काठमाडाैं – अमेरिकादेखि भारत-दिल्लीसम्मको फ्लाइटका क्रममा एयर इन्डिया विमानमा एक अनौठो घटना घटेको छ । बिहीबार एएल १०२ विमान उडिरहेका बेला मादक पदार्थको सेवन गरेर मात्तिएका एक व्यक्तिले महिला यात्रुको सिटमा पिसाब फेरिदिएका छन् ।
ती महिला यात्रुकी छोरी इन्द्राणी गोसले शुक्रबार साँझ यस विषय सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेपछि घटना बाहिर आएको हो । यस घटना यतिबेला भारतीय नागरिक उड्ययन मन्त्रालयसम्म पुगेको छ । घटनाबारे छानविन गर्न माग गरिएको छ । गोसको ट्वीटमा लेखिएको छ, ‘मेरी आमाले अमेरिकादेखि दिल्लीको फ्लाइटमा अचम्मलाग्दो र लाजमर्दो घटना सामना गर्नुपर्यो । एक मात्तिएका व्यक्तिले लापारवाही ढंगले आमाको सिटमा पेन्ट खोल्दै पिसाव गरिदिए । यसबारे तत्काल अनुसन्धान हुनुपर्यो।’
त्यस घटनापश्चात एयर इन्डियाका कर्मचारीले सिटमात्र परिवर्तन गरिदिएको उनको आरोप छ । उनले आमाले ह्वील चियरबाट त्यो सबै देखेको बताइन् । पिसाब गरेपछि ती व्यक्ति त्यहाँबाट भागेका थिए। उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराज तथा उड्ययन मन्त्री सुरेश प्रभुलाई समेत त्यस ट्वीट ट्याग गरेकी छन् । भारतीय उड्ययन मन्त्रालयले यस विषयमा एयर इन्डियालाई अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।