Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

आज विश्वभर अमेरिका भन्ने शब्द आफैमा गौरववान भएको छ । त्यहाँको डलरले आज विश्वबजार खाएको छ । उनीहरु नयाँ प्रविधिको आविष्कारमा दुई कदम अगाडि आफ्ना सफलताका पाईलाहरु चाल्दै गएकाछन् । अमेरिकामा उत्पादन हुने सामाग्रीहरुसंग अन्य देशका उत्पादन सामाग्रीहरुले प्रतिस्पर्धा गर्न सक्ने अवस्था पनि छैन । त्यसैले सुसम्पन्न अमेरिकाले आफ्नो देशका नागरिकहरुलाई विभिन्न किसिमका सेवा सुविधा दिने गरेको छ । तर सोही देशमा पुगेका आप्रवासीहरुको अर्थात विभिन्न किसिमको बहाना बनाई अमेरिका भासिएकाहरुका मानिसको जीवन कस्तो होला ?  सवैको मनमा यो कुराले कौतुहलता जगाउने गरेको छ । एक दशक लामो मेरो पत्रकारिता पेशालाई आत्मसाथ गरी विभिन्न फरक/फरक विषयवस्तुमा मैले कलम चलाउँदै गर्दा आज अमेरिकामा छरिएर रहेका नेपालीहरुको कथा, ब्यथा र त्यहाँका मानिसहरुले भोगेको पीडाका घाउलाई फेरी एकपटक कलमको माध्यमबाट बल्झाउदै छु ।

बाहिरबाट जसरी अमेरिका भनेर चिनिने गरेको छ, त्यो भन्दा फरक छ, अमेरिकामा बासोवास गर्ने नागरिकहरुको पीडा । अझै वर्षौदेखि शरणार्थी जीवन विताई अमेरिकामा रगतको पसिना बगाउनु परेकाहरुको कहालिलाग्दो जीवनको पीडा कसैले कल्पना समेत गर्न सक्दैन । अमेरिकामा पुगेका अन्य देशका नागरिकहरु मात्र नभएर आफ्नै देशका नागरिकप्रति राज्य कति उदासिन छ त्यसको ब्याख्या विश्लेषण गर्न गाह्रो छ । उनीहरु रात दिन आगोको रापमा पिल्सिए जस्तो गरी जीवन विताउनुपरेको छ । अमेरिकामा रहेको सवैभन्दा ठूलो रंगभेदका कारण सयौं मानिसहरु सुरक्षित स्थानको खोजीमा चित्कारको आवाज निकाल्दै आफ्नो पुर्ख्यौली थातथलो छोड्ने गर्दछन । मातृभूमिमा भईरहेको आन्तरिक द्वन्द्व र बाहिरबाट हुने आतंककारीको गतिविधिबाट जोगिन उनीहरुले अन्य देशहरुसंग शरण लिन पुग्ने गर्दछन । त्यतिकै त आफू जन्मेको हुर्केको ठाउँ छाडेर अर्काको मुलुकमा शरणार्थी बन्ने चाहना कसैमा हुँदैन । हरेक मानिसको आफ्नो मुलुकसित छुट्टै नाता हुन्छ । त्यो नाताबाट विछोडिनुपरेको पीडा कति चर्को छ ? अहिले अमेरिकामा यस्तो पीडा छ, भन्दा विश्वास नलाग्न सक्छ, तर बास्तविकता त्यहि छ । न देशको वातावरण नै राम्रो छ, न बुढौलीमा बाबुआमाले छोराछोरीको सुखको कमाई खान लाउन समेत पाउँदैनन् । जीवनको अन्त्यसम्म पनि आफ्नै पाखुरा बजारेर बाँच्नुपर्ने कष्टकर जीवन छ, त्यहाँका नागरिकको । अमेरिकामा यस्तै-यस्तै दर्दनाक पीडाको जाँतोमा पिल्सिएर बस्न बाध्य छन, नेपालीहरु पनि ।

त्यसैले त उनीहरु जुन नेपाल र नेपाली भन्ने वित्तिकै मन हर्षित हुने गरेको बताउँछन । एउटै घरमा बासोवास गर्ने नेपाली भएपनि हप्तौ महिनौसम्म भेटघाट समेत हुन पाउँदैनन् । जीवनको यात्रामा भोगेका सुख दुःखका कुराहरुले मन भरिएको हुन्छ । तर सवै एक आपसमा आदान प्रदान गर्न नपाउँदाको पीडाले उनीहरु झनै छट्पटाईरहेका हुन्छन् । कहिलेकाँही भेट भयो भने, शरीर प्रदेशमा भएपनि मन स्वदेशमै भएको जस्तो गरी एक आपसमा अंगलो हालेर आफ्नो अनुभूतिलाई साटासाट गर्ने गर्दछन् । पछिल्लो समयमा नेपालीहरुले पाएको सुख र दुःखको विषयबस्तुमा सवैले सञ्चारमाध्यबाट देख्न, पढ्न र लेख्न पाएका छन् ।

उनीहरुको घाउमा मलमपट्टी बाँध्ने काम संचार जगतले गरेको छ । मनमा गुम्सिएर रहेका कुराहरुलाई आफन्तसम्म पुर्‍याई उनीहरुको दैनिक जीवनमा भएका सत्य र तथ्य कुरालाई बाहिर ल्याउन गतिलो हतियार सञ्चारमाध्यम भएको छ । केही समय अघिदेखि आफुहरुले भोगेका दुःखका घटनालाई सम्हाल्न नसकि आत्महत्याको बाटो रोज्नेहरुको संख्या पनि बढ्दै गईरहेको छ । त्यसमा अमेरिकी नागरिकमात्र नभएर बाहिरबाट गएका गैर नागरिकहरुको संख्या धेरै रहेको सरकारी तथ्यहरु सार्वजनिक भईरहेका छन् । त्यहि पीडाको घाउमा मलम लगाउनका लागि अमेरिकी समाजमा नव धनाढ्यहरुको बाहुल्यतासँगै आफ्नो नेपालीको अस्तित्व खोज्ने प्रयासमा भईरहेको छ । नेपाली कला सँस्कृतिलाई सँधै माया गरी त्यसको जगेर्ना गर्ने तर्फ पछिल्लो पिढीहरु अग्रसर भएर लाग्ने गरेका छन । सुविधासम्पन्न आधुनिक जीवन जिउन पाउँदा जति खुशी छन, त्यति नै दुःखी पनि छन्, त्यहाँको रहन सहन, रितिरिवाज, चालचलन र कला सँस्कृति देखेर नेपालीहरु वाक्क दिक्क हुने गरेका छन् ।

त्यसैले अमेरिकामा वर्षौवर्षसम्म बसेर राम्रो आर्थिक हैसियत बनाएका नेपालीहरु पनि रात दिन आफ्नो प्यारो जन्मभूमिलाई सम्झिरहेका हुन्छ । गरिवीले मानिसलाई अन्य देशमा जति गुलामी गर्नुपर्ने बाध्य बनाए पनि आफ्नो नेपाली हुनुको गौरव र जन्मभूमिलाई कहिलै विर्सिएका हुँदैनन् । जीवन जिउनका लागि संसारको जुन कुनामा गए पनि सवै नेपालीहरुको अन्तिम चाहना आफ्नै देशमा देह त्याग्न पाईयोस भन्ने रहेको छ । त्यसैले त उनीहरु नेपाली भएर जन्मनु र नेपालमै देहत्याग्न पाईयोस भनेर प्रार्थाना गर्दछन । हामी जहाँसुकै कुना कन्दरामा भए पनि हामी नेपाली हौं, नेपाली भएर जिउनुपर्दछ भन्ने गरेका छन् । जति सुख दुःखको जीवन विताए पनि नेपाली कला, संस्कृति, सामाजिक संस्कारलाई त्यति नै माया गर्दछन, भने कहिल्यै पनि तिनलाई विर्सन सक्दैनन् । देशको विकराल अवस्थाबाट उकुसमुकुस भएर विदेशीन बाध्य भएका नेपालीहरु पनि त्यहाँको सामाजिक सँस्कारले छिट्टै नै आफ्नो देशको स्मरण गराउने गर्दछ । अमेरिका यस्तो देश हो, जहाँ काम नगरी कोही टिक्नैसक्दैन । अमेरिकामा गएका नेपालीहरु कडा मिहिनेतमा कमाएको रुपैयाँ उनीहरुलाई आफ्नो मातृभूमिका केही गर्ने चाहाना गरेका हुन्छन । अव त्यसका लागि राज्यले उनीहरुका लागि सहज वातावरण बनाई विदेशमा बसोबास, मिहेनत गरी व्यापार व्यवसाय गर्न त्यहाँको कानुनी धेरै अप्ठयारो भएकाले स्वदेशमै लगानी गर्नका लागि प्रोत्साहन दिई अमेरिकामा रहेका नेपालीलाई मात्र नभएर विश्वमा छरिएर रहेका नेपालीहरुलाई आफ्नै देशमा फर्कने वातावरण राज्यले बनाई संसारभर रहेका नेपालीहरुले पनि आफ्नो काम, कर्तब्य र अधिकार के हो ? भन्ने कुराको बोध गरी जन्मभूमि फर्किने सोच गर्नु अति आवश्यक छ ।

(लेखक दैलेख जिल्लाबाट प्रकाशित हुने साझा प्रतिविम्व साप्ताहिकका कार्यकारी सम्पादक हुन)
Email: [email protected]

तपाईको प्रतिक्रिया