शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – विहिबार नुनदेखि सुनसम्मको मुल्यमा वृद्धि भएको छ । प्रतिकिलो १८ रुपैयाँमा किन्दै आएको नुन अब २० रुपैयाँमा किन्नु पर्ने भएको छ भने सुनको भाउ पनि आज अकस्मात मुल्यले बढेको छ । तोलामा एकै दिन सात सयले उकालो लागेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नुनको मुल्य बढाउन गरेको प्रस्ताव सरकारको केन्द्रीय अनुगमन समितिले स्वीकृत गरेपछि नुनको भाउ बढेको हो । यो प्रस्ताव स्वीकृतसँगै आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो २ रुपैयाँ र ढिके नुनको मूल्य किलोमा झण्डै १ रुपैयाँ बढ्नेछ । साल्ट ट्रेडिङले सरकारलाई किलोमा ५ रुपैयाँ बढाउन प्रस्ताव लगेको थियो । केन्द्रीय अनुगमन समितिले किलोमा २ रुपैयाँ बढाउन सहमति दिएपछि अब नुन प्रतिकिलो २० रुपैयाँ पर्नेछ ।
यता, सुनको भाउ बिहीबार तोलामा सात सयले बढेको छ । पछिल्लो समय लगातारजसो घटेको सुनको मूल्य बिहीबार एकाएक चुलिएको हो । अमेरिकी फेडरल रिजर्भले बैंक ब्याजदरमा वृद्धि गरेपछि त्यसको प्रभाव सुन बजारमा देखिएको व्यवसायीको भनाई छ । बुधबार तोलामा ५३ हजार दुई सय सयमा कारोबार भएको सुन बिहीबार भने बढेर ५३ हजार नौ सय रुपैयाँमा किनबेच भएको सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया