Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

मुलुकको आर्थिक बिकासमा बिदेशमा बस्ने नेपालीहरुको भूमिका महत्वपूर्ण 

टोकियो – नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुले आफ्ना चुनावी मुद्धा आर्थिक समृद्धिमा केन्द्रित गरेको बताउनुभएको छ । स्थानीय इकाइलाई अब राजनैतिक निकाय नभएर बिकास निकायकारुपमा अगाडि बढाईने बताउँदै मन्त्री महराले यसै वर्षदेखि आर्थिक बृद्धिदर बढेर ६ दशमलव ९ प्रतिशत पुग्नुले अब मुलुक तिब्र आर्थिक बिकासको दिशामा उन्मुख भईसकेको संकेत गरेको बताउनुभयो ।

आइतवार साँझ टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महराले स्थानीय स्वायत्ततामा आधारित राज्यको संरचनाको संविधानमा ब्यवस्था गरिए पनि व्यवहारमा अस्तित्व सिर्जना भईनसकेकोले यही अस्तित्व स्थापित गर्न आसन्न स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

योकोहामामा भएको एडीबीको ५० औं वार्षिक बैठकमा भाग लिन शुक्रबार जापान आउनुभएका उपप्रधान तथा अर्थमन्त्री महराको स्वागतमा नेपाली राजदूतावास टोकियोद्वारा आयोजित एक रात्रीभोजसहितको भेटघाट कार्यक्रममा जापानबासी नेपालीहरुमाझ बोल्दै उहाँले भन्नुभयो – ’स्थानीय सरकार जनताको आवश्यकता मात्र नभएर अधिकार पनि हो, यसको प्रत्याभूतिका लागि निर्वाचन अति आवश्यक छ, मुलुक अब निर्बाचनमा होमिईसकेको छ, निर्वाचन हुनेमा अब कुनै द्विबिधा छैन ।’

मन्त्री महराले मुलुकको आर्थिक बिकासको अभियानमा बिदेशमा बस्ने नेपालीहरुको भूमिका महत्वपूर्ण रहने भन्दै आ-आफ्नो ठाउँबाट सहकार्य गर्न अपील गर्नुभयो ।

सो अवसरमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले बिदेशमा बस्ने एनआरएनहरुले मुलुकको आर्थिक समृद्धिको अभियानमा नेपाल सरकारसंग सहकार्य गरेर अगाडि बढ्न उत्सुक रहेको बताउनुभयो । उहाँले बिदेशमा आर्जेको पूँजी, सीप, अनुभव र दक्षतालाई आफ्नो मुलुकमा उपयोग गर्ने महाअभियानका साथ बिश्वब्यापी सञ्जालमा बिस्तारित एनआरएन नेपालको बिकासमा एक साझेदारी बन्दै आईरहेको धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रमको प्रारम्भमा जापानका लागि कार्यबाहक राजदूत कृष्णचन्द्र अर्यालले मन्त्री महराको प्रतिनिधिमण्डललाई स्वागत गर्दै जापानमा रहेका नेपालीहरुको अवस्था, चुनौती, अवसर र संभावनाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले संकटको बेलामा जापानका नेपालीहरु सँधै एकढिक्का हुने गरेको स्मरण गर्दै नेपालको बिकासमा जापानका नेपालीहरुबाट रचनात्मक सहयोग भईरहेको बिचार ब्यक्त गर्नुभयो ।

मन्त्री महराको ५ सदस्यीय प्रतिनिधिमण्डलमा अर्थसचिव शान्तराज सुवेदी, अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव बैकुण्ठ अर्याल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव सूर्य पोखरेल र अर्थमन्त्रीका स्वकिय सचिव राहुल महरा रहनुभएको थियो । प्रतिनिधिमण्डल आइतवारै स्वदेश प्रस्थान गरेको छ ।

भेटघाट कार्यक्रममा जापानमा क्रियाशील बिभिन्न राजनैतिक दलका भात्तृसंगठन तथा अन्य संघसंस्थाका प्रतिनिधि, एनआरएन अभियान्ता, ब्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यही मे ४ देखि ७ सम्म चलेको एडीबीको ५० औं वार्षिक बैठकको उदघाटन समारोहमा जापानी राजकुमार नारुहितोको पनि उपस्थिति रहेको थियो । सो अवसरमा राजकुमार नारुहितोले सम्बोधन गर्दै एशियाली क्षेत्रको बिकासको लागि एडिबीको भूमिका थप प्रभावकारी हुँदै जाने बिश्वास ब्यक्त गर्नुभएको थियो । सो सम्मेलनमा एडिबीका ६७ सदस्य राष्ट्रका अर्थमन्त्री तथा केन्द्रिय बैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाल सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री महराले पनि सम्बोधन गर्नुभएको थियो । उक्त अर्थ मन्त्रीस्तरिय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा जापानी उपप्रधान तथा अर्थमन्त्री तारो आसोले एडीवी कोषलाई ४ करोड डलर उपलब्ध गराउने प्रतिबध्दता ब्यक्त गर्नुभएको छ । ***

सम्बन्धित अन्य समाचार

तपाईको प्रतिक्रिया