Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । एन्फा कम्लेक्सको खेल मैदानमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ६-० गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलमा नेपालका लागि १४ औँ मिनेटमा ब्रिजेश चौधरीले गोल गर्दै अग्रता दिलाए, २२ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे । ३८ औँ मिनेटमा रोशन राना मगरको गोलले नेपाल ३-० ले अघि थियो । पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपालका लागि आकाश बुढामगरले ४-० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गरेको नेपालका लागि आकाशले नै ४७ औँ मिनेटमा गोल गरे । यस्तै ब्रिजेशले ७३ औँ मिनेटमा गोल गरेर नेपाललाई ६-० को जित दिलाए ।

दक्षिण एसियाली फुटबल संघ साफको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा यसअघि माल्दिभ्स भारतसँग ९-० गोल अन्तरले हारेको थियो । यसैले समूह ‘बि’ बाट नेपाल र भारत सेमिफाइनलमा पुगेका हुन् । समूह विजेताको टुंगो भने आउँदो मंगलबार नेपाल र भारतबिचको खेलले तय गर्ने छ ।

समूह ‘बि’ मा भारत, माल्दिभ्स र नेपाल रहेका छन् । समूह ‘ए’ मा रहेको बंगलादेशले शुक्रबार श्रीलंकालाई हराएको थियो । समूह ‘ए’ मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् ।

तपाईको प्रतिक्रिया