बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो–जीवनलाई सुन्दर र परिवारलाई खुशी राख्नका लागि तीन वर्ष अघि विद्यार्थीका रुपमा जापानमा आएका अर्घाखाँचीका २३ वर्षीय प्रकाश आचार्यले जनवरी २३ तारिकमा फेसबुकमार्फत अपुरा रहरहरु अपुरो जीवन स्टाटस राखेकै भोलिपल्ट मृत अवस्थामा भेटिएका छन् ।
फुकोआकाको एक भोकेसनल स्कूलमा पहिलो वर्षमा अध्ययनरत सन्धीखर्क नगरपालिका ११ दिर्भमका आचार्यलाई २४ जनवरीमा समुद्रको नजिकै रहेको जंगलमा मृत अवस्थामा भेटिएको बाबुराम पौडेलले जानकारी दिनुभयो । सोमबार बिहान साथीहरुसँगै खाना खाएर स्कूल जानका लागि निस्केका आचार्य स्कूलमा नगएका र मंगलबार बिहानतिर स्कूलमा फोनमार्फत आफू बिरामी भएको जानकारी गराएपछि साथीहरुको सम्पर्कमा पनि नभएको बताइएको छ ।
मृतकको शवलाई प्रहरीकै नियन्त्रणमा राखिएको र उनका दाजु हाल कोरियामा रहेकाले उनी जापान आएपश्चात दाहसंस्कार गरिने पौडेलले जानकारी दिनुभयो । मृत्युको कारण हालसम्मपनि नखुलेको र शंकास्पद रहेको जापान प्रहरीलाई उदृत गर्दै पौडेलले जानकारी दिनुभयो ।
पारिवारिक अवस्था अत्यन्त्यै नाजुक रहेको घरमा सामान्य हिडडुल गर्नसमेत नसक्ने आमामात्र रहनुभएकोले मृतकको दाहसंस्कार र परिवारको सहयोगका लागि अर्घाखाँची समाज जापानले एक विज्ञप्तीमार्फत जापानबासी सबैमा अपिल गरेको समाजका अध्यक्ष नेत्र विष्टले जानकारी दिनुभयो ।
मृतकका बाबुको दुई वर्ष अगाडि दुर्घटनामा परि मृत्यु भएको थियो भने उनको मृत्युको पिडाले गर्दा हाल मृतक आचार्यकी हजुरआमाको पनि एकवर्ष अगाडि मृत्यु भएको थियो । हाल निजको घरमा बिरामी अवस्थामा रहेकी आमा मात्र हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया