Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

देशको अस्थिर राजनीति र बेरोजगारीले गर्दा प्रायः युवा युवतीलाई आफ्नो भविष्य निर्धारण गर्न बिदेश जाने सपना अवश्य रहन्छ । त्यसमा पनि मलेसिया तथा खाडी क्षेत्रमा भन्दा पनि अति बिकसित देश रोजाईमा पर्नु स्वभाविक हो । अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोप तथा जापान जस्ता देशमा गएर प्रशस्त आम्दानी हुने काम गर्दै आफ्ना सपनाहरु पुरा गर्नु सबैको लक्ष्य रहेको हुन्छ । बिदेशिनुभन्दा पहिला सपनाको देश, जहाँ पुगिसकेपछि केहि दिनमै आ-आफ्ना सपनाहरु उल्टो दिशामा चलेको धेरैलाई अनुभव हुन थाल्छ ।
आउनुस्, अहिलेलाई त्यस्तै मध्यको एउटा सपनाको देश जापानमा आउने बिद्यार्थी भाइबहिनीको समस्या र समाधानको बारेमा थोरै चर्चा गरौं ।

बिद्यार्थीका समस्याहरु
पढ्ने भिषामा जापान आउने बिद्यार्थीहरुलाई १, २ दिनमै यहाँको स्कुल अथवा कलेजको पढाईसंगै पार्ट टाइम काम पनि गर्नुपर्ने बाध्यतासंग समायोजन हुन नसक्दा नैराश्यता पैदा हुन थाल्छ, जसको परिणामस्वरुप केही समय पछिनै अधिकांशमा धेरैथोरै डिप्रेसनको समस्या देखिन थाल्छ । पहिलो पटक परिवार तथा आफ्नो देशबाट टाढिनु, जापान आउनका लागि लागेको लागतको ऋणको बोझ पर्नु, अझ त्यो भन्दा जटिल त नेपालमा रहने परिवार पनि आफुमै निर्भर हुनुले पनि मानसिक तनाव सिर्जना गरीदिन्छ । त्यसको साथै पार्ट टाइम काम (हप्ताको २८ घण्टा मात्र गर्न पाईने) को आम्दानीले आफ्नो कोठाभाडा, खाना, यातायात तथा अन्य विविध खर्चका साथै स्कुल तथा कलेजको शुल्क पनि ब्यवस्थापन गर्न मुश्किल पर्ने अवस्थामा नेपालतिरको ऋणको व्याज तथा पारिवारिक खर्च पनि पठाउनुपर्ने बाध्यता सिर्जना भयो भने निश्चित रुपमा अवस्था जटिल हुँदै जान्छ । तत्काललाई यी समस्याको समाधानका रुपमा अधिकांशले यहाँको कानुनले तोकेको भन्दा बढी समय काम गर्ने गरेपनि कालान्तारमा त्यसको परिणाम भिषा नविकरण गर्दा देखिने गरेको छ ।
प्रविधिको क्षेत्रमा बिश्वकै उत्कृष्ट मानिएको देशमा जति नै लुकिछिपी काम गर्छु भने पनि यहाँको अध्यागमन बिभाग समक्ष सबै तथ्याङ्क पुग्छ नै । जसको फलस्वरुप नियम कानुनभन्दा बाहिर गएर काम गर्ने अनि त्यसको चित्तवुझ्दो जबाफ अध्यागमन बिभागलाई दिन नसकेपछि भिषा रद्द भई नेपाल फर्किनुको कुनै विकल्प रहदैन । भिषा रद्द गरिनुको अन्य कारणहरुमा स्कुल तथा कलेजमा उपस्थिति (हाँजिरी) कम हुनु, यहाँको कानुनले वर्जित गरेका कुराहरु जस्तै गाँजा, चरेश आदिमा सहभागी हुनु, रक्सीजन्य पदार्थहरु सेवन गरी साथीभाइ तथा जापानीहरुसंग झैंझगडा तथा कुटपिट गर्नु आदि पनि रहेका छन् ।
यी विविध समस्याले गर्दा जुन जोश र जाँगरका साथ बिद्यार्थी भाइबहिनीहरु जापान छिर्छन त्यो बिस्तारै नैराश्यतामा परिणत हुँदै जान्छ र अन्त्यमा जीवनको उर्जावान समय त्यसै खेर जाने संभावना रहन्छ ।

समस्या समाधानका उपायहरु
माथि प्रस्तुत गरिएका समस्याहरु यहाँ आउने बिद्यार्थीहरुमा सबैमा देखिने समस्या पक्कै होईनन्, यि समस्याहरु सिर्जित नहुन के के कुराहरुमा ध्यान दिनुपर्छ भन्ने कुराको अनभिज्ञताले गर्दा मात्र भएको हो । उल्लेखित समस्याहरुको समाधान के कसरी गर्न सकिन्छ बुँदागत रुपमा चर्चा गरौं ।

१. सर्बप्रथम त जापान आउनु अघि म जापान के का लागि आँउदै छु भन्ने उद्देश्य प्रष्ट हुनुपर्छ । सबैको उद्देश्य राम्रो शिक्षा लिएर आफुले चाहेजस्तो पैसा आर्जन गर्नु त छँदैछ तर त्यसका लागि जापानमा बिद्यार्थीहरुलाई के कस्तो सजिलो-अप्ठ्यारो छ, त्यो कुरा जापानमा रहनु हुने आफन्तजन तथा साथीभाइहरुसंग राम्रोसंग सल्लाह गरेर मात्र निर्णय गर्नुपर्ने हुन्छ । पैसा कमाउने ध्येयले खोलिएका कन्सल्ट्यान्सीहरु तथा दलालहरुको भ्रममा परेर तुरुन्तै निर्णय नगर्दा राम्रो हुन्छ ।

२. जापानमा पढ्न आउँदैगर्दा कति बर्षको लागि आउँदै हो त्यो समयसम्म नेपालमा पैसा पठाउन नपर्ने गरी परिवारसंग सरसल्लाह गरेर मात्र आउनुपर्छ । माथि उल्लेख गरे झैं पढाईको साथसाथै गरिने पार्ट टाइम कामले आफ्नो जिविकोपार्जन तथा पढाईका लागि आवश्यक रकम मात्र आर्जन गर्न सकिन्छ ।

३. जापान यस्तो देश हो जहाँ पैसा कमाउने असिम संभावनाहरु छन् । लगनशिल भएर अध्ययन गर्न सकियो भने अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरुमा सजिलै काम पाउन सकिन्छ । त्यसका लागि जापान भाषाको लेभल कम्तिमा पनि ’एन टु’ सम्म पास गर्ने गरी पढाईमा मिहेनत गर्न जरुरी छ ।

४. जापानीहरु अत्यन्तै नम्र र इमान्दार हुन्छन् । कलेजमा पढाउने गुरुहरुसंग लगातार सम्पर्कमा रहन सकियो भने उनिहरुकै सहयोगवाट पढाई सकिएपछि राम्रा राम्रा जागिरका अवसरहरु प्राप्त गर्न सकिन्छ । त्यसका लागि पढाईप्रतिको लगाव तथा कक्षामा उपस्थितिको पनि बिशेष ख्याल गर्नुपर्ने हुन्छ । कानुनले दिएको समयसीमा ननाघ्ने गरी मात्र काम गर्ने कुरालाई सदैव ख्याल गर्नुपर्ने हुन्छ ।

५. पार्ट टाइम काम, प्रतिघण्टा धेरै तलव पाईने ठाउँहरुमा गर्दा हप्ताको २८ घण्टा मात्रै गरे पनि मासिक तलव बढि हुने हुनाले त्यस्ता काम छनौट गर्दा राम्रो हुन्छ । बचेको समयलाई पढाईमै लगाउने गर्नाले मनभित्र अन्य कुरा खेल्न पाउँदैन र ज्ञान पनि बढ्दै जान्छ । बिद्यार्थीकालभरि आफु राम्रोसंग पढेर सोंचे जस्तो कम्पनीमा रोजगार पाएको कुरा मात्र कल्पना गरिरहृयो भने अरु मिहिनेत गर्नका लागि उर्जा मिल्छ ।

६. अधिकांश बिद्यार्थीहरु भाषा स्कुल पढिसकेपछि २ वर्षको प्राविधिक कलेज (सेन्मोन गाक्को) जाने गर्छन । जापानका अधिकांश कम्पनीहरुले युनिभर्सिटी (दाइगाकु) पास गरेका कामदार लिन चाहने हुँदा त्यस्ता प्राविधिक स्कुल भन्दा कलेजमा पढ्दा पछि बिभिन्न अवसरहरु प्राप्त हुन्छन् । कलेज पास गर्न ४ बर्ष लाग्ने हुँदा तत्काललाई समय बर्बाद भयो भन्ने सोच्ने नगरौं । कलेज पढ्ने बिद्यार्थीहरुका लागि विवाह भएको भए आफ्नो श्रीमान अथवा श्रीमतीलाई डिपेन्डेन्टमा ल्याउन सहज हुन्छ जसले गर्दा आर्थिक भार पनि कम हुन सक्छ ।

७. जापान सरकारले बिदेशी भएपनि जेहेन्दार बिद्यार्थीका लागि छात्रवृत्तिको पनि ब्यवस्था गरेको हुन्छ । कक्षामा नियमित उपस्थित हुने र पढाईमा जेहेन्दार बिद्यार्थीहरु यस्तो छात्रवृत्तिका लागि योग्य ठहरिन्छन् । त्यसैले हरवखत आफ्नो हाजिरी र पढाईप्रतिको लगावलाई ध्यानमा राख्ने गरियो भने निःशुल्क पढ्न पाउने संभावना रहन्छ ।

निचोड
अधिकांश बिद्यार्थीहरुले पढाई भन्दा पनि कामलाई प्राथमिकता दिईएको देखिन्छ । कमसेकम पढाई अवधिभर मोजमस्ती नगरेर किफायती जिविकोपर्जन गर्दै आफ्नो अध्ययनलाई ध्यान दिन सकियो भने त्यसपछिको जीवन सुखद र उज्वल हुने कुरा निश्चित छ ।
बिद्यार्थी भिषामा आएर जापानमा गौरव गर्न लायक प्रगति गरेका व्यक्तित्व धेरै छन् । समय मिलाएर त्यस्ता व्यक्तिलाई भेटी सुझाव सल्लाह लिने बानी गरौं । सफलता प्राप्त गर्न कुनै ठूलो भिजन अथवा क्षमता चाँहिदैन । साना साना कुराहरुले पनि जीवनको उच्चतम लक्ष्यमा पुग्न सकिन्छ । त्यसैले आफ्नो सोचलाई जहिले पनि सकारात्मक राख्ने गरौं ।

(लेखक घिमिरे जापानमा आइटी क्षेत्रसंग सम्बन्धित युवा ब्यवसायी हुन्)

तपाईको प्रतिक्रिया