शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ  – ट्राफिक प्रहरीलाई अहिले जेब्राक्रसबाट सडक पार नगर्ने पैदल यात्रु नियन्त्रणमा लिई जरिवाना गर्न भ्याई नभ्याई छ । तर सडकमा बिनानम्बर प्लेटका सवारी साधन निर्बाध चलिरहेका छन् ।

खासगरी दुईपाङ्ग्रे विद्युतीय सवारी साधन निर्बाध चल्ने गरेका छन्, त्यसमा ट्राफिक प्रहरीका आँखा पर्दैन । यातायात ऐनमा साइकलको वर्गमा राखिएको यो मोटर साइकलको भारवहन क्षमता र गति भने मोटर साइकल र स्कुटरजस्तै हुन्छ ।

राजधानीका सडकमा बिनानम्बर प्लेट, बिनाहेल्मेट र बिना सवारी चालक अनुमतिपत्रका मोटर साइकलकै क्षमता अनुसारको गतिमा हुइँकिने यस्ता विद्युतीय सवारी साधनको सङ्ख्या बाक्लिँदो छ । तर, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले यसलाई गम्भीरतापूर्वक नलिएको गुनासो सर्वसाधारणको छ ।

भीमेश्वर नगरपालिका ५, दोलखा घर भई कोटेश्वर बस्ने दिनेश श्रेष्ठले यान्त्रिक साइकल र गतिका आधारमा जुनसुकै बेला गम्भीर दुर्घटनामा पर्न र पार्न सक्ने भएकाले यसको व्यवस्थापनलाई हल्का रूपमा लिन नहुने बताउनुभयो । उहाँले निरीह पैदलयात्रीको सडक पार गर्ने जोखिमभन्दा ठूलो जोखिम यस्ता सवारी साधनमा रहेको तर ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यलयले यसमा चासो नै नदिएको आरोप लगाउनुभयो ।

श्रेष्ठले भनेजस्तो दुर्घटनाको सम्भावना मात्र नभई यस्ता यान्त्रिक साइकलको प्रयोग गरेर आपराधिक घटना गर्न पनि सहज हुने सम्भावना रहन्छ । अपराधीले नम्बर प्लेटबिनाका सवारी साधन लिएर भाग्न चाहे प्रहरीले पक्रने कुनै आधार नै रहँदैन ।

तपाईको प्रतिक्रिया