शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – नेपाल र जापानबीचका सिधा हवाई उडान हप्तामा १४ वटासम्म गर्न पाइने भएको छ । २५ वर्ष पुरानो हवाई सम्झौता पुनरावलोकन भएसँगै सिधा हवाई उडान थप हुने भएको छ । १९९३ मा पहिलोपटक जापानसँग सम्झौता भएको थियो ।

साेमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा नेतृत्वको प्रतिनिधि मण्डलले जापनी अधिकारीसँग छलफल भएकाे थियाे । छलफलपछि सम्झौतामा हस्ताक्षर भएको नेपाली प्रतिनिधि मण्डलका सदस्य तथा मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए । नयाँ व्यवस्थासँगै नेपालका एयरलाइन्सहरुले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने उपसचिव नेपालले जानकारी दिए ।

यसअघि नेपाली एयरलाइन्सले जापनको ओसाका विमानस्थलमा मात्र यस्तो सुविधा पाउथे । नयाँ सम्झौताअनुसार अवदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ । सम्झौता नविकरण नहुँदा नेपाल एयरलाइन्सले जापानमा ओसाका बाहेकका विमानस्थलमा उडान अनुमति पाएको थिएन । यही असार १४ गते काठमाडौं आइपुग्ने एयरवस वाइडबडी जहाजबाट जापान तथा युरोपमा उडान गर्ने सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले योजना बनाएको छ ।

सम्झौतासँगै नेपाल एयरलाइन्सलाई तत्काल जापानका अन्य विमानस्थलमा उडान प्रक्रिया अगाडि बढाउन बाटो खुल्ला भएको छ । अवदेखि नेपाली एयरलाइन्सहरुले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन् । नेपालले लामो समयदेखि जापानका विभिन्न सहरमा उडान गर्न पाउनुपर्ने र त्यसका लागि हप्तामा १४ उडान हुनुपर्ने अडान लिएको थियो । तर जापान भने हप्तामा ७ सम्म दिनसकिने अडानमा रहँदै आएको थियो ।

जापानबाट काठमाडौं प्रत्यक्ष हवाई सम्पर्क छैन । यसअघि नेपाल एयरलाइन्सले चीनको सांघाईबाट ओसाकामा उडान गरेपनि जहाज अभाव कारण बन्द भएको थियो । जापान तथा युरोपियन पर्यटक नेपाल ल्याउनका लागि पनि हवाई सम्पर्क आवस्यक हुँदै गएपनि सम्झौता नविकरण नहुँदा स्वयम् नेपाल एयरलाइन्सले समस्या भोगिरहेको थियो ।

तपाईको प्रतिक्रिया