणा हो ।
नेपालमा वार्षिक रुपमा २५ हजारदेखि २८ हजारको हाराहारीमा जापानी पर्यटकहरु भित्रिने गरेका छन्, यो संख्या भारत, चीन, अमेरिका, थाइल्याण्ड, बेलायत, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, जर्मनी, म्यान्मार र बंगलादेशभन्दा पनि कम हो । जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको नाताले पनि जापानबाट अन्य मुलुकको दाँजोमा धेरै पर्यटक नेपाल भित्रन पर्ने हो । तर त्यसो हुन भने सकेको छैन । ‘नेपाल भ्रमण वर्ष ले लक्ष्य राखेको २० लाख पर्यटक नेपाल भित्र्याउने कार्यक्रमलाई सफल बनाउन पनि सन् २०२० मा जापानबाट करीव ६० हजार भन्दा बढी जापानी पर्यटक नेपाल भित्रनुपर्ने देखिन्छ । त्यसैले ‘नेपाल भ्रमण वर्षलाई जापानवासी नेपालीहरुले कसरी सहयोग गर्ने भन्ने विषयमा चर्चा परिचर्चा गरी मातृभूमिका लागि हातेमालो गर्ने बेला आएको छ ।
एकफेरा नेपालको पर्यटनको इतिहासलाई फर्केर हेरौं, नेपालमा कृषिले श्रमक्षेत्रको करिव ७० प्रतिशत ओगटेको मानिदै आएको छ । त्यसपछि संभावित बजारको रुपमा जलविद्युत र पर्यटन उद्योगलाई लिने गरिन्छ । तर अघिल्ला तथ्याङ्कको अनुसार, नेपालको कुल जीडीपीमा पर्यटन क्षेत्रको योगदान ४ देखि ५ प्रतिशत मात्र रहेको छ । यद्यपि, नेपालको आर्थिक विकासमा पर्यटन व्यवसाय जोडिएको विषय भने वर्षौदेखि चर्चा तथा परिचर्चा हुँदै आएको छ । नेपालको व्यवसायिक पर्यटन सन् १९५०-६० को दशकबाट शुरु भएको मानिन्छ । हिमाल आरोहणमा आएका पर्वतारोही र पदयात्रीहरु नै नेपालका शुरुका विदेशी पर्यटक हुन् । नेपालको मुख्य पर्यटन घटनाक्रमलाई हेर्दा विल तिलम्यान पहिलो विदेशी पदयात्री पर्यटक हुन् र उनले सन् १९४९ मा नेपालको पदयात्रा गरेका थिए ।
सन् १९५० मा फ्रान्सेली टोलीले पहिलो पटक हिमाल आरोहण (अन्नपूर्ण) गरे । १९५१ मा पाटनको जावलाखेलमा पहिलो होटल (नेपाल होटल) खोल्नुका साथै यसै वर्ष नेपालले विदेशी पर्यटकका लागि नेपाल खुल्ला भएको घोषणा गरेको थियो । विदेशमा निर्यात गर्ने सामान लगभग नभएका कारणले विदेशी मुद्रा आर्जन गर्न नेपाललाई पर्यटन क्षेत्रको विकास गर्नु आवश्यक थियो । र, विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु नेपालमा रहेका कारण सरकारले यस क्षेत्रलाई योजनाबद्ध रुपमा अघि बढाएको थियो । १९५२ मा पहिलो अन्तर्राष्ट्रिय होटल र १९५३ मा पहिलोपल्ट हिमालयन एयरवेज स्थापना गरिएका थिए । १९५३ मा नै सर एडमण्ड हिलारी र तेञ्जिङ नोर्गेले सगरमाथा आरोहण गरी नेपाललाई संसारमा चिनाए । त्यसैताकाबाट नेपालको राष्ट्रिय योजनामा पर्यटन व्यवसायलाई संलग्न गराई, नीति/नियमहरुसहित निजी क्षेत्रहरुलाई पनि प्रोत्साहन गरिएको हो ।
नेपालको पर्यटन व्यवसाय यहाँसम्म आईपुग्दा, करीव ६५ देखि ७० वर्ष पार गरेको मान्न सकिन्छ । नेपालमा आउने पर्यटकहरु मुलतः विदा मनाउने, धार्मिक र पर्वतारोही र पदयात्री हुन् । सन् १८९९ मा जापानी भिक्षु इकाइ कावागुची बौध्दधर्म सम्बन्धी पौराणिक ग्रन्थ र महत्वपूर्ण कला वस्तुहरुको खोजी गर्न त्यस समयमा विदेशीलाई प्रवेश निषेध रहेको तिब्बतमा लुकेर प्रवेश गर्ने क्रममा नेपाल छिरेका थिए । त्यस्तै बौध्दधर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा सन् १९९२ मा बुन्क्यो आओकी नेपाल प्रवेश गरे भने सन् १९१३ मा इकाइ कावागुची, जुनजिरो ताकाकुसा, रिउतेइ हासेवेले लुम्बिनी भ्रमण गरेका थिए । यी सबै भ्रमणहरु बौध्दधर्मसँग सम्बन्धित रहे । त्यसपछि नेपालको राणाकालिन सरकारले पनि बौध्दधर्मसँग आवद्व जापानीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गर्ने गरेको पाइन्छ ।
जनस्तरमा नेपालको बारेमा जापानमा जानकारी हुन थालेको चाँही सन् ९ मे १९५६ मा इमानिशी तोसियो र ग्यारसेन नोरुबुले विश्वमा पहिलो पटक मनास्लु (विश्वको आठौं अग्लो शिखर, ८,१६३ मिटर) आरोहण गर्न सफल भएपछि हो । दोस्रो विश्वयुद्धपछिको अवस्था पनि भएका कारण, पर्वतारोहणलाई लिएर यसले जापानी समाजमा एक किसिमको बुम नै स्थापना गरेको मानिन्छ । यसै आरोहरणलाई लिएर माइनिची एइगास्याद्वारा निर्मित ‘मनास्लु नि ताचु’ (मनास्लुमा उभिँदा) फिल्मले जापानीहरुलाई शक्ति प्रदान गर्नुको साथै मन छोएको भनेर पुरस्कृत पनि गरिएको थियो । सन् १९५६ नोभेम्बर ३ का दिन जापान सरकारले मनास्लु आरोहण सफलताको सम्झना स्वरुप हुलाक टिकट जारी गर्यो । यसरी जापानीहरुको नेपालप्रतिको आकर्षण बौध्दधर्म हुँदै, पर्वतारोहणतिर अघि बढेको देखिन्छ । मनास्लु आरोहण नै जापानमा नेपाललाई चिनाउने कोसेढुंगा सावित भयो । ततपश्चात, जापानी नागरिक ताबे जुन्को, सन् १९७५ मा प्रथम महिला सगरमाथा आरोही बनिन् । प्रसिद्ध पर्वतारोही मिउरा युउइचिरो या नोगोची केनले पनि नेपालका हिमालहरुको प्रचारप्रसार भने गरिरहेको पाईन्छ । जापानका पूर्व प्रधानमन्त्री स्व. रिउतारो हासिमोतो पनि नेपाल र हिमाललाई अति मन पराउथें । उनले पनि पटक पटक नेपालको अनौपचारिक भ्रमण गरे । उनका यस्ता भ्रमणहरु स्वतः नेपालको प्रचारप्रसारसँग जोडिन्थ्यो ।
वर्षमा १ करोड ८० लाख जापानीहरु विदेश भ्रमण गर्ने गर्छन् । र, उनीहरुको रोजाईको गन्तव्यहरुमा नजिकका एशियाली राष्ट्रहरु दक्षिण कोरिया, ताइवान, हङकङ, माकाओ, थाइल्याण्ड, मलेसिया, सिंगापुर, फिलिपिन्स, इण्डोनेसिया (बाली) र भियतनाम पर्दछन् । त्यसपछि हवाई (अमेरिका), गुआम, अष्ट्रेलिया, न्युजिल्याण्ड, जर्मन, स्पेन, अष्ट्रिया आदि छन् । दक्षिण कोरियामा मात्र करीव २३ लाख जापानीहरु बार्षिक रुपमा भ्रमण गर्ने गर्छन् भने नेपालबाट नजिकको मित्रराष्ट्र थाइल्याण्डमा पनि वार्षिक १ लाख ५० हजार जापानीहरु भ्रमण गर्दछन् । यि राष्ट्रहरु जापानीका गन्तव्य हुनुका कारण राम्रो हवाई सुविधा, प्रभावकारी प्रचार प्रसार, राम्रो सेवा, सफासुग्घर, राम्रो भ्रमण व्यवस्थापन, होटल, शपिङ, नाइट लाइफ, अवलोकन योग्य ठाउँहरु प्रशस्त हुनु हो । नेपालमा जापानी पर्यटक बढाउन पहिले त नेपाल र जापानबीच सिधा हवाई सेवा सुरु गरिनुपर्छ । त्यसपछि, नेपालका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गरिनुपर्छ । यस्ता प्रचारप्रसारहरु सरकारी तवरमा, सञ्चारमाध्यम र जनस्तर दुवै तहमा हुनुपर्दछ । जापानमा राम्रो प्रचारप्रसार गरी लाखौ पर्यटक भित्र्याउने मुलुक मलेसिया हो, धेरै जापानीहरु मलेसियाका गन्तव्यहरुका बारेमा जानकार हुन्छन् । जापानीहरु बीचमा, नेपालका पर्वतारोहण, पदयात्राका गन्तव्य, पंक्षी अवलोकन, माउण्टेन फ्लाइट, र्याफ्टिङ्, प्याराग्लाइडिङ्, माउण्टेन साइक्लिङ्, जंगल सफारी, धार्मिकस्थल आदिको बारेमा पूर्ण रुपमा प्रचार प्रसार हुनुपर्दछ ।
सरकारीस्तरमा नेपाली राजदूतावासद्वारा ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी प्रत्येक दुई महिनामा एउटा कार्यक्रम गर्न सक्दछ । यसमा जापानी ट्राभल एजेन्सी र नेपाल भ्रमण वर्षलाई सघाउन सक्ने जापानी संघसंस्थालाई आमन्त्रण गरिनुपर्दछ । जनस्तरमा गैरआवासीय नेपाली संघ (एनआरएनए जापान) ले विभिन्न प्रचारमूलक कार्यक्रम गर्न सक्छ, विगतमा पनि …Send a Friend HomeÚ जस्ता कार्यक्रम गरेको अनुभव एनआरएनएसँग छ । हाल आएर, जापानमा बसोबास गर्ने नेपालीको संख्या करीव ९० हजार पुगेको अवस्था छ । हामीले आफ्ना जापानी मित्रहरुलाई यसै भ्रमण वर्षलाई लक्षित गरी नेपाल पठाउने हो भने, नेपाल सरकारले लक्ष्य बनाएको २० लाख पर्यटक नेपाल भित्र्याउने कार्यक्रमलाई सफल बनाउन हामीले सहयोग गर्न सक्छौं । जापानवासी नेपालीहरुका लागि ‘नेपाल भ्रमण वर्ष २०२०’ एउटा मातृभूमिका लागि योगदान गर्ने राम्रो अवसर हो । जापानमा रहेका विभिन्न नेपाली संघसंस्थाले होतेमालो गरेर यो अभियानलाई सफल बनाउनुपर्छ ।
(लेखक डा. बस्नेत गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व प्रवक्ता हुन्)