शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

कञ्चनपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियरको साथबाट २० लाख ३० हजार घुस सहित रंगे हात पक्राउ गरेको छ ।

आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर केदार शर्मा र सहायक इन्जिनियर डण्डीराज पाण्डेको साथबाट सेवाग्राहीबाट घुस लिएको रकम बरामद गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता खेमानन्द पाठकले सेवाग्राहीबाट घुस लिदालिदै गरेको अवस्थामा दुवै इन्जिनियरलाई पक्राउ गरेको बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीबाट घुस लिएको नगद ६ लाख रुपैया प्रमुख जिल्ला इन्जिनियर शर्माको निवासबाट बरामद गरिएको छ । यस्तै एक ९ लाख र अर्को ५ लाख ३० हजारको बैंकको चेक समेत बरामद गरि कुल २० लाख ३० हजार बराबरको घुसको रकम बरामद गरिएको छ ।

७ नम्बर क्षेत्रका अख्तियारको कार्यालय स्थापना भएदेखि पहिलो पटक कार्यालय प्रमुख र उच्च कर्मचारी घुस सहित पक्राउ गरेको पहिलो उदाहरण हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले पक्राउ परेका दुवै इन्जिनियरलाई थप कारबाहीका लागि कार्यालय ल्याइएको छ ।

तपाईको प्रतिक्रिया