शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं  – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि मुम्बइ इण्डियन्सले जितेको छ । बिहीबार राति भएको फाइनलमा १ रनले राइजिङ पुने सुपरजाइण्ट्सलाई हराउँदै मुम्बइले उपाधि जितेको हो ।

आइपिएलको १० वर्षे इतिहासमा मुम्बइ सबैभन्दा धेरै तीनपटक उपाधि जित्ने टीम पनि बनेको छ । १ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले २० ओभरमा ६ विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो ।

पुनेका कप्तान स्टेभेन स्मिथको ५० बलमा ५१ रन, अजिन्क्या रहानेले ३८ बलमा ४४ रन बनाउनु बाहेक अरुले उल्लेख्य योगदान गर्न सकेनन् । मुम्बइले खेलको अन्तिम ओभरमा नतिजा आफ्नो पक्षमा पारेको थियो ।

अन्तिम ६ बलमा जितका लागि ११ रन चाहिएको अवस्थामा मुम्बइका मिचेल जोनसनले दोश्रो बलमा मनोज तिवारी र तेश्रो बलमा कप्तान स्मिथलाई आउट गरे । पुनेले अन्तिम तीन बलमा चार रन मात्र बनाउन सक्यो र खेल एक रनले हार्यो । मुम्बईका मिचेल जोनसनले तीन साथै जस्प्रित बुम्राहले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको मुम्बईको पनि ब्याटिङ कमजोर देखिएको थियो । २० ओभरमा ८ विकेट जाँदा मुम्बईले १ सय २९ रन बनाएको थियो । मुम्बईका रोहित शर्माले २२ बलमा २४ रन, कुर्नाल पाण्डेले ३८ बलमा ४७ रन बनाएका थिए । पुनेका जयदेव उनाडकट, आदम जम्पा, ड्यानियल क्रिष्टियनले दुई दुई विकेट लिए ।

तपाईको प्रतिक्रिया