काठमाडौं – कर छलेको आरोप खेपिरहेका पोर्चुगलका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो स्पेनको एक अदालतमा अाज उपस्थित भएका छन् । त्यहाँ उनले आफ्नो तर्फबाट प्रमाण पेश गर्ने बताइएको छ।
अभियोजनकर्ताहरुले सन् २०१० देखि रोनाल्डोले १ करोड ७० लाख डलर कर छलेको दावी गरेका छन् ।
करछलीका लागि खडा गरिएका विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको भन्ने आरोप उनका एजेण्टले अस्वीकार गरेका छन् ।
दोषी ठहर भए पोर्चुगलका यी ३२ वर्षीय फुटबल खेलाडीले २ करोड जरिवाना तिर्नुपर्ने र साढे तीन वर्ष जेल सजाय भोग्नुपर्ने हुनसक्छ । रिआल मड्रिडका लागि खेल्ने रोनाल्डो विश्वकै सबैभन्दा बढी रकम पाउने खेलाडी भएको बताइन्छ । आफूविरुद्धको आरोप अस्वीकार गर्दै यसअघि उनले आफ्नो चित्त शुद्ध रहेको बताएका थिए ।
कर छलेकोमा दोषी ठहर भएका अर्जेन्टिनाका खेलाडी लियोनेल मेसीलाई गत वर्ष २१ महिनाका लागि जेल सजाय सुनाइएको थियो । तर यसै महिनाको शुरुतिर अदालतले जेल सजायको सट्टा उनले २५२,००० युरो तिर्नसक्ने बताएको थियो । -एजेन्सी