Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पत्रकारिता पुरस्कारबाट मल्ल सम्मानित

टोकियो – आज टोकियोमा आयोजित साँगीतिक कार्यक्रम रंगीन साँझमा नेपालका चर्चित कलाकारहरु ज्योति मगर, पुश्कल शर्मा, स्मृति तिमिल्सिना लगायतले आ-आफ्ना प्रस्तुतीहरु मार्फत भरपुर मनोरञ्जन प्रदान गरे ।

रंगीन संसार डट कमले गोल्डेन वीकको बिदाको अवसर पारेर आयोजना गरेको सो कार्यक्रममा हट गायिकाकारुपमा चर्चामा रहेकी ज्योति मगरले आफ्ना थुप्रै चल्तीका गीतहरु गाएर दर्शकहरुलाई झुमाएकी थिईन् ।
उत्ताउला र समाजमा नपच्ने खालका गीतहरु गाएर एवं अभिनय गरेर नेपाली लोक साँगीतिक क्षेत्रमा विकृति भित्र्याएको आरोप खेप्दै आएकी ज्योतिले फेरिएको समयसंगै बजारको मागअनुसार गीतको भावसंग मिल्दोजुल्दो छोटा पहिरनमा प्रस्तुती दिनुलाई अन्यथा लिन नहुने र यो आफ्नो दोष नभएर समाजको हेर्ने दृष्टिकोणको दोष भएको बताईन् ।

कार्यक्रममा आकर्षणको केन्द्रबिन्दु बनेकी ज्योतिले आफ्ना चर्चामा रहेका झण्डै दर्जन जति गीतहरु गाउँदा दर्शकदीर्घा रोमाञ्चित बनेको थियो ।

यसैगरी चल्तीका गायक पुश्कल शर्माले सुरुमा मर्मस्पर्शी एवं बिरहपूर्ण गीतहरु गाएर दर्शकहरुलाई भावबिह्वल बनाएका थिए भने पछि रोमाञ्चक गीतहरु पस्केर नचाएका थिए । यसैगरी स्मृति तिमिल्सिना (गुरुआमा) को एकल नृत्यले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो । कार्यक्रममा रुपा घर्ती मगर, सन्तोष परियार, समुन्द्रराज पौड्याल लगायतका अन्य कलाकारहरुले पनि साथ दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि कार्यबाहक नेपाली राजदूत कृष्णचन्द्र अर्याल, कार्यक्रमका सभापति एवं रंगीन संसार डट कमका अध्यक्ष जीवन न्यौपाने लगायत बिशेष अतिथिहरुले रंगीन साँझको रिबन काटेर संयुक्तरुपमा उदघाटन गरेका थिए । राष्ट्रियगानबाट सुरु गरिएको सो कार्यक्रममा अनलाईन पोर्टल रंगीन संसार डट कमको बिधिवत उदघाटन पनि गरिएको थियो ।

कार्यक्रममा बिगत डेढ दशकदेखि जापानमा निरन्तर पत्रकारितामा क्रियाशील रही पत्रकारिता मार्फत नेपाली समुदाय र राष्ट्रलाई पुर्‍याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष समेत रहेका महासंघका निवर्तमान अध्यक्ष एवं नेपाली समाचार तथा समुद्रपारि डट कमका प्रधानसम्पादक तिलक मल्ललाई रंगीन पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।कार्यक्रमको प्रारम्भमा आयोजकका तर्फबाट सुरेश रेग्मीले उपस्थित सबैमा स्वागत गरेका थिए भने मुक्ति सुबेदी र रुपा घर्ती मगरको सञ्चालन रहेको थियो ।

रंगीन साँझ गोल्डेन वीकका अवसरमा लगातार आयोजित धुर्मुस सुन्तली साँझ र साकुरा नाइट पछिको तेस्रो साँगीतिक कार्यक्रम हो । एकै अवसरमा लगातार कार्यक्रम आयोजना गरिनुले आयोजकहरुबीच समन्वयको अभाव रहेको प्रष्टै देखिन्थ्यो भने दर्शकहरुका लागि समयको तालमेल मिलाउन हम्मे हम्मे परेको थियो ।***

तपाईको प्रतिक्रिया