बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024


टोकियो – जापानीहरु बीच नेवारी समुदायको खाना एवं परम्परा, सँस्कृतिको प्रबर्द्वन गर्ने उद्देश्यले टोकियोमा पहिलो पटक नेवाः फुड फेस्टिवल सम्पन्न भएको छ ।
वर्ल्ड नेवाः अर्गनाईजेशन जापानद्वारा आयोजित नेवाः फुड फेस्टिवलमा नेवारी खाना र सँस्कृति झल्कने भेषभूषा, कुमारी, लाखे, चर्या नाचका साथै विभिन्न गीत र नृत्यको प्रस्तुतीले कार्यक्रमस्थल नेपालमय बनेको थियो ।
जापानी तथा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा जापानीहरुको बीचमा नेवारी खाना र सँस्कृतिको बारेमा सकारात्मक सन्देश प्रवाह भएको मासाहिरो यामाकावा ‘ब्याँचादाइ’ ले बताउनुभयो ।

नेवारी भेषभूषामा नेपाली तथा जापानीहरुको सहभागिताका साथै नेपाली तथा जापानी कलाकारहरुद्वारा नेवारी गीत तथा नृत्यहरु प्रस्तुत गरिएको सो कार्यक्रममा धिमे र भुस्या बाजाले सहभागीहरुलाई छमछमी नचाएको थियो । नेवारी पोशाकमा सजिएका सहभागीहरुले जापानमा रहेर पनि आफ्नो सँस्कृतिमा रमाउन पाएकोमा प्रसन्नता ब्यक्त गरेका थिए ।

कार्यक्रमका अतिथिहरुलाई नेवारी समुदायको प्रचलित परिकार समे बजीले स्वागत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा रहनुभएको थियो भने अन्य बिशेष अतिथिहरुमा नेपालका लागि पूर्व जापानी राजदूत मासायुकी कोजिमा, जापान नेपाल संघका अध्यक्ष योशिनागा हिदेआकी, हिरोसिमा युनिभर्सिटीका प्राध्यापक डा. केशवलाल महर्जन, एनआरए जापानका उपाध्यक्ष देविलाल भण्डारी लगायतका हुनुहुन्थ्यो ।
कार्यक्रम संयोजक सुनिलकुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित नेवाः जागरण मञ्च नेपालका अध्यक्ष सुजिब बज्राचार्य लगायत नेपाल स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
नेवाः फुड फेस्टिवलको अवसरमा नेवाः सुपर स्टार पुरस्कारको घोषणा समेत गरिएको छ ।नेवारी समुदायका सिने कलाकारुहरुको प्रोत्साहन स्वरुप घोषणा गरिएको उक्त पुरस्कारको राशी एक लाख रुपैंयाको हुने कुमार बज्रले जानकारी दिनुभयो । प्रत्येक वर्ष एकजना नेवाः सुपर स्टार घोषणा गरी उक्त पुरस्कार दिइने छ ।
नेपाल भाषा कला, सँस्कृति उत्थानका लागि हरेक नयाँ वर्षमा आर्थिक सहयोग अभियान अन्तर्गत उक्त पुरस्कारको घोषणा गरिएको र यस अभियानलाई सफल पार्न संसारभर रहेका नेपालीहरुलाई सहयोग गर्न संयोजक शाक्यले अपील गर्नुभएको छ । थप फोटोहरु


 

तपाईको प्रतिक्रिया