Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

अगस्त २६, नेपाल फेस्टिवलको दोस्रो दिन । दिनको १२–१ बजेको टन्टलापुर घाम । पसिनाले निथ्रुक्क एक जापानी बज्यै । नेपालको बारेमा निकै चासो लिएर सुनिरहेकी छिन् । एकजना गालामा नेपालको झण्डाको चित्र कोरेकी नेपाली (वहिनी भनौं) वुद्ध नेपालमा जन्मिएका हुन भनेर जापानीमा भनिरहेकी छिन ।

केही दिन पहिले टोकियोमा शान्ति र्याली भएको थियो । ‘हेइवा वा नेपारुकारा सेकाई ए…’ (शान्ति नेपालदेखि संसारभर) यस्तै के मुख्य नारा थियो । हुन पनि हो वुद्ध नेपालमै जन्मेका हुन र उनले संसारभर शान्तिको सन्देश फैलाए यसमा कुनै दुई मत छैन । विशेष गरी वुद्धको सन्देशमा हत्या हिंसा, मारकाट, चोरी लगायतका अपराध नगर्न र त्यस्ता सोच मनमा नपाल्न भनिएको छ ।

केही समय अगाडि एक जापानी नागरिकले अन्तरवार्ताको बेला भनेका थिए -‘जापान आएका नेपालीले देश फेरे, भेष फेरे तर बानी फेर्न सकेनन् ।’

‘त्यसैगरी सिन्जुकु क्षेत्रमा बसोबास गर्ने विदेशीहरुको एक वैठकमा एक कोरियन मित्रले सबैको माझ मलाई सोधे–‘नेपारुजिन ओसाके ओ नोन्दे योकु केन्का सुरु ने ?’ (नेपालीहरु रक्सी खाएर निकै झगडा गर्छन है?)

यी माथिका प्रसंग कोट्याउँदै जाँदा अस्ती मात्रै टोकियो सिनओकुवोमा भएको नेपाली–नेपाली बीचको झगडाले नेपाली यस्तै छन् र यस्तै गर्छन् भन्ने कुरा प्रस्ट पार्छ । विशेष त जापानी नागरिकले अन्तरवार्तामा भनेका कुरा साँच्चै होइन भन्ने ठाउँ नै रहेन । कोरियन नागरिकले नेपालीहरु रक्सी खाएर खुब झगडा गर्छन है भन्ने प्रश्नमा मैले होइन भनेर दिएको उत्तर झुटो सावित भएको छ । त्यो भिडियोले नै प्रष्ट पारेको छ, हामीले देश फेर्यौ, भेष फेर्यौ तर बानी फेर्न सकेनौं । अनि भिडियो हेरेर ती कोरियन नागरिकले मप्रतिको सोचाई के बनाएका होलान आफैलाई अप्ठेरो महसुस भईरहेको छ । उनलाई मैले ढाँटें । तैपनि ठीकै छ यसरी आफ्नै भाइ–भाइको टाउकेमा कुर्सी बजार्न भन्दा ढाँटन नै सही । नेपाल र नेपालीका लागि एकदुई कुरा ढाँटन सकुँला तर आफ्नै दाइभाइको टाउकोमा कुर्सी बजार्न सक्दिन । त्यसमाथि पनि मैले समग्र नेपालीको लागि ढाँटेको हुनाले कुनै पश्चाताप छैन पनि ।

भिडियो भाईरल नै बन्यो । हामी अझै भाइरल बनाउन लागिपरेका छौं । शेयर गरिरहेका छौं । साथीहरुलाई पठाइरहेका छौं । झगडा भएको दिनको भोलिपल्ट विहानै कसैले पठाएको भिडियो हेरेर मैले एकछिन केही सोच्नै सकिन । यसलाई शेयर गर्नपर्छ अथवा कसैलाई पठाउनुपर्छ भन्ने पनि लागेन । केवल हेरें मात्र । हामी नेपाली-नेपाली बीचको झगडा भएकोले यसलाई व्यापक बनाउनुपर्छ भन्ने भएन । अरु यसरी लडेका छन् भनेर राखेर म होइन भने पनि समग्रमा हामी नेपाली नै हौं । भिडियो खिच्नेले पनि ‘म लडेको होइन झगडा गर्ने अरु हुन’ भनेर खिचेको भएपनि ज–जसले यो भिडियो हेर्छन उनीहरुले झगडा गर्नेलाई भन्दा पहिले हामी नेपालीलाई चिन्छन् । भिडियोमा बोलेको कुरा सबैले नबुझे पनि कुर्सी बजारेका गतिविधी आँखा देख्ने सबैले बुझ्छन । कम्मर कसेर कुर्सी बजार्नेहरुलाई रामे–च्यामे भनेर जापानीले चिन्लान नचिन्लान तर नेपाली भनेर अवश्य चिन्छन् । यो अर्थमा के पनि भन्न सकिन्छ भने हामी आफै, हामी नेपाली यस्ता छौं भनेर व्यापक प्रचारप्रसार गरिरहेका छौं ।
जापानी र अन्य विदेशीकोे कुरा छाडौं, अमेरिका बस्ने मेरा एक हितैसीले ‘तिमीहरुको जापानमा त यस्तो हुँदो रहेछ नि है’ भन्दै भिडियोको लिंक पठाए । शुरुमा मैले केही प्रतिक्रिया दिनै सकिन । धेरै बेर सोचेर लेखें–‘हामी नेपाली’ । रक्सी खाने अरु नै, झगडा गर्ने पनि अरु नै अनि मैले यस्ता कुराहरुको स्पष्टिकरण दिनुपर्ने किन ? यसको उत्तर सहजै निस्कन्छ, म एक नेपाली हुँ र म जापानमा बस्छु ।

समग्रमा हामीले नेपाल यस्तो, नेपाल उस्तो भनेर जति नै मौखिक प्रसंशा गरेर जापानी नागरिकहरुलाई अथवा अन्य देशका नागरिकहरुलाई भने पनि यस्ता गतिविधी गर्न छाड्दैनौं भने फेरिनेवाला केही छैन । हिजो वुद्ध नेपालमा जन्मिएका हुन त्यो सत्य हाे र वुद्धका देशमा जन्मिएका हामी वुद्ध बन्न सकेनौं यो पनि सत्य नै भइरहेको छ । वर्तमानको हाम्रो गतिविधीले ती कुराहरु ओझेल पर्छन । झगडाले कुनै पनि कुराको समाधान निस्कँदैन भन्ने कुरा नेपालमा भएका द्वन्दलाई हेरे पुग्छ । युद्धलाई हेरे पुग्छ । विश्वयुद्धपछाडि जापानले गरेको प्रगति हेरे पुग्छ । भलै, चित्त नबुझेका कुराहरु राख्न पाइन्छ । तर सीधै दाइभाइको टाउकोमा कुर्सी बजारेर फाइदा कसलाई हुन्छ ? वुद्धले यो पनि भनेका छन्–‘अरुको स्थानमा अथवा अवस्थामा आफूलाई पनि उभ्याएर हेर’ । टाउकोमा कुर्सीले ठोकिदिनुभएको तपाइँ उसको ठाउँमा उभिएर हेर्नुहोस्, मनन गर्नुहोस्  । उसको जस्तै तपाइँको टाउकोमा कुर्सी बज्रिएको भए के हुन्थ्यो ? तपाइँ घाइते हुनुभएको भए के हुन्थ्यो ? अाफूलाई उसको ठाउँमा उभ्याएर हेरे पुग्छ । विदेशको ठाउँ । कसैको ज्यानै गएको भए के हुन्थ्यो ? घाइतेको काम, घरव्यवहार । घरदेशमा भएका बुढा वावाआमा, लाला-वालाको अवस्था के होला ? एकैछिनको उत्तेजनामा आएर तोडफोड, हानाहान गरेर त्यसबाट हुने लाभ के त ? कहिले कसो हारेर पनि जितिन्छ भनेर सोच्न सकिन्न  ? विद्यार्थी जीवनमा ५ वर्ष जापानी इजाकायामा काम गरें । चेत हराउने गरी रक्सी पिएका जापानीहरु कहिल्यै झगडा गर्न पाखुरा सुर्किएको देखिन । हामी नेपाली दुइ गिलास लिएपछि किन पाखुरा देखाउँछौ ?
जापानमा नेपालीहरुको इमेज दिनदिनै खराब हुँदै गइरहेको देखिन्छ । अपराधिक घटनाहरुमा संलग्नता पनि बढिरहेको समाचारहरु आइरहेका छन् । यसलाई यहाँका संघसंस्था, सम्बन्धित निकाय, जिम्मेवार व्यक्तिहरुले गर्नुपर्ने कुरा त छँदैछ त्यो भन्दा पहिले हरेक व्यक्तिले म को हुँ ? किन जापान आएँ ? के-का लागि अाएँ र  मैले गर्नुपर्ने के ? भनेर घोत्लिएर सोच्न ढिला गरियो भने अझ ठूलो क्षति वोहोर्न पर्ने अवस्था त्यति टाढा छैन भन्दा फरक नपर्ला । अस्तु । ***

तपाईको प्रतिक्रिया