काठमाडाैं – शौच गर्न शौचालय गएकी एक अष्ट्रेलियन महिलालाई सर्पले टोकेको छ । ५९ वर्षिया हेलेन रिचार्ड्स ब्रिसबेनमा रहेका छिमेकीको घर घुम्नको लागि गएकी थिइन् । छिमेकीको घरमा रहेको शौचालयको कोमोड भित्रै लुकेर बसेको सर्पले रिचार्ड्सलाई टोकेको हो ।
५ फिट लामो विषरहित अजिंगरले उनलाई टोकेको जनाइएको छ । सामान्य चोट लागेकी उनको अवस्था यतिबेला समान्य छ । कमोड भित्रको सर्पले टोकेपछि रिचार्ड्स अत्तालिएकी थिइन्। त्यसपछि तत्काल उद्धारको लागि खबर गरिएको थियो । उद्धारकर्ता जाम्सिन जेनलीले सर्पलाई कमोडबाट निकालेका थिए । उनले गर्मी महिनामा सर्पहरु शौचालयमा फेलापर्नु सामान्य भएको बताए ।
गर्मीका कारण सर्पहरु चिसो स्थानको खोजीमा रहने उनको भनाइ थियो । यतिबेला अष्ट्रेलियामा ४० डिग्रीसम्मको गर्मी छ । जसका कारण अष्ट्रेलियामा बिहिबार ९० वटा जंगली घोडा मरेको जनाइएको छ । पानीमा रहेका माछाहरु समेत गर्मीका कारण मरेका खबरहरु सार्वजनिक भएका छन् । –एजेन्सी