काठमाडौं – टुथब्रस दाँत सफा गर्न दैनिक हामीले प्रयोग गर्दै आएका छौँ । निरन्तर प्रयोग गर्दा एउटा टुथब्रस सामान्यतया करिब तीन महिना उपयोग गरिन्छ । त्यसपछि टुथब्रस बिग्रन थाल्ने कारण यसले राम्रोसँग दाँत सफा गर्न पनि सक्दैन । यस्तोमा दाँत सफा गर्न अर्को टुथब्रस लिनुको विकल्प पनि हुँदैन । नयाँ टुथब्रस खरिद गरेपछि पुरानो ब्रस फाल्ने धेरैको बानी हुन्छ । तर, पुरानो टुथब्रसलाई पनि हामी धेरै काममा प्रयोग गर्न सक्छाैँ । पुरानो टुथब्रसलाई फरक कामका लागि उपयोग गर्ने तरिकाहरू यस्ता हुन सक्छन् :
गहनाको सफाइ
सुनचाँदीजस्ता बहुमूल्य धातुबाट निर्माण गरिएको गहना सरसफाइ गर्न टुथब्रस एकदम उपयुक्त हुन्छ । यसका लागि गहनालाई थोरै तातो पानीमा केही समय डुबाएर राख्नुपर्ने हुन्छ । त्यसपछि गहनालाई ब्रसको सहयोगले बिस्तारै सफाइ गर्न सकिन्छ । यसरी गहना सफा गर्दा सुरुवाती अवस्थामा जस्तै नयाँ चमक ल्याउन सकिन्छ ।
फोहोर नङको सफाइ
घरबाहिर तथा भित्रका विभिन्न काम गर्दा हात र नङको भित्री भागमा पनि फोहोर अड्केर बसेको हुन्छ । अझ विशेषगरी खेतबारी वा बगैँचामा काम गर्दा माटो तथा अन्य फोहोर जमेर बसेको हुन्छ । त्यसैले सधैँ हात धुँदा या नुहाउँदा पनि टुथब्रसको सहयोगले नङको सफाइ गर्न धेरै सजिलो हुन्छ ।
कपाल कलर गर्न
कपाललाई विभिन्न कलर गरेर फेसनेबल बन्ने ट्रेन्ड अहिले निकै चलेको छ । यस्तोमा कपालमा कलर लगाउन टुथब्रसको प्रयोग गर्नु निकै फाइदाजनक हुन्छ । त्यस्तै, ब्रसको सहयोगले कपाललाई हाइलाइट गर्न पनि निकै सजिलो हुन्छ ।
नङपालिसको सफाइ
नङमा पोलिस गर्दै गर्दा धेरैपटक नङभन्दा बाहिरी भागमा पनि पोलिस लागिरहेको हुन्छ । नङको किनारमा नसुहाउँदो गरी कलर लागिरहेको हुन्छ । यस्तो अवस्थामा पनि टुथब्रसको सहयोगले नङको सफाइ गर्न सहज हुन्छ ।
आइब्रो
आइब्रोलाई बाक्लो देखाउन टुथब्रसमा क्यास्ट आयल लगाएर आँखीभौँमा हलुका घुमाउनुपर्छ । त्यस्तै परेलालाई पनि बाक्लो तथा लामो देखाउन यसको उपयोग गर्न सकिन्छ ।