नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी योजना अगाडि सारेको छ । यस अभियानलाई सफल बनाउन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी सुरज वैद्यलाई संयोजक तोकेको छ । यो आफैमा चुनौतीपूर्ण अभियान पनि हो । तथापि सबै क्षेत्रबाट यथोचित सहयोग रहने हो भने यो अभियानलाई सफल पार्न असंभव भने छैन ।
नेपाल जस्तो प्राकृतिक सौन्दर्यताले भरिपूर्ण र विविधतायुक्त विशेषता एवं सामाजिक संरचना भएको मुलुकको लागि पर्यटन सबैभन्दा बढि संभावना भएको क्षेत्र मानिन्छ, जुन बिश्वका अन्य मुलुकमा विरलै पाईन्छ । हामीसंग भएका तर कहिलै नासिएर र मासिएर नजाने केवल राम्रो ब्यवस्थापन गरिदिए पुग्ने यस्तो संभावनालाई नेपालले प्राथमिकताका साथ उपयोग गर्न सकेको छैन । त्यसमाथि पर्यटन एउटा यस्तो क्षेत्र हो जसले केवल अर्थतन्त्रसंग मात्र सरोकार राख्दैन । देशमा पर्यटकहरु आउँदासाथ रोजगारीका अवसर सिर्जना हुनुका साथै स्वदेशी उत्पादनहरुले बजार पाउँछन् भने नेपालका पर्यटकीय क्षेत्र तथा नेपाली कला, सँस्कृति तथा जीवनशैली बारे आफ्नो देशमा फर्केपछि उनीहरु आफैले प्रचार गरी अरु पर्यटक नेपाल पठाउन सहयोग गरिदिन्छन्, मात्र उनीहरुलाई खुशी बनाएर पठाउन सक्नुपरयो । यसो हुँदा नेपालले पर्यटन क्षेत्रबाट मनग्गे लाभ लिन सक्ने संभावना हुँदाहुँदै पनि लाभ लिन नसकिरहेको परिप्रेक्ष्यमा सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी विश्वका पर्यटकहरुलाई नेपाल भ्रमण गर्न आह्वान गरिएको छ । यसलाई सफल पार्न राज्य, सम्बन्धित क्षेत्रका विज्ञ, निजी क्षेत्र, नागरिक समाज, विदेशमा बस्ने नेपाली सबैको उत्तिकै दायित्व र भूमिका अपेक्षित छ ।
हवाईमार्ग भएर हाम्रो देशमा भित्रिने एउटा मात्र नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई गरिने ब्यवहार, यात्राको क्रममा सवारी साधन तथा पर्यटन ब्यवसायीहरुद्वारा हुने ब्यवहार पर्यटकमैत्री नभएको स्वयम नेपाल भ्रमणबाट फर्केका पर्यटकहरु बताउने गर्दछन् । नारामा ’अतिथि देवो भवः’ भनिएता पनि ब्यवहारमा त्यसो हुन नसक्नु अर्को चिन्ताको बिषय हो । अर्कोतिर पर्यटकहरुलाई फुथपाथमा विभिन्न बहानामा मगन्तेहरुले हैरानी पार्ने क्रियाकलाप पनि कुनै पनि मानेमा शोभनीय देखिदैंन । यस्ता क्रियाकलपाहरुलाई राज्यले कडाईका साथ रोक लगाउनुपर्दछ । नागरिक तहबाट पर्यटकहरुलाई गर्नुपर्ने स्वागत सत्कार, सम्मान, सेवाभाव र उनीहरुको रुचीअनुसार भ्रमणस्थलबारे जानकारी दिने कार्यमा सहजीकरण गरिनुपर्दछ ।
नेपाल भ्रमण वर्षलाई ध्यानमा राखी सरकारले हालैमात्र देशभरिबाट थप १ सय वटा पर्यटन गन्तब्यको पहिचान गरेको छ । ती स्थानहरुमा घुम्नका लागि विशेष ठाउँ, बसोबासका लागि राम्रो सुविधायुक्त होटल तथा निर्वाधरुपमा अवलोकन गर्न सकिने वातावरण भए नभएको सुक्ष्मरुपमा अध्ययन गरेर मात्र त्यस्ता ठाउँमा पर्यटक पठाउनुपर्दछ । घोषणा गरेकै भरमा ती स्थानहरुमा आवश्यक सुविधा नहुन पनि सक्छन् ।
पर्यटनलाई आर्थिक समृद्धिसंग जोडेर रोजगारीका अवसरहरु सिर्जना गर्न सरकारले घोषणा मात्र गरेर हुँदैन त्यसका लागि यातायात, सञ्चार, स्वास्थ्य जस्ता सेवा, सुविधालगायत अन्य आवश्यक आधारभुत संरचनाको यथोचित बन्दोबस्तीमा ध्यान दिनुपर्दछ । यसका साथै पर्यटनको क्षेत्रमा लोभलाग्दो प्रगति गरेका अन्य छिमेकी मुलुकहरुको अभ्यासलाई पनि नेपालले अनुसरण गर्न आवश्यक छ । पछिल्ला समयमा पर्यटनको माध्यमबाट मुलुकको अर्थतन्त्रमा उल्लेख्य प्रगति गरेका श्रीलंका, भियतनाम, म्यान्मा, थाइल्याण्ड, जापान जस्ता मुलुकहरुको अभ्यास र मोडललाई पनि नेपालले अध्ययन, मनन गर्न वाञ्छनीय छ ।
सन् २०१३ मा १ करोड पर्यटक भित्र्याएको जापानले सन् २०१६ मा २ करोड र सन् २०१८ मा आएर ३ करोड पर्यटक भित्र्याएको छ । यो वृद्धिदरलाई हेर्दा प्रतिवर्ष जापानले ५० लाख थप पर्यटक भित्र्याउन सफल देखिन्छ । सन् २०२० मा ओलम्पिकको आयोजना गर्न गईरहेको जापानले ४ करोड पर्यटक पुरयाउने लक्ष लिएको छ । उसो त जापान आउने आधा हिस्सा पर्यटकहरु चिनियाँ, कोरियन, ताईवान, हङकङबाट रहेको तथ्यहरुबाट पुष्टि हुन्छ । यस दृष्टान्तबाट नेपालले पनि सिक्न सकिने कुरो के हो भने अरबौ जनसंख्या रहेको चीन र भारत जस्ता भिमकाय दुई छिमेकी मुलुकबाट पर्यटक भित्र्याउन जे जति पहलकदमी गरिनुपर्ने हो त्यति भएको देखिदैंन । पर्यटन, ब्यापार, पारबहन जस्ता क्षेत्रमा दुई ठूला छिमेकी मुलुकको बिचमा हुनुको फाईदा लिन नसक्नाले नेपाल सँधै अरुको मुख ताक्नुपर्ने नियतिबाट गुज्रनु परिरहेको छ ।
नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा जापान नेपाल सिधा हवाई उडान सुरु हुने बिषयले अर्को आशा जगाएको छ । अबको तिब्र लक्ष्य भनेको जतिसक्दो धेरै जापानी पर्यटकहरु नेपाल घुम्न प्रेरित गरिनु हुनुपर्दछ । स्वभावैले जापानीहरु घुम्न मन पराउँछन् तर विडम्बना नेपाल बारे अनभिज्ञ जापानीहरुको संख्या ठूलो छ । नेपालको नामै नसुनेका जापानीहरु दिनदिनै प्रशस्त भेटिन्छन् । त्यसकारण जापानमा नेपाललाई चिनाउने खालका प्रभावकारी कार्यक्रमहरु निरन्तर गरिनुपर्ने देखिन्छ । नेपाल चिनाउने उद्देश्यले जापानमा रहेको नेपाली समुदायको पहलमा हालसम्म गर्दै आईरहेको गतिबिधिले मात्र अब पर्याप्त हुँदैन । पर्यटन प्रबर्द्धनको क्षेत्रमा राज्यको तर्फबाट देखिने गरी जापानमा गतिबिधि हुन छोडेको वर्षौ भईसक्यो । हामी नेपालीले आफ्नो देश जतिसुकै राम्रो छ भनेर कुर्लिए पनि उनीहरु सहजै बिश्वास गर्न सक्दैनन्, त्यसकारण नेपालको प्रचारप्रसारमा जापानी मित्रहरुको सहयोग र सहकार्य हुन सक्यो भने त्यो सयौं गुणा प्रभावकारी हुन सक्दछ । समय समयमा नेपाल बारे जानकारीमुलक सेमिनार, गोष्ठि, प्रदर्शनी गरिनुका साथै जापानी मिडियाहरुमा जापानी भाषामै नेपालको बारे जानकारीमुलक लेख तथा सामाग्री प्रकाशन गरिनु आवश्यक छ । यसका लागि जापानमा रहेको नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड, पर्यटन क्षेत्रका विज्ञ, यहाँका संघसंस्था, नेपाल वायुसेवा निगम, नेपाली ब्यवसायी, नेपाली मिडिया, नागरिक समाज सबै मिलेर सन् २०१९ को वर्षभरिको सामुहिक कार्ययोजना सहितको क्यालेण्डर तयार गरी जापानमा नेपाल भ्रमण वर्ष बारे आक्रामक ढंगले प्रचारप्रसारमा लाग्नुपर्ने देखिन्छ ।
सरकारी तथ्याङ्क अनुसार सन् २०१८ मा करीव १० लाख पर्यटक नेपाल भित्रिएको खबर बाहिर आएको भएता पनि यो तथ्याङ्क हवाईमार्ग र स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने पर्यटकको हुन सक्ने देखिएको छ । अबको एक वर्षपछि २० लाख पुरयाउने लक्ष त्यति सजिलो नभए पनि असंभव भने छैन तर यसका लागि सबै क्षेत्रका नेपालीहरु एकढिक्का भएर जुर्मुराएर उठ्न जरुरी छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रमा राखी सरकारले जापानमा ३ जना अवैतनिक पर्यटन दूतको खोजी भईरहेको समाचार बाहिर आईरहेका छन् । यस सम्बन्धमा विगतमा यो जिम्मेवारी पाएका ब्यक्तिहरुको कामको मुल्याङ्कन र समीक्षा हुनु जरुरी छ । जिम्मेवारी पाएका ती ब्यक्तिले राष्ट्रका लागि पर्यटनको क्षेत्रमा के कति योगदान गरे त्यसको लेखाजोखा गरिनुपर्दछ । नामका लागि मात्र पर्यटन दूतको पद सिर्जना गर्नुको कुनै अर्थ छैन । जापानीहरुबिच राम्रो सम्बन्ध स्थापना गर्न सक्ने, बिषयगत अध्ययन र अनुभव भएको, भाषामा दखलता हासिल गरेको, योग्यता र बौद्धिक क्षमतामार्फत जापानीहरुमा प्रभाव पार्न सक्ने टावर फिगर ब्यक्तिहरु भए मात्र जापानमा नेपालको चिनारी बढाएर जापानी पर्यटकलाई नेपाल पठाउन सकिन्छ ।
पर्यटन दूत जस्तो स्वयमसेवी र निस्वार्थ भावनाले राष्ट्रसेवामा योगदान दिने जिम्मेवारीलाई पनि भनसुन र राजनैतिक नियुक्ति दिईयो भने नेपाली समाज ध्रुविकरण हुने र अपेक्षित सबै क्षेत्रको सहयोग र सहकार्यमा सहजता नहुन पनि सक्छ । त्यसकारण नेपालको प्रचारप्रसारमा जापानीहरुको सहयोग लिनु सबैभन्दा बुद्धिमानी हुने भएकोले नेपाल बारे जानकार, नेपालको लागि योगदान गर्न कटिबद्ध लब्धप्रतिष्ठित जापानी नागरिक भएमा सकारात्मक परिणाम हासिल गर्न सहज हुने देखिन्छ ।
जापानका हरेक प्रिफेक्चरका साना ठूला हरेक सहरमा नेपालीहरुका रेष्टुरेन्ट तथा कुनै न कुनै ब्यवसाय छन् । यहाँसम्म कि नेपालको झण्डा टाँगिएका नेपाली रेष्टुरेन्ट नभएको कुनै ट्रेन स्टेशन संभवत अब बाँकी नहोला । ती सबै ठाउँहरुमा नेपालको चिनारीमुलक जापानी भाषामा लेखिएको प्रचार सामाग्री पुरयाएर वितरण गर्न लगाउने, महतपूर्ण सार्बजनिक ठाउँहरुमा नेपालको पर्यटकीय होडिङबोर्ड लगाउने, सवारी साधनहरुमा स्टिकर तथा लोगो राख्न पहल गर्ने, विभिन्न सहर केन्द्रित स्थानहरुमा नेपालको प्रचारप्रसार सम्बन्धि भेला, गोष्ठि, सेमिनारको आयोजना गर्ने, नेपालीहरुको जनघनत्व बढि भएको स्थानीय निकायसंग मिलेर प्रचारात्मक अभियानमा सहकार्य गर्न अपिल गर्ने लगायतका कार्यहरु गरी जापानका नेपालीहरुले पर्यटन वर्षलाई सघाउन सक्दछन् । यसका लागि जापानी तथा नेपाली समुदायका सबै क्षेत्रका मानिस बीच समन्वयकारी भूमिका निर्बाह गर्न सक्ने आइकन पर्सनालिटीलाई पर्यटनदूतको जिम्मेवारी दिईनु उपयुक्त देखिन्छ ।
यस सम्बन्धमा छिमेकी मुलुकहरुले अपनाएको मोडल पनि लिन सकिन्छ । श्रीलंकाले जापानमा आफ्नो देशको पर्यटन प्रबर्द्धनका लागि चर्चित जापानी उद्यमी महिला सातिको याहातालाई ब्राण्ड एम्बेसेडर नियुक्ति गरेको छ भने म्यान्म्यारले जापानी सेलिब्रेटी मोरिसाकी वीनलाई ब्राण्ड एम्बेसेडर नियुक्ति गरेको छ । आफ्नो देशको पर्यटन प्रबर्द्धनमा सघाउन सम्बन्धित देशकै लब्ध प्रतिष्ठित नागरिकलाई पर्यटन दूतकारुपमा नियुक्ति गरिएका यस्ता अरु थुप्रै उदाहरणहरु छन् । यस कार्यमा नेपाली दूतावास, एनआरएन, समाजका जिम्मेवार अगुवाहरुले हाम्रा मान्छे नभएर राम्रो मान्छे अर्थात सहि ब्यक्तिलाई सहि जिम्मेवारी दिलाउन सकारात्मक भूमिका निर्बाह हुने अपेक्षा गरिएको छ । ***