शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो-विदेशी प्रशिक्षार्थी कामदारहरुलाई उत्पिडन र जबरजस्ती गरी बढी समय काममा लगाउन नपाउने गरी जापानमा नयाँ कानुनको लागु गरिएको छ । यस वर्षको जुन ३० सम्ममा टेनिक्कल ट्रेनिङ प्रोग्राम लगायत  विभिन्न खाले कामका लागि २ लाख ५० हजार भन्दा धेरै प्रशिक्षार्थी कामदारहरु जापानमा रहेको यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।
यो कानुन कम्पनीे वा संस्थाले नियुक्ति गरिएका विदेशी प्रशिक्षार्थी कामदारहरुलाई जबरजस्ती काम गराउने हेतुले हिंसा र चेतावनी दिइएको पाइएमा संचालकहरुलाई जेल सजायका साथै जरिवानाद्धारा दण्डित गरिने छ । कम्पनी तथा संस्थाहरुको सुधार र प्रशिक्षार्थीहरुको हितमा रहने गरी गतवर्षको नोभेम्बरमा संसदबाट यो कानुन पारित भएको थियो । विदेशी कामदारहरुलाई गैर कानुनी ढंगले बढी समयसम्म काममा लगाई श्रम शोषणजस्ता व्यवहार गरेका कारण यो कानुन ल्याई लागु गर्न लागिएको बताइएको छ ।
सरकारले एक नयाँ कार्यदल गठन गरी प्रशिक्षार्थी कामदार स्वीकार गर्ने कम्पनीहरुको निरन्तर अनुगमन गरी कडा निर्देशन दिइने छ । यस कार्यदलले कम्पनी तथा संस्थाको जाँच गरी निर्धारित रुपमा विदेशी प्रशिक्षार्थी राख्ने अनुमति दिने नदिने कुराको निर्धारण समेत गर्ने छ । यस कार्यदलले नियमित रुपमा कम्पनी तथा संस्थाहरुको अनुगमन गरिरहने छ ।
कानुनमा विदेशी प्रशिक्षार्थीहरुलाई नियमित स्वास्थ्य परिक्षण,दैनिक खानपान र उपयुक्त वासस्थानको व्यवस्थासहित ३ वर्षका लागि प्रशिक्षार्थीका रुपमा स्वीकार गरिनुपर्ने उल्लेख रहेको छ । साथै रोगीहरु तथा खाना खुवाउने कार्यमा सहयोग गर्ने ५ जना प्रशिक्षार्थीका लागि एक निरिक्षकको नियुक्ति गर्नैपर्ने व्यवस्था कानुनमा गरिएको छ ।
लागु गर्न लागिएको कानुन अनुसार शिक्षार्थी बन्ने हेतुले प्रशिक्षार्थीका रुपमा जापान आउनेहरुले अनिवार्य रुपमा जापानी भाषा हुनुपर्ने र आइसकेपछि पनि जापानी भाषाको कक्षा लिनैपर्ने उल्लेख गरिएको छ ।
कम्पनीमा राम्रो क्षमता प्रर्दशन गर्ने शिक्षार्थीलाई ५ वर्षसम्म राख्नका लागि अनुमति दिन सकिने कुरा कानुनमा रहेको छ । नर्सिङ हेरचाहका लागि कामदारहरुको कमीको समस्या समाधानका लागि यो कानुन सहयोगी हुने आशा समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया