बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

जापान र जापानीको प्रतिष्ठाको प्रतीक माउण्ट फुजी (जसलाई जापानी भाषामा ’फुजीसान’ भनिन्छ) आरोहण गर्ने धोको केही वर्ष पहिलेको गर्मी छु्ट्टीमा पुरा गरेको थिएँ । फुजीसान चढ्ने योजनामा रहनुभएका नेपाली मित्रहरूलाई अग्रिम जानकारीका लागि यो यात्रा संस्मरण लेख मार्फत मेरो अनुभव बाँड्न चाहन्छु ।

विश्व सम्पदा सूचीमा रहेको फुजीसान ठूलो टोली बनाई रमाईलो गर्दै चढ्ने योजना अनुसार इच्छुक केही साथीहरूसँग छलफल गरेर चार महिला र सात पुरूष गरी जम्मा एघार जनाको टोली बनाइयो, जसमा उमेरका हिसावले २० वर्षदेखि ४० वर्ष सम्मका सहभागी हुने भयौं । टोकियोबाट फुजीसानसम्म रेल वा बसबाट जान सकिन्छ । रेलबाट जाँदा दुई पटक रेल बदल्नुपर्ने र अन्तमा ५० मिनेटजति बस चढ्नुपर्ने हुन्छ । बसबाट जाने हो भने सिन्ज्युकु भन्ने ठाउँबाट सिधा फुजीसानको फेदसम्म जान सकिन्छ, जहाँबाट आरोहण शुरु हुन्छ । प्रत्येक घण्टा जस्तो छुट्ने बसको भाडा जापानी येन २ हजार ६ सय पर्छ र यात्रा समय साढे दुई घण्टा जति लाग्छ । यात्रा समय थोरै लाग्ने र टिकट पनि इन्टरनेटको प्रयोग गरी घरबाटै काट्न सकिने हुनाले हामी बसबाट जाने भयौं ।हामी २०१३ अगस्त १६ तारिख शुक्रवार दिउसो ४ बजेर ५० मिनेटको बस चढ्यौं । एक्सप्रेस वे मा बस हुँइकिन सुरु गरेको एकघण्टा जतिमा पहाडी भूभागमा पुगिन्छ, जहाँबाट फुजीसानको शिखर देखिन थाल्छ । तर त्यसबेला भने सेतो बादलका थुप्राले यत्रतत्र ढाकेको हुनाले फुजीसान बसबाट प्रस्ट देखिएन । बादलको पत्र पातलो भएको कुनैकुनै बेला झल्याक झुलुक मात्र हर्न पाइयो । यस्तैमा बेलुकाको ७ बजेर १५ मिनेटमा बसको गन्तब्य फुजीसान पाँचौ स्टेशन आइपुग्छ । हामी बसबाट ओर्लदा झिसमिस साँझ परेको हुन्छ । टोकियोमा ३५ डिग्री सेल्सियसको वाफले गलाएको शरीरले २ हजार ३ सय मिटर उचाईको त्यो ठाउँमा निकै जाडो महशुस हुँदोरहेछ । त्यहाँ केही रेस्टुरेन्टहरु छन्, तर हाम्रो टोलीका सबै साथीलाई मनपर्ने खालको खानेकुरा त्यहाँ नपाइन पनि सक्ने हुनाले हामीले घरैबाट आफूलाई मनपर्ने परिकार बोकेर लगेका थियौं । हामी बसस्टपको अगाडि रहेको ठूलो चोकको एउटा बेञ्चमा बसेर खानेकुरा आपसमा बाँडेर खायौं । खाना पश्चात हामी पहाड चढ्ने लुगा र जुत्ता फेर्‍यौं । पहाड चढ्नलाई लौरोको आवश्यकता पर्दछ । हामी एकहजार येन पर्ने काठका एकएक वटा लौरा पनि किन्यौं ।

८ बजेबाट फुजीसान चढ्न थाल्यौं । त्यहाँबाट फुजीसानको टुप्पासम्म हिडेर पुगिने बाटोलाई योशिदा ट्रेल भनिन्छ । पाँच मिनेट जति समथर बाटो हिडेपछि अगाडिको बाटो अलिअलि ओरालो हुंदै जान्छ । पहाड चढ्न हिडेका हामी ओरालो बाटो हिड्दा कतै बाटो बिराएको त होइन भन्ने शंका लाग्दछ । हाम्रो कौतुहलता हटाउनका लागि मैले हाम्रो पछिपछि आउँदै गरेका जापानीलाई सोधी हामी सही बाटो नै हिड्दै गरेको यकिन गर्‍यौं । कुराकानीको दौरानमा ती जापानीले हामीलाई कुन देशबाट आएको भनि सोधे र गौरवताका साथ नेपालबाट भनि उत्तर दियौं । पहाड उक्लनु र ओर्लनु हामी नेपालीको दिनचर्या हो भन्ने बुझेका ती जापानीले ’तपाईहरूलाई त यो फुजीसान चढ्नु अति सजिलो होला है’ भनि प्रशंसाको भाकामा प्रश्न गर्दछन् । ’सजिलो हुनुपर्ने हो, तर हामी सबै पहिलो पटक फुजीसान चढ्दै गरेको हुनाले कतिको सजिलो हुन्छ अहिले भन्न गाह्रो छ’ – मैले सरल उत्तर दिएँ । ’नेपालमा त फुजीसान भन्दा दुई गुणा अग्ला माउण्टेन धेरै छन् है’ – उनीहरू कुरा अगाडि बढाउछन् । हो, साँच्चै भन्ने हो भने हामी नेपालीले दिने परिभाषामा फुजीसान माउन्टेन होइन, यो त एउटा ओका हो (जापानी भाषामा थुम्कोलाई ओका भनिन्छ) मेरो यस्तो अनपेक्षित जवाफ सुनेर ती जापानीहरू अकमक्क पर्छन् । यस्तै गरी केहीबेरको कुराकानी पछि शुभकामना आदानप्रदान गरी उनीहरू हामी भन्दा अगाडि बढ्छन् । जापानीका अगाडि यसरी देखाएको फूर्ति अनुरूप नाक जोगाउनका लागि भएपनि हाम्रो टोली चाँडोचाँडो अगाडि बढ्दछ ।

पाँच-दश मिनेट जति हिडेपछि त्यो ओरालो बाटो सकिन्छ र मन्द उकालो ढुंगेबाटो सुरु हुन्छ । रूखहरूको माझको त्यो बाटो झण्डै ३० मिनेट हिडेपछि हामी छैठौ स्टेशनमा पुग्छौ, जहाँको उचाई २ हजार ३ सय ९० मिटर छ । Mt. Fuji Safety Guidance Center रहेको छैठौ स्टेशनमा प्रहरीले एउटा पम्फ्लेट दिन्छन् जसमा बाटोको बारेमा र उकालो चढ्दा ख्याल राख्नुपर्ने कुराहरू लेखिएको हुन्छ । स-साना दुई तीन छाप्रा भएको त्यस ठाउँमा ट्वाइलेटको पनि ब्यवस्था छ । जापानको जहाँसुकै पनि ट्वाइलेट प्रयोग गर्दा पैसा तिर्नुपर्दैन, तर फुजीसान चढ्ने बाटोका ट्वाइलेट प्रयोग गर्दा २ सय येन ढोका नजिकको डिब्बामा राखिदिनु भनि लेखिएको हुन्छ । तर फुजीसानको शिखरमा रहेको ट्वाइलेटमा (जहाँ ३ सय येन तिर्नुपर्छ) बाहेक अरू ठाउँकोमा पैसा लिनका लागि मान्छे राखिएको हुँदैन ।

छैठौं स्टेशनबाट साँच्चिकैको उकालो सुरुहुन्छ । कतै स-साना ढुंगा रोडा भएको बलौटे बाटो त कतै कडा चट्टान माथिको ठाडो उकालो बाटो एकघण्टा जति चढ्दा सातौ स्टेशन (२ हजार ७ सय मिटर उचाईको ठाउँ) आइपुग्छ । सातौं स्टेशनदेखि अलि बढि नै जाडो हुनथाल्छ । हामी जाँदा मौसम राम्रो भएर होला, चिसो सिरेटो भने चलेको थिएन । सातौ स्टेशनमा पनि केही छाप्रा छन्, जहाँ होटेल जस्तो सुत्ने र खाने सेवा उपलब्ध हुन्छ । छाप्राका अगाडि लहरै बेञ्चहरू राखिएका हुन्छन् । थकित मुद्राका यात्रुहरू ती बेञ्चमा थचक्क बसेर लामो सास फेर्दै थकाई मार्ने गर्दछन् । तर ती बेञ्चमा बसेर ठूलो स्वरले कुरा गर्न मिल्दैन । छाप्राभित्र सुतिरहेका अरू यात्रुको निन्द्रा बिग्रन सक्छ । केही सय येन तिरेर खानेकुरा अर्डर गर्ने हो भने छाप्रा भित्रको न्यानो ठाउँमा पनि बस्न पाईन्छ । पिउनको लागि पानी, चिया वा जुसहरू चिसो वा तातो दुबै किन्न पाईन्छन् । अन्यत्र १ सय ५० येनमा पाइने पानी वा सफ्ट ड्रिंक ५ सय मिलीलिटरको बोतललाई त्यहाँ ३ सय येन पर्छ । अघि तलको पाँचौ स्टेशनमा २ सय येन परेको थियो भने शिखरमा पुगेपछि ४ सय येन पर्दोरहेछ । काठका लौरामा तातो फलामले त्यस ठाउँको उचाई उल्लेख गरिएको छाप लगाउने सेवा पनि ती छाप्राहरूले उपलब्ध गराउँदा रहेछन् । त्यस्तो छापको लागि २ सय येन तिर्नुपर्दो रहेछ ।

सातौं स्टेशनबाट आठौ स्टेशनसम्म (३ हजार १ सय मिटरको उचाई) सम्म पुग्न चट्टान फुटाएर बनाएको सागुँरो बाटो (कतैकतै त एकजना मात्र हिड्न मिल्ने) करिव १ सय मिनेट जति ठाडो उकालो चढ्नुपर्दछ । बाटोको दुबै छेउमा फलामे सांगो वा डोरीले बार लगाइएको छ । ती डोरीको सहारा लिदै उकालो चढ्दा अलिअलि भएपनि सजिलो हुन्छ । सातौ र आठौ स्टेशन बिचमा ४, ५ ठाउँमा बस्ने र खाने सेवा उपलब्ध गराउने स-साना छाप्राहरू छन् ।

आठौं स्टेशनबाट ३० मिनेट जति उकालो लागेपछि केही कम भिरालो ढुंगा मिसिएको बलौटे बाटो आउँछ, जुन चढ्न तुलनात्मक रुपमा सजिलो छ । तर यो सजिलो बाटो केही बेरमै टुंगिएर फेरि ढुंगे ठाडो उकालो सुरु हुन्छ । त्यो उकालो एक घण्टा जति चढेपछि (Original  8th Station ३ हजार ४ सय मिटरको उचाईको ठाउँमा) पुगिन्छ । त्यहाँ पनि दुईवटा छाप्राहरू छन् ।

त्यहाँबाट करिब ८० मिनेट जति उकालो चढेपछि फुजीसानको शिखरमा पुगिन्छ । बिचमा ३ हजार ६ सय मिटरको उचाईको ठाउँलाई नवौ स्टेशन भनिदोंरहेछ, तर त्यहाँ त्यस्तो कुनै भौतिक संरचना नभएर एउटा सानो पिलर मात्र छ । शिखर पुग्ने बेलामा जापानी मन्दिर (जिन्जा) को गेट आउँछ, जहाँ उभिएर एक गाइडले शिखर आईपुगेको सूचना दिन्छन् । यात्रुहरू आफ्नो गन्तव्य आईपुगेको सूचनाले दंग पर्दछन् ।
बिहानको चार बज्नुभन्दा केही अगाडि नै हाम्रो टोली शिखरमा पुगेका हुन्छौं । बाटोमा हाम्रो एघार जनाको टोलीसंगै हिड्ने प्रयास गरे पनि सयौं सहयात्रीको भिडमा हामी बेलाबेला बिछोडिन पुग्दथ्यौं । बिचबिचमा आउने छाप्रामा कुरेर बसी हामी पुनः एकिकृत हुन्थ्यौं । तर नवौ स्टेशनको आसपास पुग्नुभन्दा केही तलबाटै छाप्राहरू सकिन्छन् । त्यो एक डेढ घण्टाको बाटोमा हाम्रो टोली छिन्नभिन्न हुन पुग्यो । पाँच, छ घण्टा उकालो हिडेर पनि नथाकेका केही मित्रहरू चाँडो चाँडो बाटो काट्न सफल हुन्थे भने बाँकी साथीहरू अति थकित हुनबाट बच्नका लागि बिस्तारै हिडेका थिए । सूर्योदय हुनुभन्दा पहिले शिखरमा पुग्न हामीसँग प्रशस्त समय बाँकी भएको हुनाले हामी धेरै थकित हुनबाट बच्नका लागि आफु खुशीको रफ्तारमा हिडेका थियौं ।

फुजीसानको शिखर फराकिलो (परिधी ४ किलोमिटरको) छ, जसको बिचको भागमा लाम्चो आकारको गहिरो खाल्डो छ । हामी उत्तर-पूर्वी मोहोडाबाट शिखरमा पुगेका थियौं । पुग्नेबित्तिकैको भागमा छाप्राहरूमा पसल छन् जहाँ खाना खान वा सोभिनियर किन्न पाईन्छ । हामी ४:४५ बजेतिर हुने सूर्योदय हेर्नलाई पसल अगाडि प्राङ्गणको छेउ भागमा बस्छौं । सूर्योदय भन्दा पहिलेको रातो आकाशतिर सबैको ध्यान केन्द्रित हु्न्छ । क्यामेरामा सूर्योदयका रमणीय दृष्य कैद गर्न सबै आतुर हुन्छौं । तर त्यस दिन बादल खलनायक भएर निस्कन्छ । क्षितिजबाट माथि उदाउँदै गरेको सूर्यलाई पातलो रिबन जस्तो रातो बादलले छेकिदिन्छ । हामीले ५, १० मिनेटको थप प्रतिक्षा पश्चात मात्र सूर्यको दर्शन गर्न पाउछौं ।

शिखरमा बिचको गहिरोको खाल्डो भन्दा बाहेक बरपरको भूभाग झण्डै समथर छ । त्यहाँ यात्रुहरू लहरै पदयात्रा गरिरेहका हुन्छन् । दक्षिणपूर्व र उत्तरपश्चिमको भागमा केही अग्ला थुम्का छन् । उत्तरपश्चिमको थुम्कोमा वायुमण्डली र मौसम सम्बन्धि अध्ययनका लागि प्रयोग गरिने उपकरण जडान गरिएका रहेछन् ।

फुजीसानमा तीन प्रकारका चट्टान देखिन्छन्, अलिअलि रातो रंगका र काला रंगका हलुका आग्नेय चट्टान (ज्वालामुखी हुँदा निस्केको म्याग्माबाट बनेका) र सेता गह्रुँगो खालको गहकिला ढुंगा (हाम्रा नेपालका पहाडमा पाइने जस्ता) । तिनै राता र काला रंगका हलुका ढुंगा प्रयोग गरेर बनाईएका गाह्राहरूले त्यहाँका छाप्राहरू बारिएका हुन्छन् । छाप्राका लागि मात्र होइन, अन्य ठाउँमा पनि ३, ४ फिट अग्ला पर्खालहरू बनाइएका छन्, शायद हावा छेक्नका लागि होला । ति पर्खाल निक्कै दह्रा रहेछन्, किनभने बर्षको छ महिनाभन्दा बढि कैयौं मिटर अग्लो हिँउले पुरिंदा भत्केर भताभुंग भइसक्नु पर्ने हो ।

हामी शिखरमा रहँदा निकै चिसो हावा चलेको थियो । ५ डिग्री सेल्सियस जति तापक्रम थियो होला, तर चिसो सिरेटोले होला हामीलाई निकै नै जाडो महशुस भएको थियो । हावा रोक्नका लागि होला धेरैले पानी नपर्दाको क्षणमा पनि रेनकोट लगाएका थिए, हामीले पनि त्यसै गर्‍यौं ।

सूर्योदयको दृष्यपान पश्चात हामी खानपिन तिर लाग्छौं । एउटा छाप्रा भित्र पसी बस्ने ठाउँ खोजी ९ सय येनको रामेन (नुडल), ४ सय येनको तातो कफी, चिया आदि अर्डर गर्छौ । पसलेले खानकुरा एकैछिनमा ल्याउँछन् र पैसा लिएर जान्छन् । हावा छेकिएको हुनाले होला छाप्रामा बाहिरको तुलनामा निकै न्यानो थियो । तर बाहिर मान्छेको भिडले गर्दा उडेको धुलो छाप्रा भित्र रुमल्लिएको थियो । हामीले तात्तातो खाजा खाई शरीरलाई केही तताएर शिखरको वरपर घुम्न थाल्छौ । ३ सय येन तिरेर ट्वाइलेट प्रयोग गर्न पाइने ठाउँमा लाइनमा पनि बस्छौं । शिखरबाट देखिने तलतिरको दृष्यको फोटा र भिडियो खिच्छौ । संगै लगेको नेपालको सानो झण्डा बोकेर जापानको शिरमा नेपालको झण्डा फहराउँदै फोटा पनि खिच्छौं । यसरी नै हामीले वरपरको दृष्य हेर्दै, फोटा खिच्दै, रमाइलो गर्दै शिखरमा तीनघण्टा जति बिताउँछौ र सात बजेतिर ओरालो झर्न थाल्छौं ।फुजीसान चढ्ने र ओर्लने बाटा फरक-फरक छन् । चढ्नका लागि ठाडो उकालो ढुंगे बाटो छ भने ओर्लनका लागि अलि कम ओरालो साना ढुंगा र नरम माटो मिसिएको बलौटे बाटो छ, जहाँ बुलड्रोजर गुड्न सक्दोरहेछ । बुलड्रोजरले नै फुजीसानको शिखरसम्म सामानहरू ओसारपसार गर्दोरहेछ । भुइको माटो

(ज्वालामुखी फुट्दा निस्केको खरानी होला) निकै नरम छ । नरम माटो र ढुंगाका टुक्राको मिश्रण भएको ओरालो बाटो हिड्न त्यति सजिलो हुँदैनरहेछ, कुनबेला चिप्लिएर लडिने हो थाहा नै हुंदैन । धेरै पटक पैतला मुनिका ढुंगाहरू गुडेर अगाडि-पछाडि हुत्तिइँदो रहेछ । त्यस्तो बेलामा लौरो टेकेर ओर्लदा केहीमात्र भएपनि लडिनबाट जोगिदोंरहेछ । तर पनि चढ्दाखेरिको जस्तो ठूलाठूला फड्को मार्नुपर्ने चट्टान माथिको अप्ठेरो बाटोबाट ओर्लनुभन्दा माटो र ढुंगा मिसिएको मन्द भिरालो बाटोबाट ओर्लन पाउनुलाई सरल नै मान्नुपर्दछ । धुलेबाटोमा मान्छेको ताँती हिड्दा धुलो त उड्ने नै भयो । केहीबेर ओरालो हिडेपछि कम्मर मुनिको भाग त धुलोले ढाकिने नै भो, टाउकोको कपाल पनि कालोबाट बिस्तारै खैरो हुँदै जाँदोरहेछ । यस्तोबेला अति आवश्यक पर्ने कुरा हो नाक र मुख छोप्ने मास्क । हामीले मास्क लैजान बिर्सेछौ, रूमालर तौलियाले काम चलाउनुपर्‍यो ।

ओर्लने बाटोमा उक्लने बाटोमा जस्तो छाप्रा छैनन् । शिखरबाट ओरालो लागेपछि करिब एकघण्टामा ओरिजिनल आठौ स्टेशन आइपुगिन्छ । त्यहाँ एउटा छाप्रो छ र ट्वाइलेटको सुबिधा पनि छ । हामी त्यो छाप्रोको छेउमा केहीक्षण बसेर थकाई मार्र्छौ । त्यहाँबाट ओरालो लागेपछि सातौं स्टेशन नआउञ्जेलसम्म झण्डै एक घण्टाको बाटोमा छाप्राहरू छैनन् । त्यसैले ओर्लने बेलामा आवश्यक पर्ने पिउने पानी आदि कुराहरू शिखरतिरै किनेर झर्दा राम्रो हुन्छ ।

धुलेबाटो कहिले दायाँ र कहिले बायाँ मोडिदै एकनासले ओरालो बाटो झर्दा जुत्ताभित्र खुट्टा खुबै खादिन्छन् । त्यसैले पहाड चढ्दा लाउने जुत्ता चाँहि पहाड चढ्नकै लागि बनाइएको ट्रेकिंग शू नै लगाउनु राम्रो हुन्छ । साधारण जुत्ता लगाएर ओरालो हिड्दा खुट्टा खादिने, ठेला, फोका उठ्ने, अगाडि हुँत्तिदा गोलिगाँठा तिर दखल पर्ने र बाहिरबाट ढुंगाले अलिअलि ठोकिदा पनि खुट्टामा घाउ लाग्न सक्छ ।

हाम्रो एघार जनाको टोली बिभिन्न प्रकारका रमाइला गफ गर्दै ओरालो झर्‍यौं । बेला बेला पालैपालो चिप्लेर थचारिन्छौ पनि । तर पनि हाम्रो साहसमा कमी आउँदैन । यस्तै गरी हाँसखेल गर्दा गर्दै सातौ स्टेशन आईपुग्छ । ओर्लदाखेरिको सातौ स्टेशन चढ्दाखेरिको सातौ स्टेशनभन्दा निकै दक्षिणतिर अलि कम उचाईमा छ । त्यहाँ हामी केहीबेर आराम गर्छौ । त्यहीबाट फोन गरेर फर्कने बसको टिकट पनि बूक गर्छौ।

सातौ स्टेशनबाट छैठौं स्टेशनतिर जान हामी केहीबेर ओरालो लाग्छौ । ओरालो सकिएपछि तेर्सो धुलेबाटो शुरुहुन्छ । बाटा वरपर स-साना रूखबिरुबा देखिन थाल्छन् । सातौ स्टेशनभन्दा माथि भने कतैकतै मात्र सेता फूल फुलेका स-साना पोथ्रा देखिन्छन्, आठौ स्टेशन भन्दा माथि भने कुनै बोटबिरुवा हुँदैनन् । तेर्सो बाटोबाट फुजीसानको शिखरतिर हर्दा हिजो बेलुका चढेको बाटो देखिन्छ । चढ्ने बाटाका ती सानासाना छाप्रा पनि देखिन्छन् । हामी त्यहाँबाट चढ्ने बाटोको फोटो खिच्छौ । अघिल्लो राती चढ्दाखेरी फोटो खिच्न पाईएको थिएन ।तेर्सो धुलेबाटो ३० मिनेट जति हिडेपछि छैठों स्टेशन आईपुग्छ, जहाँ चढ्ने र ओर्लने बाटा मिल्दछन् । अर्थात छैठौ स्टेशन र पाँचौ स्टेशन बिचको चढ्ने र ओर्लने बाटो एउटै छ । छैठो स्टेशनबाट केहीबेर मन्द ओरालो झरेर, तेर्सो बाटो ३० मिनेट जति हिड्दा पाँचौ स्टेशन आईपुग्छ । हाम्रो टोली बिहानको ११ बज्नु अगाडि नै पाँचौ स्टेशन आइपुग्छ ।

पाँचौ स्टशनमा पुगेर मजाले सरसफाई गरेर मात्र बस चढ्ने योजना बनाएका थियौ । तर पाँचौ स्टेशन गाडिबाट पुगिने ठाउँ भएपनि त्यहाँ पानी पर्याप्त रहेनछ । ट्वाइलेटमा हातमुख धुनका लागि पानी चलाउन मनाही गरिएको रहेछ । हामीले यसो कपडाले पुछेर आफुलाई सफा बनायौ । केही खाना खाएर बस कुर्दाको बाँकी समयमा त्यहाँका पसल घुमी ओमिआगे (उपहार) किन्यौ र स्थानीय जिञ्जा (मन्दिर) को दर्शन पनि गर्‍यौं । त्यसपछि टोकियो फर्कनका लागि हामी दिउँसो तीन बजे छुट्ने बस चढ्छौ । थाकेको हुनाले केहीबेर मै निदाइदोरहेछ । एक्प्रेस वेमा ट्राफिक जाम हुनाले साढे दुई घण्टाको बाटो पार गर्न साढे तीन घण्टा लगाएर बस बेलुका ६:३० बजेतिर सिन्ज्युकु आईपुग्छ । सिन्ज्युकुको रेल स्टेशनबाट रेल समातेर हामी आ-आफ्नो गन्तब्यतिर लाग्छौ ।

निश्कर्षः जापानको पर्यायवाचीको रूपमा रहेको फुजीसान सगरमाथाको देशबाट आएर जापानमा बसोबास गर्दै आएका नेपालीले एक पटक आरोहण गर्नैपर्ने ठाँउ हो । जापानी साथीहरूसंग जापानी भूगोल, सँस्कृति र परम्पराका बारेमा कुराकानी गर्नका लागि फुजीसान चढेको अनुभवले ठूलो मद्दत गर्दछ । हिमालै हिमालको देशबाट आएका हामी नेपालीले फुजीसान पनि अझै चढेको छैन भन्दा जापानीले कहिलेकाही हाम्रो राष्ट्रियता मै शंका गर्न सक्दछन् । यस्ता शंका निवारणका लागि भए पनि हामीले फुजीसान चढ्नैपर्छ जस्तो लाग्दछ ।

फुजीसान आरोहण यात्रा कठिन, जटिल, दुःखदायी, सजिलो, आनन्दमयी जस्तो सोच्यो त्यस्तै हुनसक्छ । रातीको निन्द्रा त्यागेर अप्ठ्यारो बाटो चढ्नु भनेको शारीरिक रूपमा सजिलो त पक्कै हुँदैन । अपर्याप्त पूर्व तयारी र सहयोगी साथीका अभावले यो असजिलोपनलाई झन् बढाइ दिनसक्छ । तर केही महिना पहिलेदेखि तयारी गरेर सहयोगी र रमाइला साथीहरूसँग हाँसखेल गर्दै चढ्ने हो भने फुजीसान चढ्ने काम सजिलो र आनन्दमयी हुने छ । तयारीका लागि निम्न कुरामा ध्यान दिनु आवश्यक छ ।

शारीरिक तयारीः नियमित शारीरिक व्यायाम नगरी फुजीसान चढ्ने हो भने गोडा र जिउ साह्रै दुख्न सक्छ । त्यसैले करिव एक महिना पहिलेदेखि दैनिक व्यायाम जस्तो केही किलोमिटर दौडने, योगा गर्ने, स्विमीङ गर्ने, व्याडमिन्टन वा फूटबल खेल्ने गर्नुपर्छ । यसरी शारीरिक व्यायाम गरेको शरीरले फुजीसान आरोहणको गर्दाको १ हजार ५ सय मिटरको उचाई र ६ किलोमिटर जतिको दूरी सजिलै पार गर्न सकिन्छ ।

मानसिक तयारी : उच्च मनोबल लिएर चढ्नुपर्छ । जापानको सबैभन्दा अग्लो, विश्व साँस्कृतिक सम्पदाका रूपमा मान्यता पाएको, हजारौ वर्ष पहिलेको ज्वालामुखीले निर्माण गरेको अनौठो पर्वतको आरोहण गर्न पाउँदा गौरवान्तित हुने मानसिकता बोकेर चढ्नुपर्छ ।चढ्ने रप्तार : चढ्दा खेरी आफ्नो क्षमताले भ्याउने गतिमा मात्र चढ्नुपर्छ । हतार हतार चढ्दा तुरून्तै थाकिन्छ । कम उकालोमा २०, ३० मिनेट हिडेपछि १० मिनेटजतिको विश्राम गर्नु आवश्यक हुन्छ । ठाडो उकालो भएको ठाँउमा भने हेरेर १० मिनेट हिडेपछि २, ३ मिनेट विश्राम गर्नु राम्रो हुन्छ । यदि श्वास बढेजस्तो महसुस हुन थालेमा हात फैलाई चौडा छाती बनाई लामो श्वास लिदै विस्तारै छोड्नुपर्दछ । उचाईमा अक्सिजनको मात्रा फितलो भएको ठाउँमा हाम्रो शरीरले पर्याप्त अक्सिजन लिन सक्ने क्षमता विकास गर्न केही समय लाग्न सक्छ । विस्तारैको रफ्तारमा हिड्दा पनि पाँचौं स्टेशनबाट शिखरसम्म पुग्न ७, ८ घण्टा लाग्छ । अरू एक घण्टा जति समय हुने हो भने आठौ स्टेशनतिर केहीबेर छाप्रा भित्रको न्यानो ठाउँमा आराम गर्न पनि सकिन्छ । अरू केही घण्टा समय हुँदा छाप्रामा केहीबेर सुत्न पनि सकिन्छ । ओर्लदाको बाटो कम भिरालो भएकोले त्यति धेरै विश्राम आवश्यक पर्दैन, तर चढ्दा खेरि नै धेरै थकित भईसकेको खण्डमा भने छोटोछोटो समयमा आराम गर्नुपर्ने पनि हुनसक्छ । शिखरबाट विस्तारै ओर्लेर १ घण्टाजतिमा आठौ स्टेशन आई १०, २० मिनेट आराम गर्नु राम्रो हुन्छ । त्यहाँबाट फेरी बिस्तारै ओर्लेर १ घण्टाजतिमा सातौ स्टेशन आई पुगिन्छ, १०-२० मिनेटको विश्राम गर्दा हुन्छ । सातौ स्टेशनबाट भने बाटो तेर्सो तेर्सो हुनाले एक घण्टामा छैठौ स्टेशनमा आराम नगरीकन पाँचौ स्टेशनसम्म पुगिन्छ । यसरी बिचमा दुई पटक आराम गरेर पनि शिखरदेखि बस चढ्ने ठाउँ सम्म आईपुग्नका लागि चार घण्टा जति लाग्दछ ।

सामाग्रीको तयारी : स्ट्रेकिङ जुत्ता, धुलोबाट बच्न मुखमा लगाउने मास्क, रातीका लागि टर्च लाइट, छरिता लुगा, पानी, जाडो तथा हावा छेक्ने रेनकोट र विण्डशिल्ड ज्याकेट (चुचुरोमा तापक्रम ० दशमलव ५ डिग्री जति हुन्छ) ।

तपाईको प्रतिक्रिया