Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024
Bishnu Prasad Subedi

प्रविधिको देश जापान र प्राविधिक रुपमा धेरै अघि पुगिसकेका यहाँका संरचनाहरु, जापानमा बस्ने नेपालीहरुका लागि प्रविधिले के सम्म काम गर्छ भन्ने कुरा बताइरहनु आवश्यक विषय नै हैन । प्रविधिको यही रफ्तारमा दौडिरहेको संसारको पछिल्लो उपलव्धी सामाजिक सञ्जालको पहुँच र यसका नेपाली प्रयोगकर्ताहरु दिन दुईगुना, रात चौगुना बढिरहेका छन् ।

खुशी साट्ने होस् या रिस पोख्ने सबैको साझा थलो बनेको छ सामाजिक सञ्जाल, कतिले सदुपयोग गरेका छन् त कतिले दुरुपयोग, तर प्रयोग भने धेरैले गरेका छन् । जापानमा बस्ने अधिकांश नेपालीहरुको हकमा भने आफ्ना पिर व्यथा, हाँसो, खुशी, रिसराग पोख्ने प्रमुख माध्यम बनेको छ फेसबुक । भान्साको काम होस् या सुटबुट सहितको अफिसको टेवल फेसबुक चलिनै रहेको छ, चलाउनेहरुले चलाइरहेकै छन् ।

जथाभावी लाइभ

फेसबुकमा पछिल्लो समय चर्चित फिचर हो लाइभ, एक क्लिककै भरमा इन्टरनेटको पहुँचमा भएको जुनैपनि ठाउँबाट रियल टाइम लाइभ गर्न सकिने फेसबुकको यो सुविधा प्रशंसा योग्य छ । लाइभ भनेपछि ओभी भ्यान बोकेर दगुर्नुपर्ने टेलिभिजन हुन वा लाखौं रकम खर्च गरेर उत्पादन गरिनुपर्ने कार्यक्रम, फेसबुक लाइभले सबैलाई सजिलो बनाइदिएको छ । जापानमा बसेर फेसबुके भित्तामा डुल्दैगर्दा भेटिने लाइभ ब्रोडकाष्टहरु भने दिक्कलाग्दा हुन्छन् । बाटोमा हिडिरहेका बेला लाइभ, साथीसंग खाना खान बसेको लाइभ, रक्सी खाएर मस्तसंग नाचेको लाइभ । यतिसम्म कि रेष्टुरेन्टमा खाना खान आएका ग्राहकहरुको समेत सिधा लाइभ । फेसबुकले दिएको यति राम्रो सुविधालाई सहि ढंगबाट प्रयोग गर्न नसकिएको हो कि भन्ने भान पर्न थालेको छ । एक क्लिककै भरमा लाइभ हुन्छ भन्दैमा जथाभावी लाइभ गर्नु उचित हुँदैन अझ जापानजस्तो प्राइभेसीको मामलामा एकदमै सचेत देशमा रहेर । सार्वजनिक स्थानहरु, रेष्टुरेन्टहरु तथा आफ्नै व्यवसाय किन नहोस् लाइभ गर्नुअघि एकपटक अनुमति लिनैपर्छ । भोली ‘मेरो अनुमति विना किन मेरो भिडियो खिचिस्?’ भनेर कुनै व्यक्तिले मुद्दा हाल्यो भने समस्यामा पर्न सकिन्छ । आफ्नो कला प्रस्तुत गर्ने, जानकारी, सूचनाहरु सम्प्रेषण गर्ने तथा विभिन्न समयमा लिईने अन्तरवार्ताका लाइभ भने प्रशंसा योग्य छन् ।

गालीगलौज र राजनीतिक लडाई गर्ने माध्यम

जापानका नेपालीहरुवीच सद्भाव भन्दा रिसराग बढ्दैछ भन्ने कुरा फेसबुकमा पोष्ट हुने स्टाटसहरुले बताउँदछन् । विशेषगरी नेपालमा हुने विभिन्न राजनीतिक घटनाक्रमका बेला एउटा पार्टी समर्थकले अर्को पार्टीको समर्थक अथवा नेतालाई गरिने निम्नकोटीको गाली र तिनमा आउने प्रतिक्रिया हेर्दा उनीहरु भेट हुँदा काटमार नै हुने हो कि भन्ने डर लाग्छ । सामाजिक सञ्जालमा पोखिने रिस सीमित समयको आवेगमा व्यक्त गरिने प्रतिक्रियाले नेपाली समुदायको आपसी सद्भावलाई घटाउने बाहेक केही थप उपलव्धी हुन सक्दैन । निजी विचार सामाजिक सञ्जालमा राखिनुपर्छ तर आफुले राख्ने विचारले समुदायलाई गर्ने हानीबारे भने सदैव सचेत रहनुपर्छ ।

व्यक्तिगत विवरणको सुरक्षा

जापानमा व्यक्तिगत विवरण (कोजिन ज्योहो) को सुरक्षालाई एकदमै महत्वपूर्ण रुपमा लिईन्छ । जापानमा बस्ने धेरै नेपालीहरुको फेसबुक डुल्दा भने व्यक्तिगत विवरणहरु जस्तै जन्ममिति, बस्ने पूरा ठेगाना जस्ता नितान्तै व्यक्तिगत विवरणहरु सामाजिक सञ्जालमा राख्नु सुरक्षित हुँदैन भन्ने कुराको ज्ञानमा कमी देखिन्छ । व्यवसायिक हैन भने मोवाइल नम्बर फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा नराख्दा नै उचित हुन्छ । त्यसैगरी भिषा आएको खुशीयालीमा जाइर्यु कार्ड, क्रेडिट कार्ड पाएको खुशीयालीमा क्रेडिट कार्डको फोटो राख्नु झनै गलत कार्य हो । यस्ता विवरणहरु गलत प्रवृति भएका जो कोहीको हातमा पर्यो भने दुरुपयोग हुने खतरा हुन्छ । यस्तै प्रकृतिका आफ्नै गल्तिका कारण समस्यामा परेकाहरु धेरै छन् । नितान्तै व्यक्तिगत विवरणहरु सामाजिक सञ्जालमा राख्नुहुँदैन भन्ने विषयमा जापानका नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत हुन आवश्यक छ ।

सूचनाहरुको विश्वसनियता

फेसबुकमै चिनजान भएका आधारमा गरिएका कतिपय आर्थिक कारोवारहरुमा नेपालीहरु फसेको घटनाहरु पनि बाक्लिन थालेका छन् । विभिन्न पेजहरुमा आउने कामका सूचनाहरुमा विश्वास गर्दा पैसा डुबेको, भिषा परिवर्तनका लागि भन्दै नेपालीले नेपालीलाई नै दुख दिएको जस्ता धेरै घटनाहरु बाहिर आउँदैनन् तर घटिरहन्छन् । जसको एउटै कारण बनेको छ सामाजिक सञ्जालहरुमा आउने विज्ञापन र तिनमा गरिने विश्वास । यसो भन्दै गर्दा यहाँ आउने हरेक सूचनामा शंका गर्नुपर्छ भन्ने अभिप्राय पक्कै होइन, आएका सूचनाहरुको विश्वसनियता कति छ भन्ने कुरामा सँधै ध्यान दिनुपर्छ । आफुलाई आवश्यक सूचनाहरु विश्वसनीय स्रोतबाट लिने विषयमा जापानका सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत हुनुपर्ने देखिन्छ ।

के गर्न सकिन्छ त ?

जापानमा विभिन्न उद्देश्य बोकेर खोलिएका ९० भन्दा बढि संघसंस्थाहरु रहेको पछिल्लो तथ्याङ्कले देखाउँछ तर यस विषयमा चासो भने कमैले मात्र दिएको पाइन्छ । साइबर सेक्युरिटीका बारेमा अहिलेसम्म कुनैपनि संस्थाले सेमिनार वा तालिम दिएको जानकारी मलाई छैन । अन्य समस्याहरु जस्तै सामाजिक सञ्जाल पनि बहसको विषय बनाईनु आवश्यक छ । सामाजिक सञ्जालहरुमा पोष्ट हुने हरेक कुरालाई मनिटर गर्न नसकिए पनि, के गर्ने के नगर्ने भन्ने विषयमा जानकारीहरु जापानका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ पु¥याउनु आवश्यक छ, ‘जस्तो छ त्यस्तै चलिरहोस्’ भनेर छोड्ने हो भने भविष्यमा यसले ठूलै समस्या ननिम्त्याउला भन्न सकिदैन । ***

– लेखकलाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया