काठमाडौं – इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराती आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी हुँदा म्यान्चेस्टर सिटी भने बराबरीमा रोकिएको छ ।
लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई बर्न्लेले १-१ गोलको बराबरीमा रोकेको हो । बर्न्लेको मैदानमा भएको खेलको २२ औं मिनेटमा म्यान सिटीका ड्यानिलोले गोल गरे । तर खेल सकिन ८ मिनेट बाँकी छँदा बर्न्लेका गुड्मन्सनले गोल गर्दै खेल बराबरी गरेका हुन् ।
तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले भने गएराती हडर्सफिल्ड टाउनलाई २-० ले पराजित गर्यो । खेलमा म्यानयूलाई विजयी गराउन रोमेलु लुकाकु र अलेक्सिस सान्चेजले एक एक गोल गरे ।
गएराती भएको अर्को खेलमा आर्सनलले एभर्टनलाई ५-१ ले पराजित गर्यो । एकतर्फी खेलमा आर्सनललाई विजयी गराउन आयरन राम्सेले ह्याट्रिक गरेभने लरेन कोसेल्नी र पिएरे एमरीक औबामायङ्गले एक एक गोल गरे ।
अघिल्लो हप्ता मात्रै जर्मन क्लव बोरुसीया डर्टमण्डबाट आर्सनल आएका अफ्रिकी मुलुक गाबोनका खेलाडी औबामायङ्गले आफ्नो पहिलो खेलमै गोल गरेका हुन् ।
इंग्लीश प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई ३-२ ले, ब्राईटनले वेष्ट ह्यामलाई ३-१ ले तथा बर्नमाउथले स्टोक सिटीलाई २-१ ले हराएका छन् ।
लेष्टर सिटी र स्वान्सी सिटीले भने १-१ गोलको बराबरी खेलेका छन् । गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ भने समान खेलबाट ५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेका लिभरपूल र चेल्सी ५०/५० अंकको साथ क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।