बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – टोकियो क्षेत्रमा रहेका घरवारविहिन (होमलेस) हरु मध्य करिब ४ हजार जना २४ सै घण्टा चल्ने नेट क्याफेहरुमा सुत्ने गरेको एक सर्बेक्षणबाट थाहा लागेको छ । टोकियो महानगरपालिकाले पहिलो पटक गरेको यस प्रकारको सर्बेक्षणबाट सो तथ्य थाहा लागेको जापान टुडेले जनाएको छ ।

उनीहरु मध्य करिब ७० प्रतिशत अर्थात ३ हजार जना अस्थायी कामदार रहेको र उमेरको हिसाबले ३८ दशमलव ५ प्रतिशत ३० बर्ष उमेर समुहका छन् भने २७ दशमलव ९ प्रतिशत ५० बर्ष उमेर समुहका छन् ।

३० बर्ष उमेर समुहका होमलेसहरु मध्ये धेरैले सन् २००८ को आर्थिक मन्दीको समयमा रोजगार गुमाएको र ५० बर्ष उमेर समुहकाहरुले भने उमेरको कारण काम पाउन गारो भएको सर्बेक्षणको क्रममा बताएका छन् । सन् २०१६ नोवेम्बर देखि २०१७ जनवरीसम्ममा टोकियोका ५ सय २ नेट क्याफेहरुमा सो सर्बेक्षण गरिएको समाचारमा उल्लेख छ । नेट क्याफेमा रात बिताउनेहरु मध्य करिब २५ दशमलव ८ प्रतिशत सुत्ने ठाउँ नभएको कारण त्यहाँ आउने गरेको पाईएको छ । टोकियोका नेट क्याफेहरुमा प्रत्येक रात करिब १५ हजार ३ सय जनाले रात बिताउने गरेको र ति मध्य ४ हजार जना सुकुम्बासी अर्थात होमलेस भएको बताईएको छ । उक्त सर्बेक्षणमा सहभागी क्याफेमा रात बिताउने हरुमध्य ४३ दशमलव ८ प्रतिशतको आफ्नो बासस्थान नभएको र १० दशलमव ७ प्रतिशतको आम्दानी नै नभएको पनि तथ्याङ्कबाट थाहा लागेको छ ।***

तपाईको प्रतिक्रिया