Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने बाटो (रुट) को सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ।

नेपालको एक सय वर्षको हवाई इतिहासमा त्यति नै सङ्ख्यामा हवाई दुर्घटना भएपछि अधिकांश घटना अध्ययन प्रतिवेदनले मौसमको प्रतिकूलतालाई नै दुर्घटनाका कारणका रूपमा देखाएको छ । सरकारले देशका संवेदनशील स्थानको पहिचान गरी ती स्थानमा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ । अब स्थापना हुने केन्द्रमा सात दिनपछिसम्मका मौसमको पूर्वानुमानित सूचना प्रवाह गर्ने प्रविधि जडान गरिने भएको छ । ती मौसम सूचना केन्द्रबाट हवाई उडान रुटको बादलको उचाइ, हवाई उडान हुने रुटमा वर्षा हुन सक्ने अवस्था, तापक्रम, वर्षा, हावाको चाप, सूर्योदय, कृषिका लागि उपयुक्त सूचना, आँधीबेहरी, हिमपात, बाढीलगायतका मौसम पूर्वानुमानसम्बन्धी सही सूचना प्रवाह हुनेछ । 

हाल देशभरमा जम्मा डेढ दर्जन स्वचालित मौसम मापन केन्द्र रहेका छन् भने ती केन्द्रबाट तीन दिनपछिसम्मको सूचनाको पूर्वानुमान गर्न सकिन्छ । हाल स्थापना भएका केन्द्रको बीचका दूरी निकै टाढा भएकाले मौसमको पूर्वानुमान गर्न गाह्रो भइरहेको र अब स्थापना हुने नयाँ केन्द्रले देशभरमा बाक्लो उपस्थिति हुने हुँदा सूचनाको विश्वसनीयतमा वृद्धि हुनेछ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माका अनुसार चार हजार मिटरको उचाइसम्मका स्थानमा ती केन्द्र स्थापना गरिने भएका छन् । ती केन्द्र निर्माणका लागि मङ्गलबार विभाग र स्लोभाकियाको परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ । विश्व बैकंको ऋण सहयोगमा निर्माण गर्न थालिएका केन्द्र निर्माणका लागि सरकारले ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो ।

हरेक दिनका मौसमसम्बन्धी विभिन्न सही सूचना प्रवाह गर्नका लागि आगामी डेढ वर्षभित्र ती केन्द्र निर्माण गरिसक्ने लक्ष्य सरकारले लिएको छ । मङ्गलबार भएको सम्झौता अनुसार आगामी ६ महिनाभित्र परामर्शदाता कम्पनीले सबै किसिमका यन्त्र, उपकरण सम्बन्धित स्थानमा ढुवानी गरिसक्ने र आगामी डेढ बर्षभित्र जडानका काम सम्पन्न गरी सूचना प्रवाह गरिने उल्लेख गरिएको छ । ती केन्द्र करिब ४२ करोड रुपियाँको लागतमा निर्माण हुन थालेका विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा. शर्माले भने, ‘अहिलेका स्टेसनबाट उडान हुने र अवतरण हुने दुवै स्थानको मौसमको अवस्था मात्र देखाउने गरेको तर बीच बाटाको बादलको उचाइ, बदली, झरी भइरहेको वा हावाको गतिलगायतका अन्य सूचना प्रवाह गर्न सक्ने स्थिति छैन ।’ उनले यस्ता समस्याले गर्दा ती दुई स्थानको मौसमलाई मात्र हेरेर उडान भर्ने गरिएको छ तर आउँदा दिनमा बीच बाटोको समेत सूचना समेत दिन सकिने हुँदा हवाई उडानमा सहज हुने बताए ।

तपाईको प्रतिक्रिया