Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाल पत्रकार महासंघ जापान शाखाको नयाँ कार्यसमितिलाई अघिल्लो कार्यसमितिले मंगलबार एक समारोहकाबीच बुझबुझारथ गरेको छ ।

गत अप्रिल १० मा सम्पन्न तेस्रो अधिवेशनबाट निर्वाचित १३ सदस्यीय नयाँ कार्यसमितिलाई निबर्तमान कार्यसमितिले महासंघको आर्थिक, साँगठानिक तथा अन्य आधिकारिक दस्ताबेजहरु बुझबुझारथ गरेको हो ।

तेस्रो अधिवेशनमा नयाँ कार्यसमिति निर्माण प्रयोजनका लागि गठित निर्वाचन समितिका संयोजक भूषण घिमिरेको सभापतित्वमा भएको बुझबुझारथ समारोहमा महासंघका निबर्तमान अध्यक्ष तिलक मल्लले वर्तमान अध्यक्ष मोहनसिंह घलेललाई बुझबुझारथ गरेका हुन् ।
सो अवसरमा बोल्दै महासंघकी केन्द्रीय सदस्यसमेत रहेकी निर्वाचन समितिकी सदस्य पवनवर्षा शाहले महासंघलाई जापानमा स्थापित गरी आजको स्थितिसम्म ल्याउन र पत्रकारहरुलाई पत्रकार हुनुको अनुभूत दिलाउन संस्थापक तथा अग्रजहरुले खेलेको भूमिका र योगदानलाई बिर्सन नहुने धारणा ब्यक्त गरिन् ।

यसैगरी संस्थापक अध्यक्षसमेत रहेका निबर्तमान अध्यक्ष तिलक मल्लले जापानमा रहेका पत्रकारहरुलाई एकत्रित गर्दै महासंघमा गोलबन्द गर्ने प्रयासले सार्थकता पाएको बताए । उनले जापानका पत्रकारहरुलाई स्वघोषित पत्रकार नभएर अरुद्वारा पत्रकार भनेर चिनिने गरी र देखिने गरी पत्रकारिता गर्न आग्रह गर्दै पत्रकारहरुको कार्यक्षमता अभिबृद्धि गर्नेतिर नयाँ टिमको ध्यान जान आवश्यक रहेको बताए । उनले फेरिएको समयसंगै महासंघको जिम्मेवारी एवं जनअपेक्षा बढेकोले सोहीअनुरुप महासंघलाई अगाडि बढाउन थपिएको दायित्व पुरा गर्न नयाँ टिमलाई सफलताको कामना गरे ।
बुझबुझारथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष घलेले अग्रजहरुबाट सिक्दै सामुहिक नेतृत्वको आधारमा सबै पत्रकारहरुलाई समेटेर महासंघलाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे । उनले आफ्नो दुईवर्षे कार्यकालमा करिव २० लाख येन बराबरको पत्रकार अक्षय कोष निर्माण गर्ने, पत्रकारहरुको दक्षता अभिबृद्धि सम्बन्धि कार्यक्रमहरु ल्याईने र पत्रकारहरुबीच निरन्तर अन्तरसंबाद जारी राखिने लगायतका योजनाहरु रहेको जानकारी दिए ।

बुझबुझारथ समारोहको समापन मन्तब्य राख्दै संयोजक घिमिरेले जापानका पत्रकारहरुले क्रियाशीलता बढाउन जरुरी रहेको बताए । पत्रकार भनेर चिनिनका लागि पहिले काम गरेर देखाउनुपर्ने सँस्कारको बिकास हुन जरुरी रहेको बताउँदै घिमिरेले नयाँ टिमले यस दिशामा कदम चाल्न सुझाव दिए । जापानका अन्य संघसंस्थाभन्दा महासंघले पृथक र बिशेष पहिचान बनाउन जरुरी रहेको बताउँदै घिमिरेले त्यसका लागि सोहीअनुसारको कार्यसम्पादन र कार्यकुशलताको जरुरी रहेको धारणा ब्यक्त गरे ।

बुझबुझारथ समारोहमा स्वागत तथा बधाई मन्तब्य राख्दै निवर्तमान कोषाध्यक्ष श्रवण सत्यालले जापानको नेपाली समुदायमा महासंघको बिरासतलाई आजको उचाईसम्म ल्याउन अथक मिहिनेत गर्ने अग्रजहरुको योगदानलाई अवमुल्यन गर्न नहुने बिचार ब्यक्त गरे । सत्यालले नेताशैलीमा यो गर्छु र त्यो गर्छु जस्ता आश्वासन भन्दा काम गरेर देखाउन नयाँ समितिलाई आग्रह गरे ।

उक्त अवसरमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समितिका संयोजक घिमिरे तथा निर्वाचन समितिकी सदस्य शाहले पदीय जिम्मेवारीको प्रमाण पत्र प्रदान गरेका थिए ।

ननिर्वाचित उपाध्यक्ष पूर्णबहादुर चलाउनेले आफुले पाएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अधिवेशन र निर्वाचनका बेला देखिएका मतभेदहरुलाई बिर्सेर फेरि एकढिक्का भएर महासंघलाई अगाडि बढाउनुपर्ने बिचार ब्यक्त गरे ।

कार्यक्रमको सहजीकरण गर्दै नवनिर्वाचित सचिव ऋतुकुमार दुराले आफ्नो कुनै पनि दलबिशेष राजनीतिमा संलग्नता नरहेको बताउँदै महासंघमा चुनिएर आएका ब्यक्तिहरुले पार्टीको कार्यकर्ता शैलीमा राजनीति गर्न नहुने बिचार ब्यक्त गरे । सचिव दुराले महासंघ राजनीति चलखेल गर्ने थलो नभएको भन्दै राजनीति गर्न ईच्छा हुनेहरु पार्टीका भात्तृसंस्थामा गएर गर्न सुझाव दिए ।

कार्यक्रममा नवनिर्वाचित सदस्यहरु संगिता कुँवर, आनन्द कोइराला, रविन्द्र श्रेष्ठ, शन्त पहरी, रमेश श्रीष मगरले आ-आफ्नो धारणा ब्यक्त गर्दै कर्त्तब्यनिष्ठ भएर आ-आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
बुझबुझारथ कार्यक्रममा निबर्तमान कार्यसमितिकी सदस्य प्रेमिला गौचन, महासंघका पूर्व सचिव अनुपराज कँडेलले नयाँ कार्यसमितिलाई आग्रह, पूर्वाग्रहबाट माथि उठेर कार्य गर्न सुझावसहित शुभकामना दिए ।
बुझबुझारथ कार्यक्रममा नवनिर्वाचित अर्का उपाध्यक्ष बिनोदकुमार सापकोटा, कोषाध्यक्ष रामबहादुर थापा, सहसचिव कुमार मोक्तान लामा र सदस्य मुक्ति सुबेदी उपस्थित थिएनन् ।

महासंघको आचारसंहिता अनुसार जापान शाखाको पदाधिकारीमा रहनका लागि अन्यत्रको पदाधिकारीको जिम्मेवारीबाट राजीनामा दिनुपर्ने प्रावधान बमोजिम महासंघको पदाधिकारीमा निर्वाचितहरुले अन्यत्रको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

अध्यक्ष घलेकाअनुसार उपाध्यक्षमा निर्वाचित पूर्णबहादुर चलाउनेले सुदूरपश्चिमेली समाज जापानको अध्यक्षबाट, सचिवमा निर्वाचित ऋतुकुमार दुराले लमजुङ समाज जापानको अध्यक्षबाट, कोषाध्यक्षमा निर्वाचित रामबहादुर थापा ’राजबिन’ ले बागलुङ समाज जापानको अध्यक्षबाट र सहसचिवमा निर्वाचित कुमार मोक्तान लामाले तामाङ समाज जापानको महासचिवबाट राजीनामा दिएका छन् । दोहोरो भूमिका र जिम्मेवारीका कारण महासंघको कार्यसम्पादनमा असर पर्ने गरेको बिगतको अनुभवबाट सिक्दै कार्यसमितिको पदाधिकारीमा रहनका लागि हालै सम्पन्न तेस्रो अधिवेशनदेखि यसप्रकारको आचारसंहिता लागू गरिएको हो ।***

तपाईको प्रतिक्रिया