शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – कोलम्बियासँगको खेल जापानले २-१ ले जितेपछि जापानी समर्थकहरूले रंगशाला सफा गरेका छन् ।  विश्वकपका खेलपछि प्रायः दर्शकदीर्घामा खानेकुराको बाँकी भाग, कप र्यापरहरू यत्रतत्र फालिएका भेटिन्छन् । तर जापानी समर्थकहरूले आफूले फालेका सबै फोहोर झोलामा टिपेर लगेका छन् ।

उनीहरूले रंगशालामा आफू बसेको सीट र पंक्तिलाई ध्यान दिएर सफा गरेका हुन् । पहिलोपटक एसियाली टोलीले दक्षिण अमेरिकी टोलीलाई हराएपछि खुशी भएका समर्थकहरूले सभ्य व्यवहारको उत्कृष्ट नमूना देखाए । उनीहरूले फोहोर बोक्ने ठूला झोलाहरू ल्याएका थिए अनि त्यसैमा फोहोर हाल्दै हिँडेका थिए । उनीहरू रंगशालामा पस्दा जस्तो सफाइ थियो, गएपछि पनि त्यस्तै सफा रह्यो ।

नीलो सामुराई भनी चिनिने जापानका समर्थकहरूले असल व्यवहार देखाएको पहिलोपटक हैन । सन् १९९८ मा पहिलोपटक विश्वकप खेल्न थालेदेखि जापानका समर्थकहरू जहाँ गएपनि फोहोर सफा गरिहाल्छन् । त्यस्तै अफ्रिकी टोली सेनेगलका समर्थकहरूले पनि मंगलवार पोल्यान्डसँगको खेलपछि रंगशालाको फोहोर सफा गरेका छन् । उक्त खेलमा सेनेगलले पोल्यान्डलाई २-१ ले हराएको थियो । -एजेन्सी

तपाईको प्रतिक्रिया