कुरो कहाँबाट सुरु गरौ ? जति जति निर्वाचनको दिन नजिकै थियो त्यति नै बेलादेखि पार्टी एकता हुने र कम्युनिष्ट सरकार बन्ने र समाजबाद ल्याउने लहर चल्दै थियो, ओलीको नेतृत्वमा उखानटुक्का हाल्दै पूर्वपश्चिम रेल कुदाउने, पानीजहाज चल्ने, रोजगारीको ब्यवस्था हुने, शान्तिसुरक्षा र नागरिक हक अधिकार स्थापित हुने जस्ता अनेकौ आशा र भरोसा दिलाईयो, त्यही आस्था र बिश्वासमा बाँच्ने बानी परेका विवश हामी नेपाली आफ्नो मताधिकार सुम्पिदै नेतालाई अधिकार सम्पन्न गराउँदै भारी बहुमत दिलायौं, र के पी ओली सर्वशक्तिमान प्रधानमन्त्री बने र धेरैले आशा र भरोसा गरिएको मन्त्रिमण्डल बन्यो तर विडम्बना भनौं देशमा यति ठूलो राजनैतिक परिवर्तन भयो तर जनताले गरेका आशा, भरोसा र सपना त्यो पुरा हुन अझै केहि समय कुर्नुपर्ने देखियो । परिणाम आउन समय लाग्छहोला तर समय घर्किनु अघि नै केहि गरेर भए पनि परिवर्तनका संकेतहरु देखाउन अत्यन्त जरुरी छ ।
एकजना निर्मलाको हत्यारा सिंगो राज्यभन्दा पनि कति ठूलो र शक्तिशाली होला अहिलेसम्म पत्ता लगाउन त परै जाओस् भेउसम्म पनि पाउन सकिएको छैन । भलै, यसका धेरै आयामहरु जोडिएका होलान् तथापि कतिपय कमजोरी भएका छन् । विपक्षले राजनैतिक मुद्दा बनाएर सडकमा ल्याउनु त उसको राजनैतिक धर्म नै हो तर घटनाको यथार्थ छानबिन गरेर दोषीलाई कारबाही गर्नु राज्यको जिम्मेवारी होइन र ? त्यस्तै अर्को रहस्यमय ३३ किलो सुनकाण्ड माथि कतिपय उच्च ओहोदाका कर्मचारीहरुको संलग्नता र अदालतको फैसलालाई फेरि सर्बोच्चले आफै हेर्न फाइल मागिएको बिषय आफ्नै ठाउँमा सोचनीय छ । सर्बसाधारणले घरायसी प्रयोगका लागि सिमानापारिबाट ल्याएको नुनतेल भन्सारमा समातेर बहादुरी देखाईन्छ विमानस्थलमा, आफुले लगाएको गहनामा भन्सार लगाईन्छ । बिदेशबाट आफन्तका लागि भनेर ल्याईएका रक्सी समातिन्छ तर सबै अभियुक्त समातिंदा पनि गजबको कुरा त त्यतिका सुन कहाँ छ देखाउन सक्दैनन् । कारणहरु अथाह होलान् तर हिजोसम्म हाई हाई कमाएका अधिकृत नै आज कमाण्डमा छन् र पनि प्रहरी प्रशासन निरिह बनेको छ, राज्यसंयन्त्र अति चुकेको छ ।
कतिपय अवस्थामा प्रधानमन्त्री, मन्त्रीको र नेताहरुको अपरिपक्व अभिव्यक्ति र आचरण बिभिन्न अवस्थामा विवादित बन्ने गरेका छन् । जनसवालका बिषयहरुमा समयमा सहि संबोधन नहुँदा र हल्कारुपले लिईदा सरकार फितलो बन्ने गरेको छ । चाहे त्यो राष्ट्रपतिको लागि गाडी किन्ने बिषय होस् या प्रहरी तालिमकेन्द्र सारिने बिषय होस् । अझ रोचक कुरा त के भने महिनैपिच्छे बैंकमा आएको पैसा थाहा भएन भन्नेसम्म हास्यास्पद तर्क दिदा किन नहोस । हाम्रा नेताहरुको आम्दानीको स्रोत यति धेरै छ कि कहाँबाट कति पैसा आयो भन्नेसम्म बर्षौ थाहा हुँदैन । अथवा हालसालै सम्पन्न भएको धार्मिक कार्यक्रममा सरकार र उच्च तहको नेतागणको संलग्नता र सहभागिता किन नहोस्, चाहे केहि समय अघि वायुसेवा निगमले ल्याएको जहाजको बिषयमा नै किन नहोस् । प्रतिबेदन अनुसार ६ अर्ब भ्रष्टाचार भएको दाबी गरिएको छ । सरकारले होईन, भएको छैन, विरोधीले मुद्दा बनायो भनेर बसिरहने कि ? सत्यतथ्य बाहिर ल्याएर जवाफ दिने ? भएकै रहेछ भने कारवाही गरेर देखाउनुपर्यो, अझ गजबको कुरा सरकार अझै पनि स्पस्ट छैन कि त्यो जहाज भाडामा हो कि किनेको हो भनेर ! एउटा राज्यको सम्बन्धित निकायबाट जवाफदेहिता नहुनाले समय समयमा सरकारलाई विवादको घेरामा तानिएको हुन्छ । भलै यो बिगतको सरकारको पालादेखि अहिलेसम्म जोडिएको होला तर तथ्यसहित चित्तबुझदो जवाफ दिन नसक्नु आफ्नो ठाउँमा कति प्रश्न अनूत्तरित छ, जसका कारण सरकार थप आलोचित एवं आफैमा शंकास्पद र विवादित बन्न पुगेको छ ।
भनिन्छ नि, हरेक सफल व्यक्तिहरुको सफलताको रहस्य भनेको त्यसको पछाडिको टिम हुने गर्छ, हरेक सफलता र असफलता पछाडिको रहस्यको कडी नै त्यहि हो । अहिलेको प्रधानमन्त्री पनि २, २ ठाउँमा २ थरिको घेराबन्दीमा छन् । एउटा हो बालुवाटार घेरा जहाँ आफुहरुको चाहना र स्वार्थ भन्दा अरुको कुरा सुन्ने सुनाउने र बुझ्ने बुझाउन सक्दैनन् । अर्को सिंहदरबार त्यहाँका कर्मचारीतन्त्रको आफ्नै संसार छ । प्रधानमन्त्रीको सवालमा मात्र होईन प्रायः नेतागणको हालत उस्तै छ । आफ्नै छोराछोरी, भतिजोलाई पिए (स्वकिय सचिव), पार्टीभित्रको पनि अझ आफ्नै गुटको मान्छेलाई सल्लाहकार राखिन्छ । यसरी भर्ती गरिएका आसेपासेहरुको सुझबुझ र सुझाबको कमी देखिन्छ । तसर्थ बिहानदेखि बेलुकासम्म आफ्नो कार्यकर्ता र आसेपासेको घेराबाट बाहिरिएर बिकास निर्माण र नीति बनाउने राष्ट्रिय हितका बिषयहरुमा खुल्लारुपमा सम्बन्धित निकाय र बिज्ञहरुसंग छलफल गर्ने र आवश्यकताअनुसार विपक्षसंग पनि छलफल गर्ने संस्कारको बिकास गरिनुपर्दछ ।
सबैभन्दा ठूलो कुरा त १० बर्षको गृहयुद्धमा हजारौ सपुत सहादत भए, लाखौ घाइते भए धनजनको यति ठूलो क्षति भयो, देश र जनता यति प्रसव पीडाबाट गुज्रिएर बहुमत सहित आएको स्थायी सरकारले धेरैको आशा आकांक्षा अनुरुपको काम गर्न सकिरहेको छैन । सरकारी कार्यालयमा जे जस्तो सयन्त्रले काम गर्ने जुन परिपाटी छ, त्यसमा कुनै बदलाव आएको छैन । जति चुस्त दुरुस्त कार्यशैली र भ्रष्टाचाररहित हुनु पर्थ्यो त्यो हुन सकिरहेको छैन । हरेक तह तप्कामा भ्रष्टाचार ब्याप्त छ । प्रधानमन्त्रीले दिनदिनै म भ्रष्टाचार हुन दिन्न भनेर फलाक्दैमा निर्मूल हुने होईन । भर्खरै मात्र ट्रान्सपरेन्सी इन्टरनेशनलले निकालेको प्रतिबेदन -२०१८ अनुसार नेपाल भ्रष्टाचार गर्ने देशमा तेश्रो स्थानमा छ । नेपाल जस्ता बिकासोन्मुख राष्ट्रहरुको सुशासन ब्यबस्थामा १ सय ८० राष्ट्रमा गरिएको सर्बेक्षणमा नेपाल १ सय २४ औ स्थानमा छ । कुनै पनि देशको अवस्था कस्तो छ भनेर हेर्न धेरै कुराहरुमा निर्भर हुने गर्दछ । तथापि मुख्य पाटो भनेको अर्थ बजार पनि हो । अहिलेको शेयर बजारलाई हेर्ने हो भने सबै शेयर बजार एक तिहाईले घटेर गएको छ । बिकासको ठोस उदाहरण देखाईहाल्न सक्ने स्थिति छैन । हामी यस्तो हालतमा छौं, सारा नेपालीको भावनासंग जोडिएको धरहरा भूकम्मले ढलाएको बर्षौ भयो ठडाउन सकिएको छैन । प्रधानमन्त्री आफै गएर पटक पटक रिबन काट्छन् । क्रिकेट स्टेडियम बनाउन धुर्मुस सुन्तलीलाई जिम्मा लगाईन्छ । उनीहरुको जाँगरलाई सलाम गर्नैपर्छ, तर एउटा मात्र एनसिएल कम्पनीको शेयर १२ पटक बेचिँदा ६२ अर्ब राजस्व मिनाहा गरिन्छ ! यति पैसाले देशैभरि त्यस्ता २० वटा रंगशाला बन्न सक्छ ।
अर्कोतिर पूँजी राम्रोसंग चलायमान नहुंदा राष्ट्रबैंकमा र राष्ट्रिय ढुकुटीमा खरबौ रुपैयाँ फ्रिज भएर बसेको हुन्छ । राजा फालेर गणतन्त्र आयो, बहुमत सहितको कम्युनिष्ट सरकार बन्यो, कुर्चीमा बस्ने मान्छेहरु फेरियो तर पुरानो सँस्कार फाल्न सकेनन् । परम्परा फेरिएन, नयाँपन अनूभति गराउन सकेनन् । हिजो एउटा राजा थिए, आज जनताले सयौं महाराजाहरु ब्यहोरी रहेकाछन् । आफुखुशी सेवा सुबिधा लिने राजकीय शैली हटेको छैन झन् मौलाएको छ । बिकास गर्छु भन्दैमा उतिखेरै भैहाल्ने कुरा पनि होईन त्यसका केहि समय र सिमा हुन्छन त्यो जनताले पनि बुझेका छन् । एउटा सानो उदाहरण भर्खर मात्र निर्वाचित पाकिस्तानको प्रधानमन्त्रीले आफ्नो सरकारी निवासलाई रिसर्च सेन्टर बनाएर आफ्नो सानो घरमा बसे । सबै सुबिधायुक्त गाडी बेचेर पाएको रकम सरकारी ढुकुटीमा हाले । तसर्थ यो कालखण्डकै यति ठूलो बहुमत प्राप्त सरकारले बिपक्षीले गर्न दिएन, कर्मचारीले साथ दिएन भनेर वा अन्य कारणहरु देखाएर बसिरहने छुट छैन । गर्नुपर्ने धेरै छन् तर अहिले गर्न सकिने मुख्य २ वटा कुराबाट सुरुवात गर्नु जरुरी छ । पहिलो सरकारको कार्यशैलीमा परिवर्तन ल्याई चुस्तदुरुस्त बनाउनुपर्छ, अर्को, खुल्ला भ्रष्टाचारको न्यूनीकरण । त्यसैले यो सरकार कछुवाको गतिमा होईन भालेहात्तीसरी लम्किनु जरुरी छ । आजैबाट गर्न सकिने अर्को बिषय भनेको नेताहरुको आफ्नै आचरण र जीवनशैलीलाई केहि हदसम्म भए पनि सुधार गरेर देखाउने र केहि न केहि त परिवर्तनको संकेत देखिएको अनुभूति गराउनु मुख्य हो । कुरो सानो हो तर दिर्घकालिनरुपमा ठूलो असर पर्ने हुन्छ । परिवर्तन भन्ने कुरा सानो कुराले पनि ठूलो प्रभाव पार्दछ । आजको दिन कस्तो हुन्छ भनेर बिहानीले संकेत गरेझैं संकेतहरु देखिनु जरुरी छ । त्यसैले चरम बिकास देखिने बेला भएको छैन होला तर परिवर्तन हुंदै गएको ग्राफ बिस्तारै बढ्दै जाओस भन्ने हो ।***