Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – अग्रज परम्परागत मूर्तिकार राजकुमार शाक्य विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो बनाउन लाग्नुभएको छ ।

नेपाल ललितकला पत्रकार समाजले हरेक महिनाको दोस्रो बुधबार गर्दै आएको ‘कलाका कुरा’ को १५औँ शृंखलामा शाक्यले धातुको पातामा भैरवको मूर्ति कुँदिने बताउनुभयो । “त्यसले नेपाललाई विश्वमै चिनाउन मद्दत गर्ने छ” उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कलाको इतिहास दुई हजार वर्ष लामो रहेको र त्यसले हामीलाई आफ्नो पहिचान दिन सकेको बताउँदै उहाँले भन्नुभयो “नेपाली मूर्तिकलाको मौलिकताले हामीलाई समृद्ध र वैभवशाली बनाएको छ । हाम्रा पुर्खाको सीप र क्षमताले हामीलाई विश्वमै परिचित गराउन सकेको छ ।” उहाँले नेपाली परम्परागत मूर्तिकलाका विविध आयाम र विकासबाट यसले प्राचीनकालदेखि नै आर्थिक विकासमा योगदान दिएको बताउनुभयो ।

परम्परागत रुपमा पारिवारिक पृष्ठभूमिबाटै यस क्षेत्रमा लाग्ने अवस्था अहिले अन्त्य भएको छ । अचेल अन्य समुदायबाट पनि परम्परागत कलाका क्षेत्रमा लाग्नेहरुको सङ्ख्या बढ्दै गएको छ । यसले सबैमा यसको पहुँच पुर्‍याउन सहयोग गरेको र आर्थिक विकासमा समेत मद्दत पुर्‍याएको छ ।

राज्यले थोरै मात्र चासो राखेमा नेपाली कलाले विश्वमा आफ्नो प्रभुत्व जमाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । “अहिले पनि कलाकारलाई अर्डर बमोजिम काम गर्न भ्याइनभ्याई छ । राज्यले यो कलालाई पनि उच्च शिक्षाको घेरामा ल्याएमा नयाँ पुस्ताको आकर्षण र रोजगारी अझै बढ्छ”, शाक्यले भन्नुभयोे ।

“नेपाली परम्परागत कलाको सीप र कालिगढी क्षमता विश्वमै विशिष्ट रहेको छ । नेपाली कलाकारको माग लिच्छविकालदेखि नै अन्तर्राष्ट्रिय रुपमै रहेको थियो, जुन आजसम्म कायम छ”, शाक्यले भन्नुभयो ।

नेपाली कला परम्परामा धातुको पातामा सिधै मूर्ति बनाउने मूर्तिकारको छवि बनाउनुभएका शाक्यले भुटानमा एक सय २५ फिट अग्लो मूर्ति निर्माण गर्नुभएको छ । उहाँले नेपालका विभिन्न गुम्बा, स्तूप र मन्दिरमा आफ्नो कलाकृति बनाइसक्नुभएको छ भने भारतलगायत विश्वका विभिन्न स्थानमा आफ्ना सिर्जना पुर्‍याइसक्नुभएको छ ।

समाजमा धार्मिक र आर्थिक उपार्जन गर्नमा कलाको भूमिका अहम् रहनेमा उहाँले जोड दिनुभयो । कलाकारले बनाउने कलाले समाजका मानिसमा सकारात्मक प्रभाव पार्नेसमेत उहाँले बताउनुभयो ।

नेपाली परम्परागत कलाको विकासका साथै यसमा कलाकारको क्षमता अभिवृद्धिका विविध कार्यक्रम गर्ने उद्देश्यसहित स्थापित सुमेरु कलाग्रामका अध्यक्ष शाक्यले नेपालका साथै विश्वका विभिन्न स्थानमा आफ्ना कलाकृति प्रदर्शनी गरिसक्नुभएको छ ।

“संस्थागत रुपमा कला नबुझेका तर बुझ्न चाहनेलाई बुझाउने, कालीगढलाई कलाकार बन्न प्रेरित गर्ने र कलाकारलाई न्यायोचित स्थान दिनका लागि सुमेरुले काम गरिरहेको छ” उहाँले भन्नुभयो ।

लिच्छविकाल, मल्लकालमै प्रगतिको चरममा पुगिसकेको नेपाली मूर्तिकलालाई फेरि जागृत गर्दै नेपाली कला विश्व सामु चिनाउने लक्ष्यका साथ नेपाली कलाकारले काम गरेको शाक्यले बताउनुभयो ।

नेपाली परम्परागत कला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको र त्यसले नेपाली मौलिक कलालाई बचाउन सकिएको बताउँदै शाक्यले भन्नुभयो “बाबु बाजेबाट सिक्दै यहाँसम्म नेपाली कला आएको यसलाई अझ प्रभावकारी रुपमा विकास गर्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने अवस्था आएको छ ।”

कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गर्नुभएको थियो भने पत्रकार, कलाकार र कला अनुरागीले शाक्यसँग नेपाली परम्परागत कलाका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया