Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

एक हप्ता अगाडि नेपालको एयरपोर्ट भन्सारले दुई करोड भन्दा बढीको सामान लिलामी गर्दै ’२९ सय बोतल त रक्सी मात्रै’ भन्ने शीर्षकमा समाचार पढ्दा झट्ट कोही ठूलै ब्यापारीले ल्याएको सामान समाएर लिलामी गरे होलान् भन्ने लागेको थियो तर अहिले बुझ्दै जाँदा पो थाहा लाग्यो त्यो सामान त प्रायः सबै बैदेशिक रोजगारीमा गएर स्वदेश फिर्ता हुँदा सर्वसाधारण नेपालीले लगेको सामान पो रहेछ ।

चाहे जुनसुकै देशमा भए पनि आफ्ना हात पाखुरा नबजारे सम्म दुईचार पैसा जोड्न र परिवारका आवश्यकता परिपूर्ति गर्न समस्या हुन्छ नै । देश अनुसार पाउने पारिश्रमिकमा फरक होला, तर परिवारसंग बिछोड भएर देशको मानचित्रबाट धेरै परको देशमा पल पल परिवारलाई सम्झदै पारिवारिक जिम्मा बहन गर्नुपर्ने यथार्थ शायद सबैको उस्तै उस्तै नै हो ।
खाडीको खडेरीमा खडा भएर खाई-नखाई जोगाएको पैसा होस् अथवा अन्य कुनै पनि देशमा बगाएको पसिनाको ईनाम किन नहोस, आफ्नो मेहनतको कमाईबाट आफ्ना परिवारका सदस्यलाई रक्सी नै किन नहोस् या घडी, मोवाइल होस् या ट्याब्लेट, माया स्वरुप लैजाँदा सबैभन्दा प्यारो लाग्ने आफ्नो जन्मभूमिमा पाईला राख्न पाएको खुशी राम्ररी महसुस गर्न नपाउँदै अबैध भएर जफत हुन्छ भने बर्षौमा आफ्नो जन्मठाउँ फर्कदाको अनुभव अबश्य मिठो हुँदैन ।

बिदेशमा भएका ब्यक्तिलाई पनि देशको नियम कानुन लाग्छ छुट्टै हो तर त्यसका बारे सबै जानकार हुन्छन् नै भन्ने पनि हुँदैन । भन्सारले बैदेशिक रोजगारीबाट फिर्ता हुँदा के के सामान के कति लिन पाउने भन्ने नियम अवश्य बनाएको छ । तोकिएको नियम भन्दा बढी सामान लिए अबैध हुने कुरामा सहमत भए पनि बैदेशिक रोजगारीमा भएका सबै जानकार हुन्छन् भन्ने कुरामा यो पंक्तिकार पनि सहमत छैन । हरेक देशको आ-आफ्नै भन्सार नीति हुन्छन् ती नीति नियमलाई पालना गर्नुपर्छ त्यसमा कसैको दुई मत हुँदैन र मेरो पनि छैन । तर यो नियम बैदेशिक रोजगारीमा रहने हामीलाई अन्यायपूर्ण हो, यसलाई सच्याउनुपर्छ भन्ने राय सहित आफ्ना बिचार राख्न मन लाग्यो ।

सर्बप्रथम त बैदेशिक रोजगारीमा रहने के कति नेपाली छौं र हामीले के कति रेमिट्यान्स देश भित्र्याएका छौं भन्ने यकिन तथ्याङ्क म संग अहिले नभए पनि करीब पचास लाख नेपाली वैदेशिक रोजगारीमा छौं र रेमिट्यान्स मार्फत देशको कुल ग्राहस्थ उत्पादनको करीब एक चौथाई रेमिट्यान्सले ओगटेको छ भनेर बिगतका तथ्याङ्क अनुसार पनि अनुमान सहजै गर्न सकिन्छ । जसले देशको कुल ग्राहस्थ उत्पादनको एक चौथाई ओगटेको छ । देशको अर्थतन्त्र चलायमान गराएको छ । जसले आफ्नो जवानी प्रदेशमा सुम्पेर जहान परिवार पालेको छ, अझै अगाडि भन्ने हो भने सरकारको नाक जोगाईदिएको छ, यदि प्रदेशमा यसरी रगत पसिना नबगाएको भए तीनका परिवारको अवस्था के हुने थियो ? देशभर नांगैभुतुंगै नागरिक भईदिएको भए समग्र देशको प्रतिष्ठा के हुने थियो, नाक काटिने थियो या थिएन ? त्यो अलि लामो बिषय होला तर प्रदेशमा बर्षौ खुनपसिना बगाएर कमाएको रकमले आफ्नो परिवार तथा ईष्टमित्रका लागि २, ४ बोतल रक्सी र २, ४ थान मोबाइल लैजाँदा अवैधानिक भएर जफत हुन्छ भने सम्बन्धित निकायसंग यो नाजायज निर्णय सच्चाउन पनि अनुरोध हो ।

संगसंगै यसै सन्दर्भमा सान्दर्भिक लागेर सानो उदाहरण राख्न मन लाग्यो । उक्त समाचार हेरेको हप्तादिन भित्र बिश्वभरी छरिएर रहेका नेपालीहरु कति जनाले दुःख पाए होलान् कतिले ज्यान गुमाए होलान् त्यो मेरो ज्ञानले नभ्याउला तर म कार्यरत जापानमा मात्रै ३ नेपालीहरुले ज्यान गुमाउनु पर्‍यो । म्याग्दीका बिजय गौचन कामबाट साईकलमा फर्कदा सडक दुर्घटनामा परी जीवन गुमाए । म्याग्दीकै प्रमिला दर्जीले सुत्केरी भए पश्चात ट्युमरको कारण नावालाक छोडेर प्रदेशमा आफ्नो अन्तिम सास फेरिन् । त्यस्तै बागलुङ गल्कोटका सविन क्षेत्री पनि उपचारका क्रममा मृत्यूवरण गर्न पुगे । यी त केवल उदाहरण मात्रै हुन् बैदेशिक रोजगारीमा रहेकाहरुको के कति यस्ता घटना हुन्छन् होला भन्ने त त्यो एयरपोर्टमा बस्ने ले २, ४ दिनमै अनुमान गर्न गाह्रो हुँदैन । जापानमै भएका अहिलेका घटना हुन् या यसभन्दा पहिलाका कैयौं यस्ता घटनामा जापानमा रहने सर्बसाधारणले रकम उठाएर अन्त्येष्टि गरेका छन् यो खबर सुन्दा सम्बन्धित निकायलाई लाज लाग्ला या नलाग्ला । के ति निकायको काम अस्तु नेपाल पुर्‍याउन सिफारिस गरिदिने मात्रै हो त ?

अन्तमा, बर्षौ पारिवारिक बिछोड सहेर घामपानी, भोक, प्यास नभनी खटिएर कमाएको धन खर्चेर रेमिट्यान्स देशमा भित्र्याएर देशको लागि एक प्रकारको योगदान दिनेलाई नै अपमान हुने नियम बनाएर अंकुश लगाउने निकायसंग मेरो सानो अनुरोध, पसिनाको कमाई नेपाल लैजाँदा अबैध भनेर जफत हुन्छ भने घरकी जहानलाई सम्झेर बैंशालु जोवान प्रदेशमा बिताउनुपर्दा कति पीडा हुन्छ त्यसको पनि मापन गरेर जफत गरियोस् । प्रदेशमा ज्यान गुमाउनेका पीडाहरु कस्ता हुन्छन् ति पनि मापन गरेर जफत गरियोस् । त्यो भन्दा अझै माथि जापानमा मृत भएका तीन ब्यक्तिको अस्तुसम्म पक्कै नेपाल आउँछ त्यसमा पनि कुनै माध्यमबाट मापन गरेर एयरपोर्टसम्म आएका आफन्तबाट केही जफत गर्न मिल्ने भए गर्नु साथै त्यो नाबालकको भविष्यका बारे चिन्ता लिनुपर्दैन कुनै बहाना मिलेसम्म गरेर जे जे मिल्छ त्यो जफत गरेर लिलामी गरियोस् । हैन भने हामी प्रदेशी जसले देशका लागि केही योगदान पनि गरेका छौं अलि सहज वातावरण कायम गराई पाईयोस् । हैन भने बिदेशबाट जानेको सामान मात्रै हैन पीडा पनि अबैध ठानेर जफत गरियोस् । ***

(लेखक कार्की गल्कोट समाज जापानका प्रकाशन विभागका संयोजक र गल्कोट स्पोर्टस् क्लव टोकियोका महासचिव हुन्)

तपाईको प्रतिक्रिया