मैले एउटा मिठो सपना देखे, एउटा सुन्दर ठाउँ स्वर्गमा झरे झैं अनुभूती गरें । चारैतिर झिलिमिली झिलिमिली पर-पर सम्म उज्यालो अनि रंगिन, जताततै बिकास भएको, पूर्वदेखि पश्चिमसम्म रेलहरु कुदिरहेको, जताततै चिल्ला बाटाहरु बनेको, ठूला ठूला स्कुल कलेज भवनहरु बनेको, देशभरि नै उद्योगधन्दा, कलकारखाना चलिरहेको, बिदेशिएका नेपालीहरु सबै फर्कन आतुर हुँदै एयरपोर्टमा लाइन लागिरहेको, ठूला ठूला अत्याधुनिक हस्पिटलहरु बनेको, देश बिदेशबाट लाखौं करोडौंको संख्यामा पर्यटकहरु नेपाल घुम्न गएको, जसलाई हेरे पनि हाँसी खुशी, सबैजना नै हर्षित, भ्रष्टाचार शून्य सरकारी कामकाजहरु सबै अति सहज भएको, सरकारी कार्यालयमा जाँदा अति सम्मानका साथ कर्मचारीले हजुरको के सेवा गरौं ? भनि सोधिरहेको, कोलकाताको बन्दरगाहमा नेपालको झण्डा फहराईरहेको, पानी जहाजहरु रोकिरहेको, यता सुनकोशीमा पानी जहाजहरु ओहोरदोहोर गरिरहेको । ओ हो, सपना देख्न पाईन्छ, सपना देख्नु राम्रो पनि हो । सपना देख्नुपर्दछ । सपना देखेपछि सोच्न सुरु गरिन्छ, किन कि जब सपना देखिन्छ अनि बाँच्ने बिभिन्न आधारहरु बन्दै जान्छन् ।
नेताजीहरुले धेरै सपना देखाउनु भो, एक पटक होइन, पटक पटक सपना देखाउनु भो, हामी पत्याईरहृयौं, सपना देखिरहृयौं, सपना मै हराईरहृयौं र त्यही सपनाहरुमा रुमल्लिएर बाँचिरहृयौं । धेरै सपना देखिसक्यौं, अब सपना देखाउने मात्र होइन यि सपनाहरु पुरा गर्ने दिन आएको छ । धेरै गुमाएर कष्टकर भोगाईपछि करीब दुई दशकमा अहिले एउटा बहुमतको स्थिर सरकार आएको छ । जसको बागडोर प्रधानमन्त्री केपी ओलीले हाँकेका छन् भने सारथी प्रचण्ड छन् । नेपालको राजनैतिक इतिहासमा हिजोको दिनमा एकअर्काबीच सबैभन्दा ठूलो वर्ग शत्रु कोही थिए भने केपी र प्रचण्ड नै थिए । दुवै चुम्बकको विपरित ध्रुवमा फर्किएको जस्तो । न सोच मिल्थ्यो, न सिद्दान्त ! न कुनै मौलिकता मिल्थ्यो, न व्यक्तिगत आचरण ! न त बिचार, तर राजनीतिमा कुनै स्थायी शत्रु तथा मित्र हुँदैन भन्ने कथनलाई सत्य साबित गर्दै बिभिन्न शंका उपशंकालाई चिर्दै निरन्तरतामा क्रम भंग गर्दै पार्टी एकता गरेर सारा जगतलाई चित खुलाए । निश्पक्ष भएर भन्नुपर्दा यो संयोग जे जस्तो परिस्थितिले जुर्याएको भएता पनि बर्खेच्याउ जस्तै गन्नै नसकिने पार्टी खोलेर मागी खाने भाँडो हुनुभन्दा पार्टी निखारिदै थिग्रिदै जानु आफैमा एउटा सकारात्मक पक्ष हो । पार्टी एकता सैद्धान्तिक र बिचारहरुको मेल भन्दा पनि आजको आवश्यकता हो भनेर अर्थ्याइरहँदा आगामी दिनहरुमा ब्यवहारिक रुपमा अझ पुष्टि हुँदै जाओस् ।
यो एकताले देश भित्र र बाहिर सारा जगतमा तरंग मात्र ल्याएको छैन एक किसिमको रक्तसञ्चार पनि प्रवाह भएको छ । लामो समयदेखि मुलुकले भौग्दै आएको राजनैतिक अस्थिरताबाट उन्मुक्तिको महशुस गराएको छ । सुनौलो सपना देखाईएको छ । धेरै आशाहरु बाँडिएको छ । चुनावको दौरानमा गरिएका वाचाहरु त आफ्नो ठाउँमा छँदै छन् र पार्टी पंक्ति भित्र र बाहिर अनगिन्ति चुनौतीहरु जति संवेदनशिल छन् त्यस मानेमा एकता पछिको जिम्मेवारी पनि त्यति नै गहन र अहम छ ।
उहिले राणा शासन जहानियाँ भयो सैह्य भएन भनियो, राणाशासन बिरुद्द लडाईयो । पञ्चायत निरंकुश भयो भनियो पञ्चायत फालियो, फेरी राजाले केही गर्न दिएन भनियो राजतन्त्रको जरै उखेलेर फालियो । कहिले बिदेशीले केही गर्न दिएन भन्ने बहानामा जिम्मेवारीबाट पन्छिन खोजियो । बिभिन्न चरणमा अन्दोलन भए, संबिधान बनाईयो । अन्तत्वोगत्वा: गणतन्त्र ल्याएको दशक बितिसक्दा पनि हामी ज्यूका त्यूँ छौ, समस्याहरु जहाँको त्यँही छन्, कँही कतैबाट सन्तुष्टिको अनुभूति गर्ने ठाउँ नै छैन । नेताहरुले गफ गर्ने बाहेक केही काम हुन सकेको छैन । यो एकता र बहुमतको शक्तिको आडमा दम्भ बढाउने होईन बिकासका लागि ऊर्जाको स्रोतकारुपमा परिणत होस् र तपाईंहरुको अहिले चालिने कदमहरुले भोलिको राजनैतिक भबिष्य निर्धारण गर्दछ । संसारमा यस्ता घटनाहरु धेरै छन् जुन कुराहरु अस्थायी हुन सक्छन् । किन कि हेक्का रहोस् अन्त्यमा जनता जनार्दन नै हुन्छन् । हिजो नेपाली काँग्रेसलाई ठूलो दल बनाउने पनि यिनै जनता हुन्, माओबादीलाई ठूलो दल बनाएका जनता पनि यिनै हुन् । अनि अहिले तत्कालिन एमाले र माओबादी केन्द्रको बाम गठबन्धनलाई ठूलो दल बनाउने पनि यिनै जनता हुन् । तसर्थ बिस्तारै रेल चलाउँदै गर्नुहोस् पानीजहाज आउँदै गर्छ, बिकास हुँदै गर्दछ तर सारा तराईदेखि हिमाल पारी र पूर्वदेखि सुदूर पश्चिमलाई एउटै मालामा जोडेर संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै सबै जातजाति, भाषाभाषी, धर्म, सँस्कृति र भूगोलमा रहेका सबै बर्गलाई समेटेर समाबेशी चरित्रको समतामुलक समाजको निर्माण गर्नु अहिले प्रमुख दायित्व हो ।जसअनुरुप विद्यमान सामाजिक विसंगति र बिकृतिको अन्त्य गर्दै लोकतन्त्रको मूल्य र मान्यता अनुरुप मुलुक समृद्धितर्फ लम्कियोस् भन्ने सारा नेपालीको अपेक्षा छ ।
तुलनात्मक रुपमा हेर्दा यी दुवै नेताको यति बिधि असमानता भित्र केही समानताहरु भने अवश्य छन् । दुवै नेता बिगतदेखि नदीको दुई किनारा झैं राजनैतिक यात्रामा यहाँसम्म आईपुग्दा अहिले आएर धेरै कुरा मेल खान्छ । उमेरको हिसाबले दुबैको डाँडो काटिसकेको छ । एउटा साधारण किसानको छोरा झुपडीमा जन्मिएर अनेकौ संघर्ष गर्दै पार्टीको अध्यक्ष हुंदै पटक पटक देशको कार्यकारी प्रमुख बनिसकेका छन् । फरक फरक पृष्ठभूमिबाट राजनैतिक जीवन सुरु गरेको भए पनि समकालिन यी दुईको उदय भने फरक फरक दशकमा भयो । एक जमाना नेपालमा प्रचण्ड युग थियो, बन्दुकको नालबाट सत्ता प्राप्तिको यात्रा सुरु गरेका यिनले बिचमै युद्द बिश्राम गरेर शान्ति सम्झौता मार्फत पहिलो संबिधान सभाको निर्वाचनबाट आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाए । फलतः प्रचण्ड प्रधानमन्त्री पनि बने तर दोस्रो संबिधान सभाको निर्वाचनसम्म आईपुग्दा नपुग्दा तेश्रो पार्टीमा खुम्चिए भने पार्टी फुटेर काँचको ऐना झैं टुक्रा टुक्रा मात्र भएन आफ्ना प्रायः आधारहरु पनि गुमाउँदै गए तर पनि उनी नेपाली राजनीतिको निरन्तर केन्द्रबिन्दुमै रहीरहन भने सफल भए ।
यसैगरी संबिधान सभाको पहिलो निर्वाचनमा तत्कालिन एमालेले अप्रत्याशित हारको नैतिक जिम्मेवारी लिँदै जब माधवकुमार नेपालले राजीनामा दिए अनि झलनाथ खनाल अध्यक्ष भए, त्यतिबेलासम्म एकातिर माओवादीहरुको चहलपहल बढिरहेको र एमालेको साख खस्कीरहेको अवसरलाई उपयोग गर्दै आफुलाई खरो आलोचकका रुपमा उतार्दै अरुको ध्यान तान्न सक्ने बिलक्षण वाकशक्ति भएका केपी ओलीले उखान टुक्का हाल्दै भिन्न किसिमले बैकल्पिक शक्तिको रुपमा आफुलाई स्थापित गर्दै लगे । फलतः पार्टीभित्र ओली धारको प्रभाव बढ्दै गयो र आफ्नो पकड जमाउँदै पार्टीको अध्यक्ष भए र ओली युगको उदय भयो । उनकै नेतृत्वमा गत निर्वाचनमा बाम गठबन्धन गरेर अत्यधिक बहुमत प्राप्त गरे भने जति असहज भए पनि अन्तत्वोगत्वा पार्टी एकता गराएरै छोडे र अहिलेसम्मकै सर्बशक्तिमान प्रधानमन्त्री बन्न सफल भए ।
एउटा मान्छेको जीवनकालमा पुग्ने सफलताको उचाई यहाँभन्दा माथि अरु के नै होला र ? जीवनमा पाउनुपर्ने सफलता र उपलब्धि के नै बाँकी होला र ? यिनले गर्नुपर्ने लोभ र लालच गर्नुपर्ने के नै रहला ? अहिले यी दुई नेता जति शक्तिशालि छन् यो अवसर इतिहाँसमा कमैलाई प्राप्त हुन्छ । अहिले एउटा साधारण जनता देशको सबैभन्दा उच्च तहमा विराजमान भएका छन् । तर बिद्यादेबी भण्डारीले चाहँदैमा राष्ट्रपति पद दोहोर्याई रहनका लागि राजा फालिएको होईन । राणा र राजा फालेर नयाँ राजा महाराजाहरुलाई गद्दिसिन हुनका लागि गणतन्त्र ल्याईएको पनि होईन । त्यसका लागि नेपाली जनताले गरेको त्याग र बलिदान बिर्सनु भएन । तसर्थ मान्छे मात्र बदलिएर भएन, मान्छेसंगै प्रवृत्ति पनि बदलिनुपर्यो । नेताहरुको आचरण बदलिनुपर्यो, सँस्कार बदलिनुपर्यो, सोच बदलिनुपर्यो । जनतालाई फरक अनुभूति दिलाउन सक्नुपर्यो ।
यो निर्वाचनमा जसरी जुन बिश्वास र भरोसाका साथ अत्यधिक जनमत र अनुमोदनबाट जनताले साथ दिएका छन्, त्यसैगरी पार्टी कार्यकर्ताले यि दुई नेतालाई जुन शक्तिमा पुर्याएका छन् त्यसलाई कदापि नजरअन्दाज गर्न मिल्दैन । तसर्थ अब पनि गर्न नसक्ने, बहानाबाजी गर्नुपर्ने कँहि कतै केही बाँकी छैन । त्यसैले अबको दिनमा मुलुकको चौतर्फी बिकास, रुपान्तरण र समृद्धिका लागि होस् र बाँकी रहेको जीवनमा मुलुकलाई अभिभावकत्व प्रदान गर्न सकून् । इतिहाँस त सबैको बन्छ, इतिहाँस मात्र होईन तपाईहरु त सारा नेपालीको मन मुटुमा बस्न सक्नुहोस् । विश्वका आदर्श पुरुषहरु महात्मा गान्धी, मार्थिर, लि क्वान र नेन्सन मण्डेलाको ठाउँ लिन सक्नुहोस् र हरेक नेपालीको पूजाकोठामा एउटा एउटा फोटो राखिने गरी पूजनीय बन्नुहोस् । मजस्तै सारा नेपालीहरुले पनि मैले जस्तै सपना देखेका छन्, अत हाम्रो यी सपनाहरु यही जुनीमा पुरा होऊन्, मर्नुअघि यि सब अनुभूति गर्न पाईयोस र यो सब हेरेर मर्न पाईयोस् बस… ।
(लेखक गुरुङ एनआरएन जापानका पूर्व अध्यक्ष एवम् हाल अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य हुनुहुन्छ)