शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता बारे चर्चा र चासो चुलिएसंगै आइतवार बसेको पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले बनाएको साझा चुनावी घोषणापत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्नेसमेत सहमति गरेको बताए ।

एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलमा नेता गिरिराजमणि पोखरेल, भीमबहादुर रावल, वर्षमान पुन, विजय पौडेल, युवराज खतिवडा र मीनबहादुर श्रेष्ठ रहेको सात सदस्यीय कार्यदल गठन गरिएको छ ।

पार्टी एकताका लागि दुई दलको नेतृत्वको बीचमा अझ केही थप छलफल र गृहकार्य गरेर वैचारिक र सांगठनिक पक्षमा आवश्यक गृहकार्य गर्न पछि कार्यदल गठन गर्ने समेत सहमति भएको छ ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले नेता सुवास नेम्वाङले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनलाई पार्टी एकता संयोजन समितिले अनुमोदन गर्ने निर्णय गरेको बताए । ***

तपाईको प्रतिक्रिया