शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – कोलम्बियालाई २-१ गोलले हराएर विश्वकपमा उत्कृष्ट सुरुवात गरेको एसियाली राष्ट्र जापानको दोस्रो चरण प्रवेशको निर्णय आज राती ७ बजेर ४५ मिनेटमा पोल्यान्डविरूद्ध हुने खेलले टुँगो लाग्ने छ । एसियाका ४ देश साउदी अरब, इरान, अस्ट्रेलिया र दक्षिण कोरिया पहिलो चरणबाटै बाहिरिसकेको अवस्थामा जापानको सम्भावनाले यो क्षेत्रका फुटबल समर्थकलाई केही उत्साही तुल्याएको छ ।

जापानले सेनेगलविरूद्धको खेललाई पनि २-२ गोलको बराबरीमा राखेको थियो । जापान अहिले समूह ‘एच’ मा ४ अंकका साथ शीर्षस्थानमा छ । सेनेगलको पनि ४ अंक छ । तर, अफ्रिकी राष्ट्र गोलअन्तरका कारण जापानभन्दा पछाडि छ । यही समूहमा ३ अंक बोकेको कोलम्बियाको पनि छनोटको आशा जीवितै छ । पोल्यान्ड भने यसअघि नै दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले आजको खेलमा पोल्यान्डलाई घाइते बाघको रुपमा हेरिएको छ । जापानले बराबरी मात्र खेलेमा सहजै दोस्रो चरण प्रवेश पाउने छ ।

पोल्यान्ड र जापानबीच यसअघि दुई मैत्रिपूर्ण खेल भएका थिए, जसमा जापान दुवै पल्ट विजयी भएको छ । जापानले १९९६ मा हङकङमा भएको पहिलो भिडन्तमा पोल्यान्डलाई ५-० ले पराजित गरेको थियो । अर्को खेल २००२ मा भएको थियो । यसमा पनि जापान २-० ले विजयी भएको थियो । पोल्यान्ड सन् २००२ को विश्वकपमा एक पल्ट मात्र एसियाली मुलुक दक्षिण कोरियासँग भिडेको थियो । जसमा पोलिस टोली २-० ले पराजित भयो । जापान २०१० देखि दोस्रो चरणमा प्रवेश गरेको छैन ।

आज पोल्यान्डलाई पराजित गरेको खण्डमा जापान सन् २००२ को विश्वकपको खेललाई दोहर्याउन सफल हुनेछ । आफ्नै आयोजनामा भएको २००२ को विश्वकपमा एक खेलमा पनि पराजय नभोगेको जापान दोस्रो चरण प्रवेश गरेको थियो । यसपालि पनि ‘सामुराई टोली’ पुरानो इतिहास दोहर्याउने अभियानमा छ । सेनेगलविरूद्ध गोल गरेका काइसुके होन्डा सन् २०१०, २०१४ र २०१८ मा गरि तीन विश्वकपमा गोल गर्ने पहिलो जापानी खेलाडी बनेका थिए । उनी विश्वकपमा जापानले हानेको १० गोलमध्ये ७ मा प्रत्यक्ष संलग्न थिए । उनले ४ गोल गर्नुको साथै ३ वटा बल गोलका लागि मिलाइदिएका थिए ।

उनको उपस्थितिमा आज लेस्टर सिटीका ओकाजाकी ‘प्लेइङ सेट’ मा पर्ने सम्भावना बलियो छ । उनलाई यसअघि दुई खेलमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गराइएको थियो । अनुभवी गोलकिपर इजी कावासिमाको स्थानमा २३ वर्षीय कोउसिके नाकामुरालाई उतार्ने सम्भावना बलियो छ । कावासिमाले अघिल्लो दुई खेलमा खराब ‘जजमेन्ट’ का कारण गोल खाएका थिए । पोल्यान्डले पनि अनुभवी डिफेन्डर कामिल जिलिकलाई मैदानमा उतार्ने सम्भावना छ । उनी कोलम्बियाविरूद्धको खेलमा काँधको चोट बोक्न बाध्य थिए ।

यही समूहको अर्को खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाले दोस्रो चरण प्रवेश अभियानलाई सार्थक बनाउन सेनेगललाई जसरी पनि हराउनु पर्नेछ । सेनेगलले बराबरीमा रोकेको खण्डमा पनि कोलम्बिया प्रतियोगिताबाट बाहिरिने छ । –एजेन्सी

तपाईको प्रतिक्रिया