Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

चिकेन अचार
सामग्री :  आधा किलो चिकेन, २ चम्चा अदुवा र लसुनको पेस्ट, १ चम्चा रातो खुर्सानी, आधा ठूलो चम्चा बेसार, १ कप सस्र्युंको तेल, आधा चम्चा हिङ, १ कप काटेको प्याज, आधा चम्चा सुकमेल पाउडर, तीन पिस तेजपत्ता, तीन १ ठूलो चम्चा मेथी दाना र जौको रस एकचौथाइ कप ।

विधि :  चिकेन पिसलाई लसुन र अदुवाको पेस्ट, रातो खुर्सानी, बेसारमा राम्रोसँग मोलेर आधा घन्टाजति राख्ने । एउटा प्यानमा तेल तताउने । अब मोलेको चिकेन राखेर फ्राई गर्ने । चिकेन निकालेपछि त्यही तेलमा प्याज र हिङ हालेर ब्राउन हुने गरी भुट्ने । त्यसमाथि मेथी दाना, तेजपत्ता, सुकुमेल, जौको रस हालेर उमाल्ने । फ्राई गरेको चिकेन यसैमा खन्याउने । चार मिनेटजति पकाएपछि चिकेन अचार तयार हुन्छ ।

टाउको फ्राई
सामग्री : खसीको टाउको २ सय ग्राम, जिरा धुलो, अदुवाको पेस्ट, लसुनको पेस्ट, बेसार र धुलो खुर्सानी आधा–आधा चम्चा, भेडेखुर्सानी एक टुक्रा काटेको, प्याज, गोलभेँडा र हरियो धनियाँ काटेको ठूलो एक–एक चम्चा, तोरीको तेल चार चम्चा, नुन स्वादअनुसार र मिट मसला आधा चम्चा ।

विधि : टाउको सफा गरेर उसिन्ने र स–साना पिस तयार गर्ने । एउटा भाँडामा तोरीको तेल तताएर जिरा, खुर्सानी फुराउने । अब अदुवा र लसुन पेस्ट फ्राई गर्ने । त्यसपछि सबै सामग्री हालेर भुट्ने । स्वादअनुसार नुन र खुर्सानी हालेपछि माथिबाट हरियो धनियाँ छर्किने ।

ह्याकुलो डामेको
सामग्री : खसीको ह्याकुलो २ सय ग्राम, नुन स्वादअनुसार, तोरीको तेल २० मिलिलिटर, टिमुरको धुलो २ ग्राम, खुर्सानीको धुलो स्वादअनुसार ।
विधि : खसीको ह्याकुलो सफा गरेर उसिन्ने । चेप्टो–लाम्चो आकारमा पिस बनाउने । प्यानमा तोरीको तेल तताएर पिस ह्याकुलोलाई डाम्ने । नुन, टिमुर र खुर्सानीको धुलो हालेर केहीबेर पकाएपछि तात्तातै खान मीठो हुन्छ ।

टाउको साँधेको
सामग्री : खसीको टाउको २ सय ग्राम, केराउ १० ग्राम, प्याज १० ग्राम, हरियो लसुन १० ग्राम, भुटेको जिराको धुलो १० ग्राम, गाजर १० ग्राम, टिमुरको धुलो २ पिन्च, खुर्सानीको धुलो ५ ग्राम, अदुवा र लसुनको पेस्ट १० ग्राम, चाट मसला ५ ग्राम, हरियो खुर्सानी ५ ग्राम, गोलभेँडा काटेको १० ग्राम, नुन तथा कागतीको रस स्वादअनुसार ।

विधि : खसीको टाउकोलाई राम्रोसँग सफा गरेर उसिन्ने । पाकेपछि केहीबेर चिसो बनाउने र पिस तयार गर्ने । त्यसमा सबै आवश्यक सामग्री हालेर मोल्ने । अब तेल तताएर मेथी र बेसारले झान्ने ।

चिकेन डामेको
सामग्री : हड्डी नभएको चिकेन २ सय ग्राम, मैदा ५ ग्राम, अन्डाको सेतो भाग एउटा, अदुवा र लसुनको पेस्ट ५ ग्राम, तेल ५ मिलिलिटर, बटर १ चम्चा, नुन स्वादअनुसार, उसिनेको भेज आइटम (सिमी, काउली, गाँजरलगायत सिजनेवल)१ सय ग्राम ।

विधि : मैदा र अन्डाको सेतो भाग, अदुवा–लसुनको पेस्ट तथा नुनलाई राम्रोसँग फेट्ने । हड्डी नभएको चिकेनमा मोल्ने । एउटा सानो फ्राइ प्यानमा १ चम्चा घिउ राखेर तताउने । अब मोलेर तयार पारेको चिकने हाल्ने । २ मिनेटजति पकाएपछि अर्कोतर्फ फर्काउने । हल्का ब्राउन कलर आएपछि निकालेर सिजनेबल भेट आइटमसँग खान सकिन्छ ।

मटन सेकुवा
सामग्री :  मटन १ केजी, जिराको धुलो १० ग्राम, धनियाँ पाउडर १० ग्राम, खुर्सानीको धुलो १० ग्राम, बेसार १ चम्चा, गरम मसला १० ग्राम, अदुवा र लसुनको पेस्ट ४० ग्राम, कागतीको रस १० मिलिलिटर, तोरीको तेल २० मिलिलिटर, दही १० ग्राम, नुन स्वादअनुसार ।

विधि : एउटा भाँडोमा मटन र सबै सामग्री राखेर मोल्ने । ४ घन्टाजति फ्रिजमा राखिदिने । त्यसपछि निकालेर झिरमा उनेर या ग्रिल गरेर या कोइलाको आगोमा पोलेर या फ्राइ गरेर वा ओभनमा पकाएर सेकुवा तयार गर्न सकिन्छ ।

मटन छोयला
सामग्री : मटन एक किलो (बासो नभएको, मनपर्ने भए छाला राख्न पनि हुन्छ), रातो खुर्सानी ५० पग्राम, लसुन ५० ग्राम, अदुवाको पेस्ट ५० ग्राम, जिरा एक चम्चा, धनियाँ एक चम्चा, मरिच आधा चम्चा, टिमुरको धुलो आवश्यकताअनुसार, नुन/बेसार इच्छाअनुसार, हरियो लसुन आवश्यकताअनुसार, तोरीको तेल ५० ग्राम ।

विधि: मासु सफा गरेर चेप्टो तथा लामो पिस तयार गर्ने र नुन बेसारमा राम्रोसँग मोल्ने । यसरी मोलेको मासुलाई आधा घन्टासम्म त्यसै रहन दिने । अब गोल, कोइला या ग्यासमा एउटा जाली राखेर मोलेर तयार पारिएको मासुलाई राम्रोसँग सेक्ने । सेकेको मासुमा उपलब्ध सबै सामग्री जस्तै : धुलो रातो खुर्सानी, लसुन, अदुवा, जिरा, धनिया, मरिच, टिमुर । यी सामाग्रीसँगै तेल पनि तताएर राख्ने । सबै सामाग्री मिसाएको मासुलाई मज्जासँग मोल्ने । सबै मसलाजन्य सामग्री मासुमा राम्रोसँग लाग्न पाओस् । इच्छा भए थोरै कागती पनि राख्न सकिन्छ । बफ, चिकेन, हाँसलगायतको छोयला बनाउने तरिका पनि यही हो ।

चिकन डन्डी
सामग्री : कुखुराको पखेटा १० पिस, एक चियाचम्चा अजिनोमोटो, आधा चियाचम्चा मरिचको धुलो, दुईवटा अन्डा, १ सय ग्राम मैदा, ५० ग्राम कर्नफ्लोर, दुई ठूलो चम्चा सुकेको रातो खुर्सानीको धुलो, तार्नका लागि आवश्यकताअनुसार तेल, नुन स्वादअनुसार ।

विधि : पखेटाको तल्लो भागलाई त्यसमा भएको सबै मासु एकैतिर तान्न सकिने गरी काट्ने, अब मैदा, अन्डा, कर्नफ्लोर, अजिनोमोटो तथा मरिच हालेर राम्रोसँग मोल्ने । यसरी मोलेर राखेको पखेटालाई ३० मिनेटसम्म राम्रोसँग भिज्न दिने । अब तेलमा हल्का खैरो हुने गरी तार्ने र ससमा चोबेर खान सकिन्छ ।

खसीको पक्कु
सामग्री : खसीको मासु ५०० ग्राम, गरम मसला एक चम्चा, धनिया र जिराको धुलो एक–एक चम्चा, तोरीको तेल आधा कप, ल्वाङ–सुकमेलको धुलो एक–एक चम्चा, रातो खुर्सानीको धुलो एक चम्चा, तेजपत्ता एक पिस, दालचिनी केही टुक्रा, नुन आवश्यकताअनुसार ।

विधि : सबैभन्दा पहिले मासुमा नुन, तोरीको तेल, गरम मसला, बेसार, जिर धनियाँ पाउडर, खुर्सानीको धुलो राख्ने र राम्रोसंग मुछ्ने । छोपेर पाँच घन्टाजति छाडिदिने । अब एउटा भाँडोमा तोरीको तेल तताएर तेजपत्ता, सुकमेल, दालचिनी फुराउने । यसमा मुछेर तयारी अवस्थामा रहेको मासु राखेर राम्रोसँग चलाउने । बिर्कोलो छोपेर १५ मिनेटसम्म पकाउने । एकपटक चलाएर फेरि १५ मिनेटजति पकाउने । अब राम्रोसँग चलाएर ल्वाङ, सुकमेलको धुलो राखिदिने ।

तपाईको प्रतिक्रिया