बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो–जापानको होक्काइदो स्थित सापोरो शहरमा रहेको एक वृद्धाश्रममा बुधबार आगलागी हुदाँ ११ जना वृद्धवृद्धा मृत्यु भएको छ भने पाँचजना सख्त घाइते भएका छन् ।
घरवारविहिनहरु बस्नका लागि एक संस्थाद्धारा संचालनमा ल्याइएको सो वृद्धाश्रममा भएको आगलागीबाट आठ पुरुष र तीन महिलाको मृत्यु भएको र घाइते पाँचजनालाई तत्काल उद्धार गरि स्थानीय अस्पतालमा पुरयाइएको जापान प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान खुलाइएको छैन ।
आगलागीका बारेमा अज्ञात व्यक्तिले जानकारी दिएपछि घटनास्थलमा प्रहरी पुग्दा काठबाट बनेको घरको छत खसिसकेको र केही वृद्धाहरुको मृत्यु भइसकेको र घाइतेहरुलाई तत्काल उद्धार गरि अस्पताल पुरयाइएको जनाइएको छ ।
आगलागी नियन्त्रणका लागि ४० दमकल प्रहरीका गाडी र एम्बुलेन्सको प्रयोग गरिएको थियो । आगलागीबाट तीनवटा घरसहित अन्य सामानहरु पूर्णरुपमा नष्ट भएका छन् । आगलागीको कारण हालसम्म खुल्न नसकेको र प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।
वृद्धाश्रमको नजिकै रहेकी एक ६७ वर्षीय महिलाका अनुसार वृद्धाश्रममा ग्यास स्टोभ रहेको र आगलागीका समयमा विस्पोटको आवाज आएको थियो । गैर सरकारी संस्था होमलेस सपोर्ट होकाइदोद्धारा संचालनमा ल्याइएको सो आश्रममा अधिकतम १६ जनाको क्षमता रहेकोमा १६ जना नै वृद्धवृदा रहेको जानकारी दिएको छ । रातको समयमा भएको सो आगलागीका बेला संस्थाका कोहीपनि कर्मचारी नरहेको बताइएको छ । सरकारी अधिकारीहरुले घटनाको गम्भिर अनुसन्धान भैरहेकाले यसको कारण छिट्टै नै सार्वजनिक गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया