Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – ‘होम टिम’ पोखरा पल्टन र चितवन राइनोजबीच पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । अाज भएको एलिमिनेटरमा चितवनले काठमाडौँलाई पराजित गर्दै पोखरासँग फाइनल भेट पक्का गरेको हो ।

लो क्सकोरिङ म्याचमा ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । लिग चरणमा सुरुको दुंई खेल हार्दै खराब सुरुवात गरेपनि त्यसपछि लगातार चार खेल जित्दै चितवन उपाधि नजिक पुगेको हो । शरद भेषावकरको कप्तानीमा रहेको पोखरा लिग चरणको अंकतालिकामा शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको छ । फाइनल पुग्ने दोस्रो टोली बन्ने होडमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँबीच एलिमिनेटर खेल भएको हो । लिग चरणमा चितवन दोस्रो तथा काठमाडौँ तेस्रो भएको थियो ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो । यस प्रतियोगितामा कुनै टिमले दिएको यो सबैभन्दा कम लक्ष्य हो। यसअघि काठमाडौँ पोखरा पल्टन विरुद्ध १०३ रनमा अलआउट भएको थियो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । जयकिसन कोल्सावालाले २५ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् । ४.३ ओभरमा ३० रन हुँदा ४ विकेट गुमाएको काठमाडौँका लागि ज्ञानेन्द्र र कोल्सावालाले ३८ रनको साझेदारी गरे। पाँचौ विकेटका लागि भएको उक्त साझेदारी नै काठमाडौँको लागि उच्च साझेदारी बन्यो ।

खेलको दोस्रो ओभरमै ३ विकेट लिएका चितवनका बलर सन्नी पटेलले किफायती बलिङ गरे । उनले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै स्मीथ पटेल र भुवन कार्कीले २-२ विकेट लिए । ९५ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले सुरुमै २ विकेट लिएपनि ओपनर हरिशंकर शाह र स्मीथ पटेलले इनिङ्स सम्हालेका थिए । काठमाडौँका सुशन भारीले अनिल शाह (१) कप्तान पारस खड्का (२) लाई बउट गरेपछि चितवन ३.१ ओभरमा १४-२ को स्थितिमा थियो । ओपनर हरीशंकर शाहले २२ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा २६ रन बनाए । अब चितवन र पोखराबीच मंगलवार फाइनल खेल हुनेछ ।

तपाईको प्रतिक्रिया