शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं –  आँखा मानिसको संवेदनशील अंग हो । वयस्क र वृद्धहरूमा मात्र होइन, बालबालिकामा पनि आँखासम्बन्धी विभिन्न समस्या देखिन्छन् । बालबालिकाको आँखाबारे अभिभावक सचेत हुन आवश्यक छ । किनकि, बालबालिकाले आफूमा भएको समस्या भन्न सक्दैनन् । बालबालिका निकै चकचके हुने भएकाले पनि यसबारे विशेष ध्यान दिनुपर्छ । र, आँखामा हुने स–साना समस्याबारे पनि गम्भीर हुनुपर्छ । नत्र सानो समस्याले नै जटिल रूप लिन सक्छ । बच्चाको आँखा कस्तो हुनुपर्छ त ? डा. राजेशकिशोर श्रेष्ठले बताएका छन् :

शिशुको आँखा कस्तो ?
खासगरी जन्मेपछि दुई–तीन महिनापछि बच्चाले आमालाई हेरी मुस्कुराउने, उज्यालो पछ्याउने गर्नुपर्छ । तीन महिनाको बालबालिका पनि आवाज सुनेर मात्र हेर्छ वा वस्तु हेरेर पछ्याउँछ भन्ने कुरो विशेष ख्याल राख्नुपर्छ ।

बच्चाको आँखा हल्लिरहने र दुवै आँखाले सीधा अगाडि हेर्न सक्दैन भने पनि आँखा कमजोर भएको बुझ्नुपर्छ । यस्ता खालका शंका लागेमा जाँच गराइहाल्नुपर्छ ।

स्कुल जाने उमेरका बालबालिकाले राम्रोसँग पढ्न नसकेमा, पाठ सार्न कठिन भएमा, टाढा बसेर हेर्दाहेर्दै नजिकै गएर हेर्न थालेमा पनि आँखाको कमजोरी हुन सक्छ ।

दृष्टि थाहा पाउन
बच्चा नयाँ ठाउँमा जाँदा अभिभावक खोज्ने, आफैँ हिँड्न नसक्ने, आवाज पछ्याउने तर हेरेर हिँड्न नसक्ने भएमा आँखामा समस्या भएको हुन सक्छ ।
हिँड्न खोज्दा ठोक्किने, पटक–पटक लड्ने भएमा पनि आँखाको समस्या हुन सक्छ ।
आँखामा कालो र सेतो भाग हुन्छ । स्वस्थ आँखाका लागि कालो भाग कालै र सेतो सेतै हुन जरुरी हुन्छ । यदि कालो भागमा सेतो छाया र सेतोमा कालो रङ देखिएमा त्यो असाधारण हो ।
आँखाको तल्लो परेला भएको डिलले कालो भागलाई छोएको र माथिको डिलले आँखाको नानीलाई दुई मिलिमिटरजति ढाकेको हुनुपर्छ । यस्तो नभएको अवस्थालाई पनि आँखाको कमजोरीका रूपमा लिनुपर्छ । यस्ता कुरामा अभिभावक र शिक्षकले ध्यान पु-याउनुपर्छ ।
समय नपुग्दै र १५ सय ग्रामभन्दा कम तौल भएको बच्चामा आँखामा समस्या देखिने प्रबल सम्भावना हुन्छ ।
बच्चामा जन्मजात मोतिबिन्दु, जलबिन्दु पनि हुन सक्छ । यसबारे पनि सचेत हुन आवश्यक छ ।

सजगता
आँखाको नानी अस्वाभाविक रूपमा टल्किरहन्छ वा बिरालोको जस्तो देखिएमा पनि तुरुन्त जाँच गराउनुपर्छ । किनकि, यस्तो समस्याले आँखाको क्यान्सरसमेत हुन सक्छ । जसलाई चिकित्सकीय भाषामा ‘रेटिनोब्लास्टोमा’ भनिन्छ । यस्तो अवस्था निकै गम्भीर हो । रेटिनोब्लास्टोमा भएमा औषधि दिएर ट्युमर सानो बनाउन सकिन्छ । केमोथेरापी दिएर ज्योति बचाउन सकिन्छ । तर, उपचारमा ढिलाइ भए आँखा झिकेर फ्याक्नुको विकल्प रहँदैन ।

बच्चाको आँखामा चोटपटक नलागोस् भनेर अभिभावकले विशेष सावधानी अपनाउनुपर्छ । किनकि, चोटपटकका कारण बच्चाको आँखा गुम्ने खतरा अत्यधिक हुन्छ ।

गर्भवती अवस्थामा महिलालाई मधुमेह छ भने जन्मिने बच्चामा मोतिबिन्दु हुने खतरा हुन्छ । यस्तो अवस्थामा अन्य कुनै संक्रमण, रुबेला भएमा पनि बच्चाको आँखामा असर पर्न सक्छ ।

अनि आँखाको क्यान्सर
बालबालिकाको आँखा टेढो भएको छ भने चिकित्सककहाँ गई जाँच गरिहाल्नुपर्छ । उज्यालोमा आँखाको नानीमा सेतो देखिएको भए पनि आँखाको क्यान्सर हुन सक्छ ।
आँखाको नानीमा फोका देखिएमा, आँखा कम देखेमा पनि क्यान्सर हुन सक्छ ।
कतिपय बालबालिकाले जन्मँदै क्यान्सर बोकेर आएका हुन्छन् । यदि शिशुको आँखाको क्यान्सरबारे पहिलो अवस्थामै थाहा पाएमा उपचार सम्भव हुन्छ ।
आँखाको क्यान्सरले आँखाको दृष्टि त गुम्छ नै, अन्य अंगमा पनि यो रोग फैलन सक्छ । त्यसैले बालबालिकाको आँखा नियमित जाँच गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया