काठमाडौं – इंग्लिस फुटबल क्लब लिभरपुलले ब्राजिलका गोलकिपर एलिसनलाई क्लबमा भित्र्याएको छ । एलिसनलाई इटालियन क्लब रोमाबाट ६ वर्षका लागि अनुबन्ध गरिएको हो । उनी अहिलेसम्मकै सबैभन्दा धेरै पारिश्रमिक पाउने गोलकिपर पनि बनेका छन् ।
६ वर्षका लागि अनुबन्ध भएका एलिसनलाई कति रकम खर्च गरेको भन्नेबारे लिभरपुलले केही नबताए पनि रोमा ले एसिलनलाई ६ करोड ६८ लाख अमेरिकी डलरमा लिभरपुलले अनुबन्ध गरेको बताएको छ । २५ एलिसन २ बर्षदेखि रोमाबाट खेल्दै आएका थिए ।
लिभरपुलको सदस्य हुन पाउनु आफ्नो लागि ठूलो उपलब्धि भएको एलिसनले प्रतिक्रिया दिएका छन् ।
गोलकिपरका लागि बढी रकम खर्च गर्ने कीर्तिमान अहिलेसम्म इंग्ल्याण्डमा म्यान्चेष्टर सिटीको थियो । जहाँ उसले बेन्फिकाका एडर्सनलाई ४० मिलियन यूरोमा अघिल्लो वर्ष भित्र्याएको थियो ।
यो कीर्तिमान तोड्दै लिभरपुलले झण्डै दोब्बर मूल्यमा एलिसनलाई अनुबन्ध गर्न लागेको हो । च्याम्पियन्स लिगको फाइनल र प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पनि लोरिस कारियसले गरेको गम्भीर गल्तिका कारण लिभरपुलका प्रशिक्षक जर्जेन क्लोप गोलकिपर परिवर्तन गर्न बाध्य भएका हुन् ।
भर्खरै सम्पन्न विश्वकपमा पाँच खेल खेलेका एलिसनले तीन खेलमा क्लिन सिट राखे पनि क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।